NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बीमा समितिद्वारा निर्माण व्यवसायीको माग सम्बोधन : इञ्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका स्थगित

काठमाडाैं । बीमा समितिद्वारा जारी इञ्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका, २०७८ स्थगित भएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त निर्देशिका हाललाई स्थगित गरको जानकारी दिएको हो ।

माग सम्बोधन भएसँगै  इञ्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिकाविरूद्ध आन्दोलनरत निर्माण व्यवसायी, इप्पानलगायतले गर्दै आएका धर्ना, विरोधका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णयसमेत भएको छ । समितिको आयोजनामा आज निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाललगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनीयरिङ बीमा दरसम्बन्धी छलफल कार्यक्रम भएको थियो । समितिबाट २०७८ साल असोज ६ गते जारी भएको इञ्जिनीयरिङ बीमा सम्बन्धी ‘Minimum rate for non-tariff insurance business’  निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझावसहितको प्रतिवेदन बुझाउन बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको पनि समितिले जनाएको छ ।

कार्यकारी निर्देशक पौडेल संयोजक रहेको उपसमितिमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), नेपाल बीमक संद्द र पुनर्बीमा कम्पनीका दुई दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासंद्द, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बीमा समितिका प्रतिनिधि सदस्य–सचिव रहेका छन् । उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ ।

कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय सम्पत्तिको अन्तर्राष्ट्रिय क्षेत्रका उत्कृष्ट कम्पनीमा पुनर्बीमा हुन सकोस्, राष्ट्रिय सम्पत्तीको सुरक्षा होस, कुनै कारणले केही भएमा तुरून्तै बीमा दाबी रकम भुक्तानी पाइयोस् र इञ्जिनीयरिङ्ग बीमा गर्दा कार्टेलिङ हुन नपाओस् भन्ने नै समितिको चासोको विषय भएको उल्लेख गरे ।

अध्यक्ष सिलवालले इञ्जिनीयरिङ बीमा दर निर्देशिकाका सम्बन्धमा सरोकारवाला सबैको राय, सुझावका आधारमा अगाडि बढ्न समिति तयार रहेको बताए ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इञ्जिनीयरि बीमा दरका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलबाट निष्कर्ष निकालेर सहमतिका साथ अगाडि बढ्न समिति प्रतिवद्ध रहेको बताए ।