NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १३ गते

नेपालसहितका देशमा तत्काल कोरोनाको खोप नआउने!

न्युयोर्क टाइम्समा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टअनुसार विश्वभर कोरोना भाइरसविरुद्ध ५८ वटा खोप मानव शरीरमा परीक्षणमा छन् । मानव शरीरमा परीक्षण सकिएका सातवटा खोपले केही देश र क्षेत्रमा आपत्कालीन प्रयोगको अनुमति पाएका छन् । तीमध्ये १३ वटा खोप तेस्रो चरण परीक्षणमा छन् । १७ वटा दोस्रो र ४१ वटा खोप पहिलो चरण परीक्षणमा छन् । अन्य कम्तीमा ८६ वटा खोप त्यसभन्दा अघिल्लो चरण अर्थात् वन्यजीवमा परीक्षण भइरहेका छन् । कोरोना भाइरस रोकथामका लागि खोप नै एक मात्र विकल्प देखिँदै गर्दा हालसम्म विश्वभर एकसाथ ठूलो संख्यामा प्रयोग गर्न मिल्ने गरी कुनै खोपले मान्यता पाएका छैनन् । अमेरिकाको फाइजर र जर्मनीको बायोन्टेक कम्पनी मिलेर बनाएको खोपलाई बेलायतले आपतकालीन प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले बनाएको ‘एडी–फाइभ’ नामक खोपलाई चिनियाँ जनमुक्ति सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिएको छ । रुसी खोप स्पुतनिक फाइभ पनि आपतकालीन प्रयोग हुन थालेको छ । रुसमै इपिभाक नामक खोपले प्रयोग अनुमति पाएको छ । यस्तै, वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रडक्टस्ले तयार पारेको खोपलाई संयुक्त अरब इमिरेट्स ९युएई०ले प्रयोग अनुमति दिएको छ । चीनकै सिनोफर्माले तयार पारेको खोपलाई पनि युएईले प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनीले सिनोभाक बायोटेकले बनाएको खोपले चीनभित्र प्रयोगका लागि अनुमति पाएको छ । तथापि, हालसम्म कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि सुलभ भएको छैन । र, त्यसका लागि अझै केही समय पर्खिनुपर्नेछ । आपत्कालीन प्रयोग अनुमति पाएका खोपहरूले भने महामारीविरुद्धको लडाइँमा संसारभर आशाको सञ्चार गराएका छन् । खोप नै सबैभन्दा प्रभावकारी खोपलाई चिकित्सा विज्ञानमा सबैभन्दा भरपर्दो मानिन्छ । त्यसैले हो, आधुनिक चिकित्सा विज्ञानमा खोपलाई अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको पनि । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का विज्ञहरूको भनाइमा विभिन्न रोगविरुद्ध निर्मित खोपले हरेक वर्ष २० देखि ३० लाख मानिसको मृत्यु रोक्छन् । हालसम्म २० भन्दा बढी प्राणघातक रोग फैलिन नदिन खोप नै अचुक औषधि बनेको छ । तर, ती खोप सजिलै तयार भएका होइनन् । वैज्ञानिकहरूको वर्षौँको मिहिनेतपछि मात्र ती खोप उपलब्ध भएका हुन् । सामान्य अवस्थामा खोप निर्माण, उत्पादन र ढुवानीका लागि पाँचदेखि १० वर्ष लाग्छ । कोरोना भाइरसविरुद्धको खोपको कुरा बेग्लै छ । यसपटक ती सबै प्रक्रिया र सीमितता घटाउँदै वैज्ञानिकहरू केही महिना अन्तरालमै सर्वसाधारणमाझ खोप पु¥याउन लागिपरेका छन् । तथापि, कोरोना भाइरसविरुद्धको खोपले मानव शरीरलाई बचाउन सक्ने क्षमता र प्रयोगका लागि कति सुरक्षित भन्ने विषय अनुसन्धानकै चरणमा छ । जस्तो– आपत्कालीन प्रयोगका लागि अनुमति पाएका खोपको प्रभावकारिता पनि ९० देखि ९५ प्रतिशतसम्म देखिएको छ । यसको अर्थ खोप लगाएका १० मध्ये नौजनामा कोभिड–१९ को जोखिम हुनेछैन । संसारभरका मानिसलाई उत्साहित बनाएको समाचार पनि यही हो । तर, ती सबै खोप ठूलो संख्यामा परीक्षण भएका छैनन् । विभिन्न उमेर समूह, हावापानी र शारीरिक बनावटका मानिसलाई दिनुपर्ने भएकाले पनि ती खोपको प्रभावकारिता अहिले नै सिद्ध हुन मुस्किल छ । रोग लागेका मानिसलाई मात्र होइन, स्वस्थ व्यक्तिलाई पनि यी खोप दिइनेछ । मुख्य पक्ष त कोरोना भाइरस प्रसार नै हुन नदिने अवस्था सिर्जना गराउनुछ । खोप सर्वसुलभ हुनुअघि वर्षौँ अनुसन्धान र परीक्षण गरिनुको कारण पनि त्यही हो । हाल निर्माण भइरहेका सबै खोप सफल हुन्छन् भन्ने छैन । कतिपय अन्तिम चरणको परीक्षणमा पुगेर असफल हुन सक्छन् । कुनै खोप परीक्षणमा सहभागीहरूमा समस्या देखिएपछि रोकिन्छन् र फेरि अनुसन्धान अगाडि बढाइन्छ । कहिलेसम्म आइपुग्ला खोप ? खोप निर्माणमा लागिपरेका देश र कम्पनीहरूले सन् २०२० अन्त्यसम्ममा खोप उपलब्ध हुने दाबी गर्दै आएका छन् । संसारभर खोप पु¥याउने दायित्व रहेको डब्लुएचओले भने सन् २०२१ को मध्यभन्दा अगाडि खोप सर्वसुलभ हुने सम्भावना कमजोर देखिएको बताउँदै आएको छ । सन् २०२१ को मध्य अर्थात् जुन, जुलाईदेखि भने संसारभर खोप सर्वसुलभ हुने डब्लुएचओको भनाइ छ । युरोपमा धेरै चर्चा कमाएको फाइजर र बायोन्टेकले निर्माण गरेको खोपले ९० प्रतिशत मानिसलाई कोभिड–१९ हुनबाट बचाउने दाबी ती कम्पनीको छ । र, सन् २०२० को अन्त्यसम्ममा पाँच करोड डोज खोप उपलब्ध गराउने बताएका छन् । जब कि, उक्त खोप प्रयोग गर्न अनुमति दिएको बेलायतकै जनसंख्या करिब ६ करोड ७८ लाख छ । सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज खोप उत्पादन गर्ने दुवै कम्पनीको लक्ष्य छ । त्यो पनि युरोपको करिब ७४ करोड ७८ लाख जनसंख्यामा दिइसकेर मात्र अन्य विश्वले प्राप्त गर्न सक्ने आकलन गर्न सकिन्छ । यस्तै, बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप उत्पादन र वितरण जिम्मा पाएको ब्रिटिस–स्विडिस बहुराष्ट्रिय कम्पनी अस्ट्राजेनेका पनि ठूलो परिमाणमा खोप उत्पादनको तयारीमा छ । अक्सफोर्डको खोप सफल देखिएमा बेलायतका लागि १० करोड डोज र विश्वभरलाई दुई अर्ब डोज उत्पादन गर्ने बताउँदै आएको छ । अरू दर्जनौँ कम्पनीले पनि खोप उत्पादन र