NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

८८७२ मिटरसम्म नापिएको थियो सगरमाथाको उचाइ

काठमाडौं । सगरमाथाको उचाई बढ्नुले विश्वमा सकारात्मक सन्देश प्रवाह भएको सीमाविद् बुद्धि नारायण श्रेष्ठ बताउँछन् । यसले विश्वका अध्येताहरूको अध्ययन गर्ने क्रमलाई बढोत्तरी दिने बताउँछन् उनी । श्रेष्ठ सन् १९९९ को अमेरिकन टोलीले गरेको उचाइ मापनमा सहभागी थिए । विशेषगरी २०७२ बैशाखमा गएका शक्तिशाली भुकम्पका कारण धेरैले सगरमाथाको उचाइ घटेको आशंका गरेका थिए । ‘यसको कारण घट्यो कि भन्नेहरूको भ्रमलाई आजको तथ्यांकले चिर्ने काम गरेको छ,’ उनले भने । मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेको घोषणा गरेका हुन् । योसँगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर पुगेको छ । किन बढ्छ उचाइ ? पाँच करोड वर्षभन्दा अघि इन्डियन सब कन्टिनेन्ट युरेशियाली प्लेटमा आएर धस्सियो । त्यही धस्सिएर हिमालय बन्यो । त्यो धस्सिने रफ्तार अझै जारी भएकै कारण वर्षको दुई सेन्टिमिटरको दरले बढ्ने क्रम भइरहेको विज्ञहरूले बताउँदै आएका छन् । २०७२ मा गएको भूकम्पका कारण उचाइ घट्यो कि भन्ने आशंका बढेको थियो । सगरमाथा उचाइ मापनको दुई सय वर्षको इतिहासमा नेपाल आफैंले पहिलो पटक उचाइ नापेको हो । गत वर्ष अक्टोबर २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा र प्रर्वद्धन गर्ने सहमति भएको थियो । नेपालले सीको भ्रमणअघि नै उचाइ नापिसकेकोे थियो भने चीनले उक्त सहमति पछि नाप्न थालेको थियो । यसअघिको उचाइ ८८४८ मिटर सर्भे अफ इन्डियाले गरेको थियो । योसम्म गरेर सगरमाथाको मापन ११ औं पटक भएको छ । हालसम्म भारतले चारपटक, चीनले दुई पटक, इटालीले दुई पटक, अमेरिकाले एक पटक र डेनमार्कले एकपटक सगरमाथाको उचाइ मापन गरिसकेका छन् । पहिलोपटक सन् १८५२ मा बेलायतको प्रयासमा भएको उचाइ मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४० मिटर भएको जनाइएको थियो । यो अहिलेसम्म नापिएको उचाइमध्येको कम उचाइ हो । सन् १९८७ मा इटालीको मिलान विश्वविद्यालयले सगरमाथाको उचाइ ८ हजार ८ सय ७२ मिटर नापेको थियो । जुन अहिलेसम्मकै बढी उचाइ हो । नेपालको इतिहासमा पहिलोपटक नेपाल आफैंले गरेको मापन कार्य सगरमाथादेखि दक्षिणतिरका मध्यपहाडी तथा तराई क्षेत्रबाट सुरु भएको थियो । विश्वको सर्वोच्च शिखरको पहिचान हुनेवित्तिकै अंग्रेजहरूले माउन्ट एभरेष्ट भनेर नामाकरण गरे । इतिहास शिरोमणी बाबुराम आचार्यले त्यसलाई सगरमाथाको नाम दिएका हुन् । उचाइमा भएका विवाद हिमालय क्षेत्र मुनितिर हुने भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचल जारी हुँदा हिमालको उचाइ बढ्ने गरेको बताउँछन् विज्ञ । त्यस्तै सेरोफेरोमा रहेर सन् १९९९ मा अमेरिकाको नेसनल जियोग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथाको उचाइ ८८५० रहेको जनाएको थियो । तर उक्त उचाइलाई नेपालले स्वीकार गरेन । त्यसको ६ वर्ष पछि सन् २००५ मा चिनियाँ नापी सर्भेले सगरमाथाको उचाइ ८८४४ रहेको र त्यसमा हिउँको उचाइ चार मिटर रहेको निष्कर्ष निकाल्यो । त्यसपछि विवाद झनै चर्कियो । त्यसको ५ वर्षपछिमात्रै सगरमाथाको उचाई पुनः ८८४८ मिटर नै हो भन्नेमा सहमति जुटेको थियो । कसरी भयो मापन ? नेपालले यसपटक सगरमाथाको उचाइ नाप्न परम्परागत र आधुनिक दुवै विधि अपनाएको छ । आधुनिकतर्फ जिपिएस यन्त्र तथा ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) प्रविधि अपनाइएको छ । यसमार्फत बंगालको खाडीलाई सगरमाथाको आधारविन्दु मानेर प्राविधिक टोलीले सिराहाको माडरबाट सगरमाथाको उचाइ नाप्न सुरु गरेको हो । सगरमाथाको टुप्पोसम्म पुग्ने दुईजनाले उचाइ नाप्ने विशेष मेसिन जिएनएसएस साथमा लगेका थिए । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) मेसिनले उचाइको तथ्यांक संकलन गरेको थियो । सगरमाथा क्षेत्रको कम्तीमा चार स्थानमा लेबलिङ सर्भेका लागि छनोट गरी मेसिन राखिएको थियो । लेबलिङ सर्भेले समुद्र सतहबाट कति उचाइ छ भन्ने तथ्यांक उपलब्ध गराएको हो । सगरमाथाको चुचुरोसँगै ९ वटा बेसतिर पनि जिपिएस यन्त्र राखिएको थियो । त्यसपछि नेटवर्क कलेक्सन गरेर तथ्यांक आइसकेपछि प्रक्रिया सुरु भई उचाइ आएको हो । यो पनि पढ्नुस् ८६ सेन्टिमिटरले बढेपछि सगरमाथाको नयाँ उचाइ अब ८८४८.८६ मिटर