NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

धरान उपमहानगरपालिका : कांग्रेसमा कलह, एक्लै भिड्दै एमाले

काठमाडौं । धरान उपमहानगरपालिका कुनै समय लालकिल्ला भनेर चिनिन्थ्यो, तर अहिले त्यो पहिचान रहेन । तत्कालीन मेयर तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा लालकिल्ला तोडियो । एमालेबाट निर्वाचित मेयर सुब्बाको ०७५ सालमा निधन भएको थियो । ०७६ सालमा भएको उपनिर्वाचनमा धरानको मेयरमा कांग्रेसका तिलक राई निर्वाचित भए । त्यही नतिजा दोहोर्‍याउन कांग्रेस फेरि माओवादीलगायत दलसँग तालमेल गरेर निर्वाचनमा होमिएको छ ।

०७४ को निर्वाचन परिणाम

०७४ सालको चुनावमा यो उपमहानगरमा एमालेले मेयर–उपमेयर दुवै जितेको थियो । मेयरमा तारा सुब्बा २० हजार ९ सय ७५ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत पाए । सुब्बाको मत राईको भन्दा ४ हजार ८ सय ७३ बढी थियो । तेस्रो स्थानको माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याए ।

०७६ सालमा भएको उपनिर्वाचनमा धरानको मेयरमा कांग्रेसका तिलक राई निर्वाचित भए । त्यही नतिजा दोहोर्‍याउन कांग्रेस फेरि माओवादीलगायत दलसँग तालमेल गरेर निर्वाचनमा होमिएको छ 

उपमेयरमा एमालेकी मञ्जु भण्डारी सुवेदी २१ हजार २ सय ५६ मत पाएर विजयी भइन् । कांग्रेसकी श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत ल्याइन् । यहाँ संघीय समाजवादी फोरम र माओवादी मिलेर लडेका थिए । मेयरमा माओवादी र उपमेयरमा फोरमका उम्मेदवार थिए । तेस्रो स्थानमा फोरमका पारस राईले ५ हजार १ सय ८१ मत ल्याएका थिए ।
यस्तै, स्वतन्त्र उम्मेदवार मेहरमान ह्युज गिरी ११ सय मत ल्याउन सफल भए । वडा तहमा पनि एमालेको वर्चस्व नै रह्यो । २० मध्ये १४ वडाध्यक्ष एमालेले जित्यो । कांग्रेसले पाँच र माओवादी केन्द्रले एकमा अध्यक्ष जित्न सफल भए ।

उपचुनावको परिणाम

मेयर तारा सुब्बाको ०७५ सालमा निधन भयो । त्यसको अर्को वर्ष धरानमा मेयरका लागि उपचुनाव भयो । यो वेलासम्म एमाले र एकीकृत माओवादी केन्द्र मिलेर नेकपा बनिसकेको थियो । ०७४ सालमा पाएको मतअनुसार दुई दल मिल्दा ३२ हजार १ सय ५५ मत हुन्थ्यो । यो ०७४ को निर्वाचनमा कांग्रेसले पाएको भन्दा १६ हजार ५३ बढी थियो । त्यसैले उपनिर्वाचनमा जित निश्चित हुनेमा नेकपा ढुक्क थियो ।

नेकपाबाट प्रकाश राई र कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए । तर, परिणाम उल्टियो । अर्थात् कांग्रेसले लालकिल्ला तोड्यो । कांग्रेसका राई २६ हजार ७ सय ९ मत पाएर मेयरमा निर्वाचित भए । उनले अघिल्लोपटक भन्दा करिब १० हजार ६ सय ७ मत बढी पाएका थिए । एमालेका प्रकाशले २३ हजार ९ सय १४ मत पाए ।

तेस्रो प्रयासमा सफल

भोजपुरमा ०३१ सालमा जन्मेर धरान झरेका कांग्रेस नेता तिलक राई पहिलोपटक ०५४ सालमा घरान– १८ को वडाध्यक्षमा चुनाव लडेर हारे । ०७४ को स्थानीय चुनावमा उनी मेयरमा लडे, त्यहाँ पनि हारे । तेस्रोपटकको चुनावी प्रतिस्पर्धामा उनी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भइछाडे । कांग्रेसले धरानमा ०४८ सालदेखि एकपटक पनि चुनाव जित्न सकेको थिएन । उसले इतिहासमै पहिलोपटक जितेर कम्युनिस्टको किल्ला ढालेको हो ।

