NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

काठमाडौँ–दिल्ली उडानको बुकिङ खुल्यो, पुस २ बाट उडान हुने

काठमाडौं । कोभिड–१९ महामारीका कारण रोकिएको नेपाल–भारत उडान आगामी २ पुसबाट सञ्चालनमा आउने भएको छ । भारतले जारी गरेको ‘एयर ट्रान्सपोर्ट बबल’ अवधारणा अनुरुप हालको लागि काठमाडौं–नयाँदिल्ली उडान मात्र हुनेछ । नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आइबारदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ । काठमाडौँ–दिल्ली हालका लागि आगामी २ पुसदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौँ एक उडान भर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल’ अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण गत चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो । कोभिड महामारी नियन्त्रणका लागि गत ११ चैतदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । कोरोना संक्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्धित थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो । भारतसहित नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बंगलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । निगमको तयारी तीब्र नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली उडानको तयारी तीव्र पारेको छ । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान गन्तब्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौँ–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकैबीच अहिले दैनिक एक उडान हुनलागेको हो । नेपाल एयरलाइन्सको उडान समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको छ । बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यो गन्तब्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन् । भारतले आयोजना गरेको बबल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानको तयारी सकेको भन्दै प्रवक्ता श्रेष्ठले भारतका अन्य दुई गन्तब्यमा पनि विगतमा झैँ उडान हुने अपेक्षा गरिएको बताइन् । निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् ।

ताजा अपडेट

नेपालवाच विशेष