बगेको पानी नखाने तर फेरिएका राउटे - Nepal Watch Nepal Watch

विचार

बैशाख १०, २०७८ शुक्रबार


बगेको पानी नखाने तर फेरिएका राउटे


न भोलिको चिन्ता, न छाकको चिन्ता, न चोरको चिन्ता, न ज्यानको चिन्ता, न राज्यको चिन्ता, न राजाको चिन्ता, न सत्ताको चिन्ता केवल भत्ताको चिन्ताचाँहि रहेछ यहाँ । पहिले पहिले नयाँ मान्छे देख्यो भने भागेर लुक्ने राउटे बस्तीका बालबालिका अब पैसा माग्न दौडिंदा रहेछन् । कनीकुथी मात्रै नेपाली बोल्ने उनीहरुलाई बजारमा पाईने जंङ्गफुडहरु सबैको नाम थाहा छ । चाउचाउ, चुईङगम, बवलकम, चोकोफन, बिस्कुट, चकलेट आदिका नामहरु फटाफट लिन्छन् । यस्तै कुरा किनेर खानाको लागि पैसा चाहियो रे । सायद मानिसहरुको बस्ती नजिकै बस्न थालेकोले होला, मानिसहरुसंग नजिक भएका । र पसलहरु पनि नजिक भएको कारण किनेर खाने तौरतरिका पनि जानेका ।

गत चैतको पहिलो सातामात्रै शिवालय नगरपालिकाबाट राउटेहरुले भत्ता पाएका हुन् । हातमा पैसा आएपछि बस्तीमा रमाईलो माहोल बन्यो । बस्तीमा पाठा कुखुराहरु काटियो । दारु पानीको पनि राम्रै व्यवस्था भयो । राउटे बस्तीमा एक किसिमको भोज नै भयो । यो खुशी मनाउने क्रम लामो समय चल्यो । साँझमा बस्तीमा खानपिन चल्ने पनि पक्कापक्की थियो । किनभने बस्तीका मुखियासहित जान्ने सुन्ने तरुना तरुनीहरु बजार गएका थिए । बजारमा किनमेल राम्रै भईरहेको थियो । गंङ्गटे बजारमै पनि जिउँदा कुखुरा र मरमसलाहरुको खरिदारी थियो । राउटे महिलाहरु गंङ्गटेको पुल वारीपारीका पसलहरुबाट सामान किन्दै एक ठाँउमा थुपार्दै गरिरहेका थिए । यो सबै तयारी बेलुकाको लागि थियो ।

राउटेहरुलाई भेट्ने मेरो धोको गत चैतको पहिलो साता पूरा भयो । शाही थरका राउटे आफूलाई कल्याल र रासकोटी शाही (ठकुरी) थरले आफनो पहिचान देखाउँछन् । यी दुई थरी शाही एक अर्काका विहेवारी चल्ने कुटुम्ब हुन् । आफू पनि कल्याल शाही कै बुहारी भएको कारणले गर्दा राउटेसँग भेट्ने खुव ठूलो आकाँक्षा पहिलेदेखि नै बोकेकी थिएँ । बल्लबल्ल जुरेको मौकामा पनि राउटेबस्तीमा जाँदा मैले चाहेको जस्तो माहोल पाउन सकिनँ । कती कुरा जान्ने इच्छा हुँदा हुँदै पनि टुलुटुलु हेरेर फर्किने अबस्था निम्तियो त्यहाँ । किनभने हामी भेटिनासाथ पैसा माग्ने काम शुरु भयो उनीहरुबाट ।

मुखियालाई भेटेनौं । तिम्रो जिम्मा लगाउँछौं । सबै घरमा बराबर गरेर बाँड्नुपर्छ । सक्छौ ? उनले हाम्रो शर्तलाई सहजै स्वीकारिन् ।

