NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

‘हाउ टू मर्डर योर हजबेन्ड’की लेखिकामाथि आफ्नै पति हत्याको अभियोग

काठमाडौं । अमेरिकामा ‘हाउ टू मर्डर योर हजबेन्ड’ नामक निबन्धकी लेखिकामाथि आफ्नै पतिको हत्या अभियोग लागेको छ र यो मुद्दामा सुनुवाइ सुरु भएको छ ।

यो घटना अमेरिकाको ओरेगन राज्यको हो । न्यान्सी क्रयाम्पटन ब्रोफी नाम गरेकी ६८ वर्षीया लेखिकालाई आफ्ना सेफ पति ६३ वर्षीया डेनियल ब्रोफीको हत्या अभियोगमा सन् २०१८ सेप्टेम्बरमा पक्राउ गरिएको थियो । अब यी महिलाविरुद्ध अदालतमा मुद्दा सुरु भएको छ ।

न्यान्सीले सोही साल जुन २ को बिहान दक्षिण–पश्चिम पोर्टल्याण्डमा आफ्ना पतिको हत्या गरेको आरोप छ ।

धेरै पुस्तककी लेखिका न्यान्सीले आफ्ना पतिको रहष्यमय मृत्युभन्दा धेरै वर्ष पहिले ‘हाउ टू मर्डर योर हसबेन्ड’ (कसरी तिम्रो पतिको हत्या गर्ने) शीर्षकमा ७ सय शब्दको एक निबन्ध लेखेकी थिइन्, जसको उतिबेला निकै चर्चा भएको थियो ।
डेनियलको निधनपछि प्रहरीले घटनाको व्यापक अनुसन्धान गर्‍यो । प्रहरीको लागि यो प्रकरण लामो समयसम्म रहष्यमै रहेको थियो । केही प्रमाणका आधारमा न्यान्सीलाई पक्राउ गरियो ।

अनुसन्धानकर्तालाई यो हत्याकाण्डमा डेनियलको शरीरमा कुनै पनि प्रकारको बल प्रयोग या संघर्षको प्रमाण फेला पारेका थिएनन् । तर प्रहरीले जाँचबुझका क्रममा मृतकको साथबाट पर्स, मोबाइल फोन र साँचो बरामद गरेका थिए ।
सुरुमा त प्रहरीले यसलाई डकैतीको मुद्दा मान्न अस्वीकार गरेका थिए । अदालतमा प्रस्तुत दस्तावेजका अनुसार ट्राफिक क्यामरामा न्यान्सीको मिनी भ्यानलाई उनको पतिले काम गर्ने संस्थानजिकै शहरको सडकमा आवतजावत गरेको देखिएको थियो ।

मुल्नोमाह काउन्टीका वरिष्ठ डेपुटी डिस्ट्रिक अटर्नी शान ओवरस्ट्रिटका अनुसार मृतक न्यान्सीले आफ्ना पतिको १ दशमलव ४ मिलियन डलरको बीमा पोलिसीको लोभमा हत्या गरेकी हुन् । लिड डिफेन्स अर्टनी लिसा म्याक्सफिल्डले भने डेनियलको मृत्युपछि न्यान्सीको आर्थिक अवस्था निकै खराब भएको थियो ।

न्यान्सीले प्रहरी र अन्य मानिसलाई छक्याउन अनेक तिकडम गरेको देखिन्छ । पतिको निधनपछि उनले फेसबुकमा शोक व्यक्त गरेकी थिइन् । साथै आफ्ना मित्र र आफन्तलाई पतिको निधनबारे जानकारी दिएकी थिइन् र ‘आफ्नो जीवनकै सबैभन्दा दुःखद् घटना’ बताएकी थिइन् ।

‘पतिको हत्या कसरी गर्ने’ भन्ने निबन्धबारे उनले आफनो विचार राखेकी थिइन् । हत्याभन्दा सम्बन्धविच्छेद धेरै खर्चालु भएको उनको जिकिर थियो । उनले लेखेकी थिइन्, ‘रोमान्टिक सस्पेन्स लेखिकाका नाताले मैले पतिको हत्या तथा त्यसपछिको प्रहरीको प्रतिक्रियाबारे घण्टौंसम्म सोचेँ, यसैको परिणामस्वरूप प्रहरीको प्रक्रियाको सामना गर्नु परिरहेको छ ।’

लेखिकाले ‘सम्बन्धविच्छेद महँगो छ’ भन्दै लेखेकी थिइन्, ‘यदि हत्याले मलाई स्वतन्त्र गर्छ भने म निश्चित रूपमा कहिल्यै जेल जान चाहन्नँ ।’

न्यान्सीले कसैको मृत्युको कामना गर्नु त सजिलो भए पनि उसलाई मार्न निकै कठिन काम भएको पनि लेखेकी थिइन् ।
‘म आफ्नो भित्तामा लागेका रगतका टाटा र दिमागको उल्झनलाई सम्झन चाहन्छु । म वास्तवमै झूठको सम्झना राख्न बिलकुल माहिर छैन,’ उनले लखेकी थिइन् ।

कसैको हत्या गर्न आफैंलाई मनाउनुपर्नेसमेत उनको कथन थियो । लेखिकाको वेबसाइटमा उल्लेख गरिएको जीवनीका आधारमा के पत्ता लाग्छ भने उनका पुस्तक सुन्दर पुरुष र बलिया महिलाका बारेमा या काम नगर्ने, तर प्रेमको खोजीको खुसी अनि प्रेम प्राप्तिको कठिनाइजस्ता विषयमा आधारित छन् ।

छिमेकीले स्थानीय पत्रिकालाई बताएअनुसार, आफ्नो पतिको निधनपछि पनि न्यान्सीमा पति शोकको कुनै असर देखिएन । यसै कारण प्रहरीले उनलाई संदिग्ध मानेको हो, त्यसमाथि डेनियलको अफिस छेउछाउ न्यान्सीको मिनी भ्यानलाई त्यो दिन देखिएकाले पनि यो शंका बलियो भयो ।

–एजेन्सीको सहयोगमा