NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

आजका ‘गुड न्यूज’ : पूर्वाधार निर्माणमा तीनै तहका सरकारको सहकार्य

काठमाडौँ । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू प्रवाह भए । त्यसमध्ये अधिकांश खबरहरू नकारात्मक सन्देश बोकेका थिए । नकारात्मक खबरको बाढीकाबीच निकै थोरै सकारात्मक सन्देश प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । – पूर्वाधार निर्माणमा तीनै तहका सरकारको सहकार्य पूर्वाधार निर्माणमा तीनै तहका सरकारको सहभागीता र सहकार्य सुनिश्चित गर्न हुनेगरी सरकारले सहलगानीसम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायीक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो कार्यविधि जारी गर्नु परेको बताए । कार्यविधि अनुसार आयोजना छनोट गर्दा स्थानीय तहको आयोजनाको हकमा गाउँपालिका वा नगरपालिकामा कम्तीमा २० करोड रुपैयाँ, उपमहानगरपालिका वा महानगरपालिकामा कम्तीमा ५० करोड रुपैयाँ र प्रदेश स्तरको आयोजनाको हकमा कम्तीमा एक अर्ब रूपैयाँ न्यूनतम लागत भएको आयोजना हुनु पर्नेछ । कार्यविधि अनुसार सहलगानीका क्षेत्रहरूमा सुरूङ्ग मार्ग,, सडक, पुल, फ्लाइओभर र विमानस्थल निर्माण, मेट्रोरेल, मोनोरेल, केवल कार, रोपवे र आन्तरिक जल यातायात निर्माण तथा सञ्चालन,जलविद्युत, सौर्य उर्जा, वायु उर्जा तथा अन्य वैकल्पिक उर्जा उत्पादन तथा वितरण, भूमि बैंक स्थापना र सञ्चालन लगायत छन् । – छात्रवृत्तिमा पढेका डाक्टरलाई चार दिनभित्र अस्पताल भर्ना हुन निर्देशन सरकारले छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरहरूलाई चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो । मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाबमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो । मन्त्रालयले चार दिनभित्र खटाइएको अस्पताल नजाने डाक्टरहरूलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्नेसमेत जनाएको छ । – प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै देशभर कार्यरत सञ्चारकर्मीहरूको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरूबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रेस पास लिन काठमाडौँ नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको जानकारी दिए । ‘परिचयपत्र नवीकरणकै लागि पत्रकारले ठूलो आर्थिक व्ययभार व्यहोर्नुपर्ने, प्रेस पास लिने झण्झटिलो व्यवस्था, काठमाडौँ आउनुपर्ने, लामो लाइन बस्नुपर्ने, तत्काल परिचय पत्र नपाउने, पत्रकार महासंघलाई गुहार्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रिस्तरीय निर्णयबाट ७७ जिल्लाका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रनिनिधि प्रमाणपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ,’ मन्त्री गुरुङले भने । – मिले विवेकशील नेपाली दल र साझा पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । ११ साउन ०७४ मा उज्ववल थापा नेतृत्वको विवेकशील नेपाली दल र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भई विवेशकील साझा पार्टी बनेको थियो । तर, २७ पुस ०७५ मा उनीहरू विभाजित भएका थिए । दुई दल मिलेर बनेको एकीकृत पार्टीको चुनाव चिह्न तराजु राखिएको छ ।