NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राजनीति सेवा होइन कमाउको पेशा बन्यो : सिंह

काठमाडाैं । कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त्य भएको बताएका छन् । राजनीति सेवा भावले गरिनुपर्नेमा कमाउ पेशा बनेकोप्रति उनले चिन्ता व्यक्त गरे । अहिले मूल्य मान्यता भन्दा पनि ‘पावर’ ‘मनी’ र ‘मसल’को प्रयोग हुनु निकै दुखद रहेको उनको भनाई छ । राजनीतिमा यसरी विकृति देखिंदा जनतामा निरासा छाउनु निकै गम्भीर विषय उनको भनाई थियो । अहिले सरकार संविधान र संघीयताको मर्म विपरीत हिँडेको समेत उनको भनाई छ । काठमाडौं ३१ का इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोकसभामा बोल्दै नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघीयताको अनुकूल नभएको बताए । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संघकै प्रशासनिक निकायको व्यवहार गरेको भन्दै सिंहले आलोचना गरे । सुशासन र समृद्धिको गफ दिएपनि सरकार त्यसको उल्टो बाटोमा हिँडेको उनको भनाई छ । सरकारसँग निराश बनेका जनता प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिकाबाट पनि आश्वस्त हुन नसकेको उनले बताए । १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको टिप्पणी गर्दै उनले १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताए । इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकोमा उनले जोड दिए । समयमै महाधिवेशन गर्दै कांग्रेसलाई भरपर्दो पार्टी बनाउनुपर्ने उनको भनाई छ । सिंहले लोकतान्त्रिक दल विधानबमोजिम नचलेको भन्दै विधानसम्मत चल्नुपर्ने पनि बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, काठमाडौ जिल्ला सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाश विक्रम राणा महासमिति सदस्य सुरज चन्द्र लामिछानेले स्व कोईरालाको योगदानको चर्चा गरेका थिए ।