वितरण सम्झौता गरेका छन् । तर, त्यसका लागि त पहिले उनीहरूले सम्झौता गरेको खोप सफल देखिनु अनिवार्य छ । रुस कोरोना भाइरसविरुद्ध खोप निर्माण गर्ने र आपत्कालीन प्रयोगको अनुमति दिने पहिलो मुलुक हो । रुसले गत अगस्टमै स्पुतनिक–फाइभलाई मान्यता दिएको थियो । स्पुतनिक–फाइभ ९५ प्रतिशतसम्म प्रभावकारी रहेको निर्माणमा संलग्न विज्ञहरूले दाबी गरेका छन् । उक्त खोपको गम्भीर साइड इफेक्ट नदेखिएको उनीहरूको दाबी छ । तर, स्पुतनिक–फाइभ पनि ठूलो जनसंख्यामा परीक्षण भएको छैन । स्पुतनिक–फाइभ दुई चरणमा लगाउनुपर्नेछ । पहिलो चरणको ‘डोज’ लगाउन हजारौँले नाम टिपाएका छन् । त्यसरी नाम टिपाएकाहरूलाई पनि तत्काल खोप उपलब्ध हुने सम्भावना छैन । किनकि, रुसले ठूलो परिमाणमा खोप उत्पादन गर्न सकिरहेको छैन । सन् २०२० अन्त्यसम्म २० लाख डोज मात्रै उत्पादन गर्न सकिने खोप निर्माता कम्पनीले जनाएको छ । रुसकै जनसंख्या करिब १४ करोड ४५ लाख छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले यसै सातादेखि सर्वसाधारणलाई खोप दिन थालिने बताएका छन् । पहिलो चरणमा विद्यालय, स्वास्थ्य केन्द्र र सामाजिक काममा खटिएका मानिसलाई खोप दिइने उनको भनाइ छ । मस्कोको मात्र जनसंख्या करिब एक करोड २५ लाख छ । पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाउनुपर्ने रुसी वैज्ञानिकहरूको भनाइ छ । कोभिड–१९ बाट आक्रान्त मानव जीवन यतिखेर खोपको व्यग्र प्रतीक्षामा छ । संसारभर निर्माणाधीन खोपमै सबैको विस्फारित नजर छ । र, खोप आएपछि मानव जीवन जनवरी २०२० भन्दा अगाडिकै जस्तो सामान्य बन्ने आशामा सबैमा देखिन्छ । तर, धेरै वैज्ञानिकले विश्वभरको जनजीवन पहिलेझैँ सामान्य बन्न समय लाग्ने बताएका छन् । खोप आएपछि पनि ‘मास्क’ नलगाई हिँडडुल गर्न लामै समय पर्खिनुपर्ने उनीहरूको भनाइ छ । त्यसको पछाडि केही महत्वपूर्ण कारण छन् । व्यग्रतापूर्ण प्रतीक्षा पहिलो चरणमा खोप प्रयोग गर्नेहरू स्वास्थ्यकर्मीलगायत कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएकाहरू हुनेछन् । उनीहरूको जीवन बचाउनु पनि महत्वपूर्ण उपलब्धि हुनेछ । तर, जबसम्म खोप सर्वसाधारणको पहुँचमा पुग्दैन, कोरोना प्रसार रोकिनेछैन । मानिस संक्रमित भइरहनेछन् र ज्यान गुमाउने क्रम जारी रहनेछ । खोपको सीमित उत्पादन र ढुवानीको जटिलताले जनजीवन सामान्य अवस्थामा फर्किन समय लाग्ने वैज्ञानिकहरूको भनाइ छ । त्यसमाथि खोप कहिल्यै शतप्रतिशत प्रभावकारी हुँदैन । दादुराविरुद्धको खोप अहिलेसम्म पत्ता लागेकोमध्ये सबैभन्दा प्रभावकारी मानिन्छ, जसले ९५ देखि ९८ प्रतिशतसम्म मान्छेलाई बचाउन सक्छ । कोभिड–१९ विरुद्ध फाइजर÷बायोन्टेक र मोडर्नाले बनाएका खोपको प्रभावकारिता ९० प्रतिशतसम्म