तर राउटेहरुको बारेमा मैले सुनेको र कल्पना गरेको भन्दा प्रत्यक्ष भेट्दा धेरै फरक पाएँ । फेरि राउटे बस्तीका मुखिया पनि भेटिएनन् । अघिल्लो दिन भत्ता पाए पछि बजार तिर किनमेलका लागि निस्केका रहेछन् । सामाजिक संजालमा भाइरल भएकी राउटे सुन्दरी सम्झना शाहीलाई पनि भेट्न सकिएन । उनलाई नभेटे पछि उनका मंगेतरलाई भेट्न खोजें । उनी पनि भेटिएनन् । दलबहादुर शाही र गोविन्द शाहीसँग भेट भयो । यी दुबै जना एक अर्काका कुटुम्ब रहेछन् । दलबहादुर शाही रासकोटी र गोविन्द शाही कल्याल । दुबैजनाको मुखबाट कडा दारुको गन्ध आईरहेको थियो । दुबै जनाको बोलीमा जिब्रो पनि लरवरिएको थियो । पहिला त नेपाली भाषा बोल्न नआएर यसो भएको होला भन्ने लाग्यो तर कारण अर्कै रहेछ । नाताले दुईजना ज्वाई जेठान । करिब एक घण्टा जति उनीहरुसँगसँगै राउटे बस्ती डुल्यौं ।

सीता शाही सुत्केरी भएकी थिइन् । उनको बच्चा करिब एक महिना जतिको अनुमान गर्न सकिन्थ्यो । बच्चालाई कपडाले बेरेर घर भित्र सुताएर हामी भएको ठाँउ तिर आइन् । हामीले राउटे बस्तीका ेलागि भनेर केही खानेकुरा लिएर गएका थियौं । मुखिया नभेटेपछि कसको जिम्मामा दिने भन्ने पिर थियो । दलबहादुरले मेरो जिम्मामा देउ, म सबैलाई बरावर हुने गरी बाँड्छु भन्थे । तर हामीले उनलाई दिने की नदिने दोधारमा भएको बेला सीतालाई भेट्दा खुशी पनि लाग्यो । उनले हामीलाई त्यति ध्यान दिएकी थिइनन् । मैले उनलाई बोलाएँ । आउन मानिनन् । मैले हामीसँग भएको खानेकुरा देखाएर बोलाए पछि आइन् । उनी भद्र देखिन्थिन् । अनि मैंले भने, हामीसँग भएको यो सामान तिमीहरु कै लागि ल्याएका हौं । मुखियालाई भेटेनौं । तिम्रो जिम्मा लगाउँछौं । सबै घरमा बराबर गरेर बाँड्नुपर्छ । सक्छौ ? उनले हाम्रो शर्तलाई सहजै स्वीकारिन् । हामीले पनि उनको जिम्मामा लगाईदियौं । आज्ञाकारी जस्तै भएर सामान लिइन् । उनीहरुसँग फोटो पनि खिच्यौं ।

चार महिना एक ठाँउमा बसिसकेपछि उनीहरु बसाई सर्छन् । अर्काे जंगलको कुनै ठाउँ (उनीहरु पायक पर्ने र सुरक्षित लाग्ने) उनीहरुको रोजाई हुन्छ ।

हामी बस्तीमा यताउता हेर्दै थियौं, सीताले आफ्नो काम अगाडि बढाईहालिन् । सामान बोकेर सबै घर घरमा गएर बाडिन् उनले । हामी त्यही हुँदा नै उनले सबै घरमा बाँडिसकिन् । उनी हाम्रो निगरानीमा थिइन् । इमान्दारीपूर्वक उनले आफ्नो काम सकिन् । यो सबै हामीले पनि देखिरहेका थियौं । उनलाई धन्यवाद भन्न मन लाग्यो मलाई । म संगै भएकी एउटी नानीलाई सीता दिदीलाई बोलाएर ल्याउ भनी अह्राए । तर उनले टेरिनन् । बुझिनन् की भनेर मैले फेरि भने, टेरिनन् । अर्काे एउटा रपैयाँ थपिदिन्छु भने पछि केही नबोलेर गईन् र केही बेर मै सीतालाई पनि लिएर आईन् ।

