NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

आजका ‘गुड न्युज’ : दुई महिनामा दुई सय २० आरोहीले हिमाल चढे

आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बाहुल्य थियो । दुर्घटना, अपराध, राजनीतिक खिचातानी लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान आगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका ‘गुड न्युज’ : – दुई महिनामा दुई सय २० आरोहीले हिमाल चढे सरकारले गत कात्तिक १ बाट पदयात्रा तथा पर्वतारोहण खुला गरेपछि दुई सय २० आरोहीले हिमाल चढेका छन् । कात्तिकयता एक सय १२ विदेशी र एक सय आठ नेपाली नागरिकले हिमाल आरोहण गरेका हुन् । पर्यटन विभागले सातवटा हिमालका लागि ५७ विदेशी र १५ नेपाली गरी ७२ जनालाई हिमाल आरोहणको अनुमति दिएको छ । त्यस्तै, नेपाल पर्वतारोहण संघले ५५ विदेशी र ९३ नेपाली गरी एक सय ४८ जनालाई हिमाल आरोहणको अनुमति प्रदान गरेको छ । महामारीका बीच पनि सुरक्षित ढंगमा आरोहण सफल हुनुले नेपाल पर्वतारोहणको लागि खुला भएको सन्देश गइरहेको विभागकी निर्देशक मिरा आचार्य बताउँछिन् । नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष माया शेर्पा आगामी सिजनका लागि तयारीमा जुटेको बताउँछिन् । – ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउँदै काठमाडौं महानगर काठमाडौँ महानगरपालिकाले ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । महानगरले झण्डै दुई वर्षदेखि ब्रुमरबाट सडक बढारिरहेको छ । त्यसबाट हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ । यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सरोकारवालाहरूसँग छलफल थालेको महानगरले बताएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले यस विषयमा छलफल र स्थान पहिचानको काम भइरहेको छ । महानगरले हरेक दिन सात वटा ब्रुमरले सडक सफा गरिरहेको छ । – कोरोनाबाट निको हुने दर बढ्दो नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पछिल्लो समय बढ्दै गएको छ । यो ‘ग्लोबल रेसियो’ को तुलनामा कोरोना संक्रमणमुक्त हुनेको प्रवृत्ति हेर्दा नेपालमा बढेको छ । बिहीबारको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमणबाट निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्यांकअनुसार नेपालमा दुई लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् । नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का सङ्क्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्यांक हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए ।