NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

थरीथरीका तालमेल

यस पटकको स्थानीय तह निर्वाचनमा थरीथरीको तालमेल देखिएको छ । मुख्य गठबन्धन सत्ताधारी र विपक्षी दलबीच भए पनि केही दल भने दुवैतिर आबद्ध भएका छन् ।

सत्तागठबन्धन : कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा संयुक्त तालमेलमा छन् । देशैभर तालमेल गर्ने भनिए पनि कतिपय जिल्लामा पूर्ण र कतिपयमा आंशिक तालमेल भएका छन् । केही जिल्लामा भने आपसमा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै गठबन्धनमा रहेका दलहरूले आ–आफ्ना उम्मेदवार मैदानमा उतारेका छन् । धेरै जिल्लामा गठबन्धनका पाँच दलबीच पनि सहमति जुट्न सकेको छैन । कतिपय जिल्लामा कांग्रेस र माओवादी, कतिपयमा माओवादी र एकीकृत समाजवादी तालमेल गरेर अघि बढेका छन् । केही स्थानीय तहमा गठबन्धनभित्रकै दलले एक्लै पनि उम्मेदवारी दिएका छन् ।

विपक्षी गठबन्धन : एमाले, राप्रपा नेपाल, परिवार दल र लोसपाको विपक्षी गठबन्धनले विभिन्न ठाउँमा संयुक्त उम्मेदवारी दिएका छन् । एमालेले चितवनमा राप्रपासँग भिन्दै तालमेल गरेको छ । वीरगन्जमा एमालेका मेयर र लोसपाका उपमेयर उठेका छन् । बुटवलमा एमालेले जनमुक्ति पार्टीसँग तालमेल गरेको छ । तनहुँमा एमालेले कांग्रेसका गोविन्दराज जोशीको समूहसँग तालमेल गरेको छ ।

राप्रपा दुवै गठबन्धनमा : राप्रपा आफ्नो अनुकूलता हेरी जिल्लाअनुसार सत्तापक्ष र विपक्षी गठबन्धनमा सहभागी भएको छ । चितवनमा राप्रपाले एमालेसँग तालमेल गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुरमा एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गरेका छन् । जब कि एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध सत्तारूढ गठबन्धन र राप्रपाबीच तालमेल भएको छ ।

कांग्रेस–एमालेको गठबन्धन : झापामा कांग्रेस र एमालेले कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध तालमेल गरेका छन् । पूर्वी रुकुमको सिस्नेमा पनि माओवादीविरुद्ध कांग्रेस र एमालेबीच तालमेल भएको छ ।

राप्रपा–लोसपा गठबन्धन : सप्तरीको राजविराज नगरपालिकामा राप्रपा र लोसपाले तालमेल गरेका छन् ।

कांग्रेस–एमाले र नेकपा गठबन्धन : रोल्पाको सुनछहरी र माडी गाउँपालिकामा कांग्रेस र एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग तालमेल गरेका छन् ।