NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असोज २० गते

नारायणकाजी श्रेष्ठको सम्पत्ति र आम्दानी शून्य ! खर्चको स्रोत के हो ?

काठमाडौँ । आफ्नो स्वकीय सचिव जोडिएको कारोबार मिलाउन प्रयास गरेको भिडियो सार्वजनिकसँगै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा मुछिएका छन् । यसअघि गत ३ भदौंमा नेकपा नेता कमानसिंह लामाले आफ्नो फेसबुकवालबाट नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सुशन कर्माचार्यले आफ्नो घर बिगारेको आरोप लगाएका थिए । यी दुई घटनासँग जोडिएर नेता श्रेष्ठमाथि प्रश्न उठेको छ । उनको छवीमा दाग लागेको छ । यसको मुख्य कारण बनेकी छिन्, श्रेष्ठकी विस्वास पात्र तथा स्वकीय सचिव सुसन कर्माचार्य । र दाग मेटाउने जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठसँग छ । त्यसका लागि उनीसँग धेरै चुनौती खडा भएका छन् । सबैभन्दा ठूलो चुनौती नारायणकाजी श्रेष्ठले आफ्नो स्वकीय सचिवको आर्थिक कारोबारमा आफ्नो संलग्नता नरहेको पुष्टि गर्न सक्नुपर्ने हुन्छ । त्यस्तो पुष्टि गर्ने क्रममा धेरै प्रश्नहरु आइरहने हुन्छन् । र त्यसमाथि स्पष्ट पार्दै जानुपर्ने हुन्छ । यदि नागरिकस्तरमा बनेको आफूमाथि लागेको दाग मेट्नुपर्छ भन्ने महसुस नेता श्रेष्ठमा भएमा मात्र । नेता श्रेष्ठभित्र जनस्तरमा मप्रतिको बुझाई जस्तोसुकै भएपनि फरक पर्दैन, मेरो पद र पहुँच सुरक्षित रहन्छ भन्ने बुझाई छ भने कुनै पनि प्रश्नको जवाफ दिइरहनु पर्दैन । यो बाटो नारायणकाजी श्रेष्ठका लागि पनि सुरक्षित छ । समाजले गर्ने कतिपय प्रश्नहरु सतही हुनसक्छ, नेताहरुका लागि प्रतिकुल हुनसक्छन् । तथ्यहरु बाझिन सक्छ । तर झुटो नै सहि, जनस्तरको बुझाई र उठेको प्रश्नको विस्वासिलो जवाफ नआउँदासम्म त्यस्ता गलत सुचनाहरु सत्य भइरहन्छ । नारायणकाजीसँग यतिबेला समाजले गरेको मुख्य श‌का के हो भने, कमानसिंह लामा र सुसन कर्माचार्यवीचको आर्थिक लेनदेनमा श्रेष्ठ संलग्न छन् । सुसन भनेकै नारायणकाजी श्रेष्ठको पैसा परिचालन गर्ने प्रमुख पात्र हुन् । समाजले यतिबेला बुझेको सत्य यही हो । तर यो गलत पनि हुनसक्छ । सम्पत्ति माथि उठेको प्रश्न यदि यो आरोपलाई गलत सावित गर्ने हो भने नारायणकाजी श्रेष्ठले एउटा दस्तावेज र दैनिक जीवनको तलमेल देखाउनु पर्छ । जुन दस्तावेज भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सरकारसँग सम्वन्धित छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री हुँदा सरकार समक्ष सम्पत्ति विवरण पेश गरेका थिए । सम्पत्ति विवरण हेर्ने हो भने नारायणकाजी श्रेष्ठको आर्थिक अवस्था निकै दयनीय छ । तरपनि उनले राष्ट्रिय सभाको सदस्यको रुपमा पाउने पारिश्रमिक फिर्ता गरेका छन् । उनको दैनिकी भने अर्बपति व्यापारीको भन्दा खर्चिलो, भड्कीलो छ । यो कसरी सम्भव छ ? उक्त सम्पत्ति विवरण अनुसार नारायणकाजी श्रेष्ठको नाममा गोरखाको जौवारीमा केही पैतृत जग्गा छ । त्यो जग्गा पनि २०५७ सालमा पार्टीलाई हस्तान्तररण गरेकाले त्यसलाई पनि सम्पत्तिको रुपमा बुझ्न नमिल्ने उनले आफैँले हस्ताक्षर गरेर बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । उनले आफुले प्रयोग गरेको स्कार्पिओ जीप समेत पार्टीको सहयोगमा प्राप्त गरेको विवरण भरेका थिए । त्यसबाहेक नेता तथा प्रवक्ता श्रेष्ठसँग कुनै सम्पत्ति नै छैन । यतिसम्म की नारायणकाजी श्रेष्ठ शान्ति प्रकृयापछि बारम्बार मन्त्री छन्, सांसद भएका छन् । तर उनले आफ्नो नाममा एउटा पनि बैंक खाता नभएको विवरण राज्यलाई बुझाएका थिए । यति कमजोर आर्थिक अवस्था भएका नेता श्रेष्ठले आफ्नो दैनिकी कसरी विताइरहेका छन् ? यस्तो छ श्रेष्ठको सम्पत्ति विवरण

ताजा अपडेट

नेपालवाच विशेष