आगामी अंकगणित

धरान यस्तो उदाहरण हो जहाँ चुनावी अंकगणित फेल भएका छन् । ०७६ मा एमाले र माओवादीको मत एकै ठाउँमा हुँदा पनि कांग्रेसले जित्नु आश्चर्यजनक थियो । नेकपाले पछि उपचुनावको समीक्षा गर्दा करमा गरिएको वृद्धिले पार्टी हारेको निष्कर्ष निकालेको थियो । स्थानीय तहमा यस्ता मुद्दाले पनि परिणाम उलटफेर हुन सक्छ भन्ने धरानले देखाएको छ । आगामी चुनावमा सत्तासाझेदार दलले मिलेर चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनीहरूले वडातहसम्मै भागबन्डा गरिसकेका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीबीच बाँडफाँड भए पनि केही असन्तुष्टि भने बाहिर आएको छ । विशेषगरी कांग्रेसका केही वडास्तरका नेताले गठबन्धनको विरोध गरिरहेका छन् । यद्यपि, चुनावसम्म त्यो साम्य हुने कांग्रेस नेताहरू बताउँछन् । तर, एमालेले भने कांग्रेसमा बढिरहेको विवाद झन् चर्किए हुन्थ्यो भन्ने चाहिरहेको छ । त्यसो हुँदा कांग्रेसबाटै केही बागी उम्मेदवार खडा हुने र आफूलाई राहत हुने उसको विश्लेषण छ ।

अर्कातिर यसपटक एमाले विभाजित भएको छ । एकीकृत समाजवादीले पनि धरानमा प्रभाव विस्तार गरिरहेको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एक ठाउँमा आउँदा धरानमा एमाले समस्यामा परेको छ । यदि तालमेल इमानदारपूर्वक कार्यान्वयन भए यसपटक धरानमा गठबन्धनले नै बाजी मार्ने सम्भावना छ । एमालेले भने ०७४ सालको परिणाम दोहोर्‍याउने दाबी गरिरहेको छ । तर, उपचुनावअघिको वा उपचुनावकै नतिजा केलाउँदा पनि गठबन्धनका उम्मेदवार बलियो अवस्थामा देखिन्छन् । यसअघिको मतपरिणामअनुसार कांग्रेस र माओवादीको मत मात्र जोड्दा पनि गठबन्धनको पक्षमा झन्डै ७ हजार मत बढी हुन्छ ।

तर, धरानका मतदाताको भर छैन । उनीहरू मुद्दाकेन्द्रित हुन थालेका छन् । त्यसैले आगामी चुनावमा पनि उम्मेदवार र उसले उठाउने मुद्दा हेरेर नै उनीहरूले मतदान गर्न सक्छन् । थपिएका मतदाता र उम्मेदवारको व्यक्तिगत प्रभावले पनि परिणाममा असर पार्न सक्छ ।

मतदाताको संख्या
०७४ सालको चुनावमा धरान उपमहानगरमा ७९ हजार २ सय ९० मतदाता थिए । ०७६ सालको उपचुनावमा १३ हजार ५ सय ६३ मतदाता थपिए । त्यसपछि ९० हजार ८ सय ५३ पुग्यो । आगामी चुनावका लागि धरानमा मतदाताको संख्या एक लाख ३ सय २४ पुगेको छ ।

भौगोलिक अवस्था

धरान नेपालकै एक सुन्दर तथा सांस्कृतिक विविधता भएको सहर हो । यो प्रदेश १ को सुनसरी जिल्लामा पर्छ । ०१० सालमा पूर्वाञ्चलका लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भएपछि मुख्य रूपमा बसोवास तथा चहलपहल बढेको पाइन्छ । ०१७ सालमा नगरपालिका घोषित भएको धरान, ०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोसी अञ्चलको सदरमुकामसमेत घोषित भएको थियो ।

०७१ मंसिर १६ गतेको सरकारको निर्णयअनुसार विष्णुपादुका गाविसलाई २७ वडा कायम गरी धरान उपमहानगरपालिका घोषणा गरिएको थियो । संघीय पुनर्संरचना आयोगको निर्णयअनुसार धरानमा फेरि २० वटा वडा बनाइएको थियो ।