NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

पुटिनकी प्रेमिका एलिनामाथि अमेरिकाले किन प्रतिबन्ध लगाइरहेकाे छैन ?

वाशिंटन । व्हाइट हाउसकी प्रेस सचिव जेन साकीले सोमबार दैनिक प्रेस ब्रिफिङका क्रममा अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी प्रेमिका भनिएका महिलामाथि प्रतिबन्ध नलगाएको बताएकी छन् ।

रुसी राजनीतिज्ञ एवं जिम्न्यास्ट एलिना काबाएभामाथि किन प्रतिबन्ध नलगाइएको भन्ने प्रश्नमा साकीले भनेकी छन्, ‘हामी निरन्तर प्रतिबन्धको समीक्षा गरिरहेका छौं । हाम्रो प्रतिबन्धबाट कोही पनि बच्न सक्दैन ।’

अमेरिकाले अहिलेसम्म राष्ट्रपति पुटिन, उनका छोरीहरु र नजिकका सहयोगीमाथि प्रतिबन्ध लगाएको छ । ३८ वर्षीया ओलम्पिक गोल्ड मेडलिस्ट काबाएभामाथि पनि प्रतिबन्ध लगाउनु पर्ने माग अमेरिकामा बढिरहेको छ ।

पुटिन सधैं आफ्नो व्यक्तिगत जीवन गोप्य राख्ने नेतामध्ये पर्छन् । उनले रुसको ‘सिक्रेट फर्स्ट लेडी’सँगको आफ्नो कथित सम्बन्धलाई कहिल्यै स्वीकार गरेका छैनन् ।

वाल स्ट्रिट जर्नलको एक रिपोर्टका अनुसार पुटिनले यसलाई व्यक्तिगत आक्रमणको रुपमा हेर्न सक्ने भएका कारण अमेरिकी अधिकारी काबाएभामाथि प्रतिबन्ध लगाउन मानिरहेका छैनन् ।

यसले रुस र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धमा थप तनाव ल्याउन सक्ने भएकाले अमेरिकाले यसमा कदम अगाडि बढाएको छैन ।