NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बोरिसले भारतमा जेसिबी कारखाना उद्घाटन गरेपछि सामाजिक सञ्जालमा हंगामा

नयाँ दिल्ली । बेलायती प्रधानमन्त्री बोरिस जोनसन भारतको दुई दिने भ्रमणमा बिहीबार गुजरात पुगेका छन् । यसअघि पनि बेलायती प्रधानमन्त्रीको भारत भ्रमण दुईपटक स्थगित भइसकेको थियो र यो भ्रमणको धेरै प्रतिक्षा गरिएको थियो ।

रुसले युक्रेनमा गरेको आक्रमणका कारण भारतमाथि पश्चिमा राष्ट्रको दबाब र कैयौं आन्तरिक मामिलामा भारतभित्रै हलचल मच्चिएको बेला बोरिस जोनसन यसपटक भारत पुगेका हुन् ।

२१ अप्रिलमा बोरिस जोन्सन भारत पुगे र १६ अप्रिलमा दिल्लीको जहांगीरपुरीमा साम्प्रदायिक झडप भयो । यसपछि जहांगीरपुरीमा नै भाजपा शासित दिल्ली नगर निगमले ‘अवैध निर्माणविरुद्ध अतिक्रमण हटाओ अभियान’ सुरु गरेको थियो । यो अभियानमा बुलडोजर प्रयोग गरिएको थियो ।

यसअघि पनि बिजेपीशासित मध्य प्रदेशमा साम्प्रदायिक झडप भएको थियो र यहाँ पनि प्रशासनले दोषी प्रमाणित नगरी अभियुक्तको घरमा बुलडोजर लगाएको थियो ।

भारतीय सञ्चारमाध्यममा सरकारी बुलडोजरको बहस चर्किरहेको बेला बेलायती प्रधानमन्त्रीले बिहीबार गुजरातको बडोदरा नजिकैको हलोल औद्योगिक क्षेत्रमा एउटा जेसीबी कारखानाको उद्घाटन गरेका हुन् । यस उद्घाटनका क्रममा बेलायती प्रधानमन्त्रीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यो तस्बिरमा बोरिस जोनसन जेसिबि ड्राइभर सिटमा बसेका छन् । बेलायती प्रधानमन्त्रीको यो तस्बिर भारतको सामाजिक सञ्जालमा मात्र नभई बेलायतका मिडिया र सामाजिक सञ्जालमा पनि बहस भइरहेको छ ।

बेलायतको प्रमुख पत्रिका द इन्डिपेन्डेन्टले आफ्नो रिपोर्टमा बेलायती प्रधानमन्त्री भारत पुग्दा दिल्लीको मुस्लिम बाहुल्य क्षेत्रमा जेसिबीले घर र पसल भत्काएको उल्लेख गरेको छ ।

जहांगीरपुरीमा जेसिबी मेसिनले घर र पसल भत्काउने कार्यलाई पनि साम्प्रदायिक हिंसासँग जोडिएको छ तर दिल्ली प्रशासनले यसलाई अस्वीकार गरेको छ। तर यसैबीच जेसिबीमा बसेका बेलायती प्रधानमन्त्रीको तस्बिरलाई लिएर उनले जेसिबी कारखानामा जानका लागि दुर्भाग्यपूर्ण समय रोजेको बताइएको छ ।

मानवअधिकारका लागि काम गर्ने संस्था एम्नेस्टी इन्डियाले पनि ट्वीट गर्दै बेलायती प्रधानमन्त्रीलाई निशाना बनाएको छ ।

एम्नेस्टी इन्डियाले आफ्नो ट्वीटमा भनेको छ, ‘एकतिर उत्तर पश्चिम दिल्लीको जहांगीरपुरीमा मुस्लिम घर र पसलमा जेसीबी बुलडोजरले तोडफोड गरेको छ र अर्कोतिर बेलायतका प्रधानमन्त्रीले गुजरातमा जेसिबी कारखानाको उद्घाटन गरे, यो उपेक्षा मात्र नभएर तर त्यस महत्वपूर्ण घटनामा उनको मौनता पनि हो ।’