NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ग्वार्डिओला ब्राजिलको चौथो विदेशी प्रशिक्षक बन्ने सम्भावना कति ?

काठमाडौं । विश्व फुटबल बजार अहिले एउटा विषयले तातेको छ । म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओला ब्राजिल राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्दैछन् भन्ने विषयले फुटबल बजार तातेको हो ।

वर्तमान प्रशिक्षक टिटेले यसै वर्षको विश्वकपपछि ब्राजिलियन टोली छाड्ने बताइरहेका बेला नयाँ प्रशिक्षकको रूपमा ग्वार्डिओलाको नाम आएको हो ।

स्रोतका अनुसार ब्राजिलियन फुटबल संघ सन् २०२६ को विश्वकपसम्मका लागि ग्वार्डिओलासँग चार वर्षको सम्झौता गर्न चाहिरहेको छ ।

यसका लागि उसले वार्षिक १२ मिलियन युरो दिन तयार देखिएको छ । यो राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि राम्रो तलब हो ।

ब्राजिलको फुटबल संघले यतिबेला स्पेनिस प्रशिक्षक ग्वार्डिओलाका एजेन्टसँग छलफल गरिरहेको बताइएको छ । छलफल सकारात्मक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बार्सिलोनाका पूर्वव्यवस्थापकसमेत रहेका ग्वार्डिओलाको सिटीसँगको सम्झौता सन् २०२३ पछि सकिँदैछ । यसपछि उनी खाली हुँदैछन् ।

यसै मौकालाई सदुपयोग गर्दै ब्राजिलले ग्वार्डिओलालाई अनुबन्ध गर्न चाहेको हो ।

यदि अफर स्वीकारे ग्वार्डिओला ब्राजिलियन राष्ट्रिय टोलीको चौथो विदेशी प्रशिक्षक बन्नेछन् ।

स्वयम् ग्वार्डिओला पनि आफूले अब राष्ट्रिय टोलीको प्रशिक्षक बन्न चाहेक यसअघि नै बताइसकेका छन् ।

स्पेनिस राष्ट्रिय टोलीका प्रशिक्षक लुइस इनरिकेले आफू पछि ग्वार्डिओलाले टिम सम्हाल्नुपर्ने बताएका थिए । तर, स्पेनिस फुटबल संघले भने यसबारे कुनै विषय बताएको छैन ।

यस्तोमा ग्वार्डिओला स्पेनको भन्दा बढी ब्राजिलकै प्रशिक्षक बन्ने सम्भावना प्रबल देखिएको छ ।

ब्राजिलियन राष्ट्रिय टोलीको १०८ वर्षे अवधिमा तीनजना विदेशी प्रशिक्षकले ब्राजिलियन राष्ट्रिय टोली सम्हालिसकेका छन् ।

सन् १९२५ मा उरुग्वेका रोमोन प्लाटेरो, १९४४ मा पोर्चुगलका जोरेका र १९६५ मा अर्जेन्टिनाका फिल्पो नुनेजले ब्राजिलियन टोली सम्हालिसकेका छन् ।

ब्राजिलले सन् २००२ यता विश्वकप जित्न सकेको छैन । यस्तो अवस्थामा ब्राजिल विदेशी प्रशिक्षकको खोजीमा लागेको हो ।