NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

उद्यम–व्यवसायमा ९३ अर्ब सहुलियत ऋण : युवाकाे प्रमाणपत्र धितोलाई बैंकले पत्याएनन्

काठमाडौं । पुँजी अभावका कारण उद्यम-व्यवसाय गर्न नपाएका युवा र कमजोर आर्थिक तथा सामाजिक धरातल भएका बर्गलाई सरकारले ९३ अर्ब सहुलियत ऋण प्रदान गरेको छ । सरकारले विभिन्न बैंकहरूमार्फत् विगत चार वर्षको अवधिमा सहुलियत ब्याजको यस्तो ऋण प्रदान गरेको हो । कृषि तथा पशुपन्छी क्षेत्रको विकास, युवाको सिप परिचालन, विदेशबाट फर्किएका युवाको उद्यमशीलता, महिला उद्यमशीलता वृद्धि लगायतमा सरकारले उक्त ऋण उपलब्ध गराएको हो । कृषि तथा पशुपन्छी क्षेत्रलाई समेटेर ०७१ मा सहुलितयतपूर्ण ऋणको लागि सरकारले ‘युवाहरूलाई व्यवसायीक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७१’ ल्याएको थियो । यस कार्यक्रममार्फत बढ्दो बेरोजगारी तथा ग्रामीण युवा पलायत रोक्ने लक्ष्य सरकारले लिएको थियो । त्यसका लागि व्यवसायीक तरकारी, पशुपन्छीपालन, जडिबुटी, तरकारी र फलफुल खेती, दुग्ध व्यवसाय, मत्स्यपालन, च्याउ खेती, जडिबुटी, कृषि भण्डारण, शीत भण्डारण, पशु वधशाला एवं मासुजन्य व्यवसायका लागि बाणिज्य बैंकबाट ६ प्रतिशतको शहुलियत ब्याजमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको थियो । त्यसयता ०७५ मा नयाँ कार्यविधि जारी गरेर सरकारले सहुलियत ऋणको दायरा बढाएको छ । सबा वर्षमा ६१ अर्ब ऋण प्रवाह ०७२/०७३ देखि लागू भएको कार्यविधिअनुसार कृषि तथा पशुपन्छीतर्फ मात्रै ऋण दिने व्यवस्था थियो, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणकर भट्टले भने, ‘अरू क्षेत्रका लागि भने ०७५ मा यो कार्यविधि विस्तृत रुपमा आएको हो ।’ कृषि क्षेत्रतर्फमात्रै ऋण प्रवाह गर्दै आएको सरकारले ०७५ मा सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, ०७५ जारी गर्‍यो । यो कार्यविधिमार्फत् सरकारले शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यवयायीक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण, कपडा उद्योग सञ्चालनलगायतका क्षेत्रमा कर्जा उपलब्ध गराउने नीति लियो । यो कार्यविधि अन्तर्गत ऋण लिनेको संख्यामा एक÷डेढ वर्षयता उल्लेख्य सुधार आएको भट्ट बताउँछन् । ‘गत वर्षको असारसम्म ३२ अर्बको हाराहारीमा ऋण प्रवाह भएको थियो, एक वर्षपछि ०७६ असार मसान्तसम्म प्रवाह भएको ऋण ७२ अर्ब रुपैयाँ पुगेको छ,’ उनले भने । राष्ट्र बैंकको तथ्यांक अनुसार नयाँ कार्यविधि बनेपछि सवा वर्षमा सरकारले कृषि लगायत अन्य क्षेत्रमा ६१ अर्ब रुपैयाँ कर्जा वितरण गरेको छ । कृषिमा अत्यधिक आकर्षण, अन्यमा न्यून सरकारले प्रवाह गर्ने ऋणको ठूलो हिस्सा कृषि क्षेत्र भएको राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन् । हालसम्म व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिनेको संख्या २८ हजार सात सय ६८ छ । ६५ अर्ब ३० करोड रुपैयाँ कर्जा कृषि क्षेत्रमामात्र प्रवाह भएको छ । उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि कर्जा लिनेको संख्या पनि निकै कम छ । हालसम्म जम्मा ८४ जनाले उक्त प्रयोजनका लागि कर्जा प्राप्त गरेका छन् । हालसम्म विदेशबाट फर्केका चार सय ९ जनाले मात्रै उक्त कर्जा पाएका छन् । त्यस्तै महिला उद्यमशीलतर्फ कर्जा लिनेको संख्या १६ हजार ५२ रहेको छ । त्यस्तैगरी दलित समुदायतर्फ व्यवसायका लागि कर्जा लिनेको संख्या पाँच सय २१ छ । त्यस्तैगरी दुई सय ३५ भूकम्पपीडितले निजी आवास निर्माणका लागि ६ करोड ९९ लाख कर्जा प्राप्त गरेका छन् । कपडा उद्योग सञ्चालनका लागि एक सय ९६ ले दुुई अर्ब ७६ बराबरको कर्र्जा पाएका छन् । युवा लक्षित कर्जा पाउनै मुस्किल तर, युवा लक्षित कार्यक्रममा भने तुलनात्मक रुपमा कम कर्जा लगानी भएको देखिन्छ । हालसम्म शिक्षित युवा स्वरोजगार कर्जामा ऋणी संख्या ७७ मात्रै छ । त्यसको लागि सरकारले ४ करोड ५७ लाखको कर्जा स्वीकृत गरेको छ । ऋण लिनका लागि युवाहरू आकर्षित नभएका भने होइनन् । राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेल व्यवहारिक रूपमा युवा लक्षित कर्जा प्रवाहमा समस्या भएको बताउँछन् । ‘अन्तिममा जसरी पनि बैंकहरूले आफ्नो रिफन्ड त खोज्छन् नै, यस मामिलामा युवालाई बैंकहरूले अलि नपत्याएजस्तो देखियो ।’ उनी भन्छन् । आफ्नो योजना खुलाउन र बैंकलाई आश्वस्त पार्न नसक्नु युवाहरूको समस्या देखिएको उनको भनाइ छ । बैंकहरू पनि युवाहरूकाे व्यवसायीक याेजना, कर्जा दिँदा भविश्यमा जाेखिम निम्तिनसक्ने भनेर सशंकित छन् । शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा पाइने कार्यक्रमबारे युवाको बुझाइ कम भएको बताउँछन्, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह । ‘धितोको नाममा शैक्षिक प्रमाणपत्र लिने हो, यो भन्दैमा प्रमाणपत्र लिँदै धमाधम कर्जा दिने होइन,’ उनी भन्छन्, ‘शैक्षिक प्रमाणपत्र दिँदैमा कर्जा पाइने बुझाइ हावी भएर कर्जा लिन आउनेको संख्या बढिरहेको छ ।’ कामको अवधारणा र प्रोजेक्ट अध्ययन गरेरमात्रै बैंकले ऋण दिने शाह बताउँछन् । महिला उद्यमशीलता र कृषि क्षेत्रतर्फ भने कर्जा प्रवाह सकारात्मक रहेको उनी बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष