NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

तमाखुको विज्ञापन अस्वीकार गर्दै अल्लु अर्जुनले भने–म यसको प्रमोट गर्दिनँ

काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुनले तमाखु कम्पनीको विज्ञापनमा काम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । कम्पनीले अल्लुलाई विज्ञापनका लागि करोडौं रुपैयाँ अफर गरेको थियो ।

अल्लुका अनुसार उनी आफ्ना प्रशंसकहरु माझ कुनै गलत कुरा प्रचार गर्न चाहँदैनन् । अल्लु आफैं पनि सुर्ती सेवन गर्दैनन् । यस कारण, उनले सुर्ती कम्पनीको ब्रान्डलाई समर्थन नगर्ने भन्दै काम नै गर्न नमानेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

अल्लुनजिकका साथीहरूले फिल्ममा चुरोट पिउनु पर्ने भूमिका अल्लुको हातमा नभएको बताउँदै फिल्मभन्दा बाहिरी जीवनमा उनी कसैले पनि सुर्तीजन्य पदार्थ सेवन नगरुन् भन्ने चाहेको बताउँछन् ।

अल्लुले काम गरेको विज्ञापन हेरेपछि आफ्ना फ्यानहरु पनि सुर्ती खान सुरु गर्ने र त्यसैको लतमा पर्ने भएकाले आफूले उपभोग नगर्ने वस्तुको प्रवद्र्धनमा नलाग्ने अल्लुको भनाइ छ ।

अजय देवगन, शाहरुख खानपछि अक्षय कुमारले पान मसालाको विज्ञापन गरेपछि उनीहरु सामाजिक सञ्जालमा ट्रोल भएका थिए । अक्षयले आफ्नो धेरै अन्तर्वार्तामा गुटखा कम्पनीले उनलाई करोडौं रुपैयाँ अफर गरे पनि सुर्तीजन्य पदार्थको विज्ञापन स्वीकार नगर्ने दाबी गरेका थिए । यस दाबीका बावजुद पनि उनले पान मसलाको विज्ञापनमा काम गरेपछि ट्रोल भएका हुन् ।

बलिउडका मेगास्टार अमिताभ बच्चनले पनि पान मसालाको प्रचार गर्थे । सोसल मिडियामा उनलाई पनि धेरै ट्रोल गरिएको थियो । यसपछि उनले आफ्नो जन्मदिनमा विज्ञापन छोड्ने घोषणा गरे । बच्चनको तर्फबाट भनिएको थियो, ‘अमिताभ बच्चन यस ब्राण्डसँग जोडिँदा उनलाई यो सरोगेट विज्ञापनअन्तर्गत आएको थाहा थिएन । अमिताभले ब्राण्डसँगको सम्झौता खारेज गरि प्रमोशन शुल्क पनि फिर्ता गरेका छन् ।’