मात्र देखिएको छ । हालसम्मको नतिजाअनुसार आपत्कालीन प्रयोगमा रहेका खोपहरूले पनि १० मध्ये नौजनालाई बचाउनेछन्, एकजनालाई बचाउन सक्ने छैनन् । त्यसैले ठूलो संख्यामा प्रयोग नगरिँदासम्म र त्यसको नतिजा प्राप्त नहुँदासम्म खोपको प्रभावकारिताबारे पूर्ण मूल्यांकन गर्न मुस्किल छ । यसको अर्को फरक पाटो पनि छ । आपत्कालीन प्रयोग अनुमतिप्राप्त गरेका र बढी चर्चामा रहेका खोप परीक्षणमा सहभागी सबैको शरीरमा प्रभावकारी देखिएका छन् । तर, ज्येष्ठ नागरिकको शरीरमा कम प्रभावकारी देखिएका छन् । यस्तै, क्यान्सरको उपचार गराइरहेका मानिसमा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन सम्भव नहुन सक्छ । त्यसबाहेक धेरै मानिसलाई बचाउन यी खोप अचुक उपाय बन्न सक्छन् । ६५ देखि ७० प्रतिशतमा संक्रमण अर्थात् ‘हर्ड इम्युनिटी’ वैज्ञानिकहरूको भनाइमा विश्वभरको जनसंख्यालाई पुग्ने गरी खोप उत्पादन नहुन्जेल हाल जारी भौतिक दूरीको नियम अन्त्य हुनेछैन । ‘जोखिममा रहेका व्यक्तिहरूलाई मात्रै बचाउन सकियो भने पनि ठूलो सफलता हुनेछ । त्यसबाट अस्पतालमाथि अहिले देखिएको भार पनि कम गर्नेछ । तर, यसले भाइरस संक्रमण रोक्नेछैन,’ बेलायती वैज्ञानिक तथा त्यहाँको स्वास्थ्य विभागका पूर्वइम्युनाइजेसन निर्देशक प्राध्यापक डेभिड सालिस्बरी भन्छन्, ‘खोप नलगाएका व्यक्तिबीचमा संक्रमण फैलिरहेकै हुनेछ । यो पनि गम्भीर अवस्था हुनेछ ।’ यही अवस्थालाई रोक्न सबै क्षेत्र र उमेर समूहका मानिसले खोप लगाएकै हुनुपर्ने उनको बुझाइ छ । ‘अहिलेको विश्व आपसमा कनेक्टेड छ । व्यापार, व्यवसायलगायत धेरै कारणले धेरै यात्रा भइरहेको छ । यसले नै भाइरस संक्रमण थप तीव्र रूपमा फैलाउनेछ,’ उनी भन्छन्, ‘यो विश्वव्यापी महामारी हो । त्यसैले यसलाई रोक्न विश्वभरि नै खोप प्रयोग गरिएको हुनुपर्छ ।’ ६५ देखि ७० प्रतिशतसम्म मानिसको शरीरमा भाइरसविरुद्ध लड्ने शक्तिको विकास भएको हुनुपर्ने वा त्यस स्तरसम्मको ‘हर्ड इम्युनिटी’ देखिन थालेपछि मात्रै विश्वलाई कोरोना भाइरसबाट सुरक्षित रहेको घोषणा गर्न सकिने डब्लुएचओको भनाइ छ । सर्वसाधारणमा खोप पुर्याउन चुनौती विश्वका सबै मानिसमा खोप पु¥याउन निकै चुनौतीपूर्ण रहेको वैज्ञानिकहरू बताउँछन् । रुसले आइतबारदेखि मस्कोमा खोप लगाउन थालेको छ । र, त्यसपछि नागरिकलाई खोप लगाउन बेलायत अगाडि सर्नेछ । यी दुई मुलुकमा मात्र खोप लगाएर कोरोना भाइरस नियन्त्रणमा आउने होइन । तर, सर्वसाधारणमाझ खोप पु¥याउन कति जटिलता सामना गर्नुपर्नेछ भन्ने दुवै मुलुकका अभियानले देखाउनेछन् । खासगरी, खोपको ढुवानी निकै चुनौतीपूर्ण देखिएको छ । उत्पादन स्थलबाट स्वास्थ्य केन्द्रमा पु¥याउनु नै मुख्य चुनौती हो । विश्वका दूरदराजका