NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

छपियो ८० प्रतिशत मतपत्र, २० हजारभन्दा बढी निर्वाचन पर्यवेक्षक

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ ।

बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । काठमाडौंसहित ६ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाई गरिनेछ । ती तहका मतपत्रमा पनि पुरानै डिजाइनअनुसार हुनेछ ।

उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरुपमा ढुवाली गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ता अघि नै मतपत्र छपाइ कार्य गरेको हो । विभिन्न राजनीतिक दलका तर्फबाट आफूहरू गठबन्धनमा उम्मेदवारी दिने भएकाले उम्मेदवारी दिइएपछि उम्मेदवारीको सङ्ख्या र निर्वाचन चिह्नका आधारमा मतपत्र छाप्न गरिएको आग्रहमा आयोगले असमर्थता जनाएको छ ।

२० हजार बढी निर्वाचन पर्यवेक्षक हुने

निर्वाचन पर्यवेक्षणका लागि कूल ६८ वटा संस्थाले आयोगबाट अनुमति लिइसकेका छन् । ती संस्थाबाट करिब २० हजारभन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ । सो उपर आवश्यक जाँच गरी आयोगले पर्यवेक्षकहरुलाई पर्यवेक्षण गरिने मतदानस्थलसमेत तोकी परिचयपत्र जारी गर्नेछ । पर्यवेक्षण अनुमति प्राप्त सङ्घसंस्थाका प्रतिनिधिहरुका लागि आयोगले वैशाख १४ गते अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

निर्वाचनसँग सम्बन्धित सूचना आमसञ्चार माध्यम एवं आमसरोकारका लागि सहज पहुँचसहित सम्प्रेषण गर्ने उद्देश्यले आयोगका प्रवक्ता र सहप्रवक्ताका अतिरिक्त सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई तोकिएको छ ।