NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालका सन्तोष साह ‘मास्टरसेफ’को फाइनलमा पाँच प्रतियोगीसँग भिड्दै

बेलायतमा कार्यरत नेपाली सेफ ३५ वर्षिय सन्तोष शाह युकेको चर्चित पाककला सम्बन्धी टेलिभिजन रियालिटी शो ‘मास्टरसेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’को फाइनल राउण्डमा प्रवेश गरेका छन् । सेमिफाइनल राउण्डमा योमरी बनाएर उनी मास्टर सेफ यूकेको १६ औ संस्मरणको फाइनल राउण्डमा पुग्न सफल भएका हुन् । गत साताको सेमिफाइनल राउण्डमा उनले योमरी परिकारको परिस्कृत रुप प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको योमरीमा चकलेट र काजु हालिएको थियो भने योमरी माथि सुन्तला र दालचिनी हालेर सजाइएको थियो । लगत्तै, उनले भारतीय–चिनियाँ शैलीको चिकन चिल्ली पस्किएका थिए । पाककला तथा प्रस्तुतीकरणबाट प्रभावित भएर कार्यक्रमका निर्णायकहरुले उनलाई सोझै फाइनल चरणमा प्रवेश दिएका थिए । मंगलबार हुने फाइनल राउण्डको प्रतिष्पर्धामा उनी अन्य पाँच प्रतियोगीहरुसँगै सहभागी हुनेछन् ।दुई राउन्डको हुने उक्त परीक्षणमा प्रतियोगीहरुको सिर्जनशीलता, गति तथा पाककलाको गुण जाँचिनेछ । उक्त प्रतियोगिताको अन्तिम नतिजा बिहीवार सार्वजनिक हुनेछ । जसमा विजेता घोषित हुनेछ । अन्तराष्ट्रिय स्तरमा नै प्रतिष्ठित मानिएको मास्टर सेफ प्रतियोगितामा नेपाली खाना पस्केर प्रतिष्पर्धा गर्ने सन्तोष पहिलो नेपाली सेफ हुन् । मास्टर सेफ यूकेमा नेपाली उत्कृष्ट परिकार पस्केकै कारणले उनले देश विदेशमा समेत चर्चा बटुलिसकेका छन् । मास्टर सेफको प्रतियोगिता नेपालमा सोझै हेर्न सकिदैन । तर धेरै नेपालीहरुले उनलाई सामाजिक सञ्जालमार्फत पछ्याउँदै आएका छन् । उनको शो यूट्यूवमा हेरिदै आएको छ । उनलाई नेपालका अर्बपति व्यापारी विनोद चौधरी, न्यूयोर्कका सेलिब्रिटी फेशन डिजाइनर प्रवल गुरुङ्गसहितका धेरैले बधाई सन्देशसमेत दिइसकेका छन् । सन्तोष साहको जन्म भारतको सिमाना नजिकै रहेको सिराहा जिल्लाको कर्जन्हा गाउँमा भएको हो । उनी दुई दिदी र पाँच दाजुहरु पछिका कान्छा हुन् । उनी पाँच वर्षको हुँदा उनको पिताको निधन भएको थियो । उनले १५ वर्षको उमेरबाट होटल क्षेत्रमा प्रवेश गरेका थिए । उनले विभिन्न होटलमा काम गरेर अनुभव बटुल्नुका साथै होटल व्यवस्थापनमा डिप्लोमा गरेका छन् । उनले एक पाँच तारे होटलमा ‘कार्यकारी शेफ’ को रुपमा समेत काम गरिसकेका छन् । उनी सन् २०१० मा बेलायत पुगेका थिए । उनी हाल बेलायतको एक प्रतिष्ठित सिनामन कलेक्सनमा प्रमुख शेफ तथा साफ्रन सर्कल यूकेमा कार्यकारी शेफका रुपमा कार्यरत छन् ।

ताजा अपडेट

नेपालवाच विशेष