गाउँमा खोप पु¥याउन अझ मुस्किल छ । केही खोप यस्ता पनि छन्, जसको ढुवानी गर्दा निकै चिसो वातावरण आवश्यक हुन्छ । फाइजरले बनाएको खोप ढुवानीका लागि माइनस ७० डिग्रीभन्दा कम तापक्रप आवश्यक पर्नेछ । त्यो तापक्रम मिलाएर विकट गाउँसम्म खोप पुर्‍याउन पक्कै सहज छैन । ती सबै कठिनाइका बाबजुद खुसीका खबर पनि छन् । जस्तो– फाइजररबायोन्टेकले तयार पारेको खोपले ६५ वर्षभन्दा माथिको उमेर समूहमध्ये ९४ प्रतिशतलाई बचाउने दाबी गरेको छ । यदि व्यवहारमा त्यो तथ्य पुष्टि भयो भने कोभिड–१९ महामारीविरुद्धको लडाइँमा ठूलै सफलता प्राप्त हुनेछ । सन् २०२१ को अन्त्यसम्ममा दुई अर्ब डोज खोप वितरण गर्ने योजनाका साथ सक्रिय कोभ्याक्स समूहलाई पनि आशाको एक त्यान्द्रो मान्न सकिन्छ । यसमा एक सय ७२ वटा मुलुक संलग्न छन्, जसले कोरोनाविरुद्ध खोपलाई विश्वव्यापी पहुँचमा पु¥याउन भूमिका बहन गर्ने अपेक्षा गरिएको छ । यो कोभिड–१९ विरुद्ध संसारको सबैभन्दा ठूलो मोर्चाबन्दी पनि हो, जसमा नौवटा निर्माणाधीन खोपसमेत जोडिएका छन् । नेपालमा माइनस ७० डिग्री भण्डारण क्षमता नै छैन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्ध बनिरहेका खोप प्लस दुईदेखि माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्ने खालका छन् । मन्त्रालयको खोप शाखाका अनुसार नेपालमा प्लस दुईदेखि आठ डिग्री सेल्सियसभन्दा माथिको भण्डारण क्षमता छैन । ‘अहिले नेपालमा प्रयोग भइरहेका खोप दुईदेखि आठ डिग्रीसम्ममा भण्डारण गर्न मिल्ने छन् । केही संख्यामा माइनस २० डिग्री सेल्सियसमा राख्न सक्ने क्षमता छ,’ खोप सुपरभाइजर भरत भण्डारी भन्छन्, ‘तर, माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमता छैन । ती खोप नेपालमा ल्याए एक वर्ष लगाउन सकिँदैन ।’ त्यसका लागि नेपालमा पर्याप्त तयारी र उपकरणको जोहो गर्दैमा समय बित्ने उनको भनाइ छ । मन्त्रालयले कोभ्याक्स सुविधाअन्तर्गत खोप ल्याउने तयारीस्वरूप छलफल अगाडि बढाएको छ । ‘गाभी’, विश्व स्वास्थ्य संगठन र सेपी नामक अन्तर्राष्ट्रिय संस्थाले एक सय ८६ वटा मुलुकलाई खोप दिन सूचीकृत गरेको छ । धनी र गरिब मुलुकबीच खोप पाउने र नपाउने अवस्था नआओस् भनेर कोभ्याक्स सुविधाको व्यवस्था मिलाइएको हो । खोप बनेर सूचीकृत भएपछि ती संस्थाले दुई अर्ब डोज खोप खरिद गर्नेछन् । कोभ्याक्समा नेपाल पनि सहभागी छ । त्यस नाताले सदस्य मुलुकका २० प्रतिशत नागरिकलाई पुग्ने खोप सुविधा नेपालले पनि पाउनेछ । उत्पादक मुलुक, डब्लुएचओ हुँदै नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएपछि खोप ल्याउन मिल्छ । कोभिड–१९ खोप ल्याउन ४८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ । नयाँ पत्रिकामा खबर छ ।