NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

माओवादीले हारे प्रतिगमनको जित, जिते सत्यको जित : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादीले हारे प्रतिगमनको जित हुने बताएका छन् । प्रतिगमनको खतरा पूर्णरूपमा अन्त्य नभइसकेको भन्दै उनले यसैले माओवादीले जित्नु आवश्यक भएको बताए ।

१५२ औं लेनिन दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शुभकामना कार्यक्रममा प्रतिगनमको अन्त्यका लागि सम्पूर्ण वाम–लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।

दक्षिणपन्थी संशोधनवाद, आत्मसमर्पणवाद र प्रतिगामी तानाशाही प्रवृत्तिले कम्युनिष्ट एकता धरापमा परेको आरोप लगाए ।

एमाले र माओवादीबीच एकता हुँदा अधिकांश नेता तथा कार्यकर्ताहरूको मुहारमा खुशी छाएको जिकिर गरे । तर व्यक्तिवादी संक्रमणवादी चिन्तन बोकेको नेतृत्वले प्रचण्डको नेतृत्वमा कम्युनिष्ट पार्टी अगाडि बढ्ने डरले षड्यन्त्र र सेटिङ गरेर नेकपा भंग गरेको आरोप लगाए ।
आगामी निर्वाचनले प्रतिगामी तत्वहरूलाई परास्त गर्ने वा प्रगतिशील सच्चा कम्युनिष्ट पार्टीले जित्ने भन्नेमा अन्तिम फैसला गर्ने उनले बताए ।

‘माओवादीले हारे प्रतिगमनको जित हुनेछ । देशले हार्नेछ । हामीले जिते सत्यको जित हुनेछ’, उनले भने, ‘प्रतिगमनलाई परास्त गरी प्राप्त उपलब्धीको रक्षा गर्न माओवादीले जित्नैपर्नेछ ।’

प्रचण्डले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धनले तालमेल गर्ने निर्णय गरेकाले त्यही अनुसार अगाडि बढ्न आग्रह गरे ।