कांग्रेसमा क्रियाशील सदस्यता 'इन्ट्री' गर्ने समयसीमा वैशाख १५ सम्म - Nepal Watch Nepal Watch

राजनीति

बैशाख ६, २०७८ सोमबार


कांग्रेसमा क्रियाशील सदस्यता ‘इन्ट्री’ गर्ने समयसीमा वैशाख १५ सम्म


काठमाडौं । नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’का लागि वैशाख १५ गतेसम्मको समयसीमा तोकेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेपामा सोमबार बसेका केन्द्रीय कार्यसमितिको बैठकले यस्तो समयसीमा तोकेको हो ।

वैशाख १५ गते राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने जानकारी पनि बैठकले गराएको छ ।

‘क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्रबमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजातसहित जिल्लाको प्रतिवेदन ०७८ वैशाख १७ गते ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ,’ बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस स्रोतले भनेको छ, ‘सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने छ ।’

यस्तै अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सदस्यहरुको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा ‘अन्य राजनीतिक दल समायोजन समिति’ को निर्णय अनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका) क्रियाशील सदस्यताका फारम वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पुरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नु पर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानविन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।

‘सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यताको प्रकृया सुरु नभएको एवम् बारा र सोलुखुम्बुमा केही समयअघि मात्रै प्रक्रिया सुरु भएको हुनाले ती जिल्लाका हकमा ०७८ वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा ‘इन्ट्री’ गरी सक्नु पर्नेछ,’ बैठकको निर्णयमा भनिएको छ ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन हठात् अन्त्य गरिएकोमा आपत्ति

सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अप्रत्याशित र हठात रुपमा अन्त्य गरेको बैठकको ठहर छ ।

वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका महत्वपूर्ण विषय रहेको अवस्थालाई नजरअन्दाज गरेर सरकारले संसदबाट भाग्ने काम गरेको विषयमा बैठकमा छलफल भएको छ ।

‘लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भत्र्सना गर्दछ,’ बैठकद्वारा पारित प्रस्तावमा उल्लेख छ ।

कोरोना नियन्त्रणका लागि विशेष कार्ययोजना बनाउन माग

बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

यस्तै विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र द्रुत अभियान सञ्चालन गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।

साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत अपिल गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका माइला भाइ एवम् नेपाली कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेललगायतको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको जनाएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया र कर्णबहादुर बुढाले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्