NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरोना खोप ल्याउनेबारे अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयमा छलफल

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप आपूर्ति गर्नेसम्बन्धमा सरकारले प्रक्रिया तिब्र बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा आइतबार खोप समितिको बैठक बस्दैछ । उक्त बैठकले खोप खरिद र आपूर्ति सम्बन्धमा मन्त्रालयस्तरबाट अन्तिम निर्णय गरी मन्त्रिपरिषद्मा प्रस्ताव गर्नेछ । कोरोना विरुद्धको खोप खरिद तथा आपूर्ति सम्बन्धमा मन्त्रालयले विभिनन समिति तथा कार्यदल गठन गरी अध्ययन गर्दै आएको छ । बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीको संयोजकत्वमा गठित खोप व्यवस्थापन प्राविधक तयारी समितिले खोप सम्बन्धि अध्ययन गरी आवश्यक सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरिसकेको छ । कार्यदलले दिएको सुझावका आधारमा आइतबार बस्ने खोप समितिको बैठकले खोप सम्बन्धि आवश्यक मापदण्ड तय गरी खोप खरीद तथा आपूर्ति सम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्मा प्रस्ताव गर्नेछ । खोप खरिद गर्ने सम्बन्धमा मन्त्रालयले मापदण्ड नै तयार गरिसकेको छ । जसमा सम्बन्धित देशमै उत्पादन भएको खोप किन्ने, आवश्यक मात्रामा खोप उपलब्ध गराउने, विश्व स्वास्थ्य संगठन वा सो सरहको संस्था अनुमोदन गरेको खोपमात्र आपूर्ति गर्ने, सर्वसुलभ तथा सस्तो मूल्यमा खोप खरिद गर्ने र २–८ डिग्री तापक्रम चिस्यान क्षमता भएका खोपलाई प्राथमिकता दिने छन् । मापदण्डका आधारमा मन्त्रीपरिषद्को बैठकले उक्त प्रस्ताव पारित गरेमा मन्त्रालयले विभिन्न कम्पनीसँग खोपको खरिदका लागि आव्हान गर्नेछ । कोरोना विरुद्धको खोप आपूर्ति गर्न २४ कात्तिकको मन्त्रीपरिषद्को बैठकले मन्त्रालयका सचिव अर्यालको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय खोप समिति गठन गरेको थियो । समितिमा परराष्ट्र मन्त्रालयका सचिव तथा अर्थ मन्त्रालयका सचिव सदस्य रहेका छन् । समितिलाई खोपको आधिकारीता, प्रभावकारीता तथा उपलब्धताका आधारमा विस्तृत अध्ययन गरी खरिद तथा आपूर्ति प्रक्रिया अघि बढाउने जिम्मा दिइएको छ । जसमा खोपको लागि लागि आवश्यक बजेट लगायतमा विषयमा अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ भने परराष्ट्र मन्त्रालयले खोपको उपलब्धताका लागि विभिन्न देशसँग समन्वय गर्ने तथा कुटनीतिक प्रयासका लागि सहजीकरण गर्नेछ ।