मैले सोधें, सीता बहिनी, सबै घरलाई बाड्यौ ? उनले भनिन्, बाँडे । उनी ज्ञानी र आज्ञाकारी थिइन् । मैले खल्तीबाट एक सय रुपैयाँ झिकेर यो तिम्रो राम्रो काम गरे वापतको पुरस्कार हो भनें । उनले हुन्छ भन्दै सहमतिमा टाउको हल्लाइन् र पैसा समातेर केही नबोली आफ्नो बाटो लागिन् । सीतालाई बोलाएर ल्याउने नानी मलाई हेरिरहेकी थिइन् । उनलाई पनि अर्को एउटा दश रुपैयाँको नोट दिएँ ।

मंसिर महिनामा गंङ्गटेको चिङ्गारमा आएको राउटे समूह सरकारबाट पाउने भत्ताको पर्खाइमा थियो । लगभग चार महिनाको अवधि उनीहरुका लागि एक ठाँउमा बस्ने समय हो । चार महिना एक ठाँउमा बसिसकेपछि उनीहरु बसाई सर्छन् । अर्काे जंगलको कुनै ठाउँ (उनीहरु पायक पर्ने र सुरक्षित लाग्ने) उनीहरुको रोजाई हुन्छ । अब यहाँबाट उनीहरु गुमे भन्ने ठाउँमा जाने तय भइसकेको छ । अब त उनीहरुले सरकारी भत्ता पनि पाईसके । प्रति व्यक्ति बाह्र हजार रुपियाँ पाएको रे । सायद यो छ महिनाको भत्ता हो ।

राउटेहरु बग्ने खोलाको पानी कहिले पनि नखाने रहेछन् । उनीहरुलाई पानी खानलाई मूल नै चाहिने रहेछ । पढाई लेखाई गर्न र मानिसले बनाई दिएका घरमा बस्न उनीहरु अझै तयार छैनन् ।

यहाँ बजार पनि नजिक छ । सबै किसिमका सरसामानहरु किन्न पनि पाईने । आजकाल राउटेहरुलाई पनि दारुको मोह बढ्दै गएको रहेछ । दारु खान पाउँदा सबै जना खुशी । महिला, पुरुष, साना, ठूला नभनी समानताको आधारमा सबैले दारु पिउँदा रहेछन् । तर बजारबाट मासु किन्दा मारेको मासु भने नकिन्ने रहेछन् । जिउदै किनेर ल्याएर आफैले मारेर खाने चलन अहिलेसम्म पनि उस्तै रहेछ । पैसा पाउँदा भाेिलको लागि बचाएर राखौं भन्ने सोच राउटेमा रहेनछ । पाएको खाईहाल्ने र सकिहाल्ने भन्ने उनीहरुको शैली रहेछ । अघिल्लो दिन राती त रक्सीले मातेर राउटे बस्तीमा झगडा भयो रे । मातेको तालमा बन्चरोले हिर्काउँदा टाउको फुटेको रे । उपचारको लागि मुखियाले अस्पताल लिएर गएको कुरा दलबहादुरले सुनाउँदै थिए ।

खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको भएता पनि राउटेहरुले आफू बसेको ठाउँलाई दिशायुक्त बनाएका रहेछन् । राउटे बस्तीमा छिर्दै गर्दा मलाई मेरो कर्मस्थलतिरको उहिलेको सम्झना आयो । हुन त यिनीहरुमा एकथरी हाम्रै गोत्यार रहेछन् र अर्काे एकथरी कुटुम्ब पनि । राउटेहरु पहिला जस्तो आफ्नै नियममा अडिग छैनन् । मुखियाको कुरा मान्ने पर्ने हुनाले मुखियाको कुरा काट्न नसक्ने रहेछन् । उनीहरुमा पनि धेरै परिवर्तन त आईसकेको पाइयो । महिलाहरुले जिउ छोप्न जानेका छन् । अहिले गोडामा चप्पल र शिरमा टोपी लगाउन थालेका रहेछन् । सबै जनाले नेपाली बोलेको बुझ्छन् । दोहोरो फर्काउछन् पनि । बाहिरी मानिसहरु आए कुरा गर्न तयार हुन्छन् । डराउँदैनन् । पैसा नछुने उनीहरु अहिले पैसा मागी मागी लिने भएका छन् ।

तर राउटेहरु बग्ने खोलाको पानी कहिले पनि नखाने रहेछन् । उनीहरुलाई पानी खानलाई मूल नै चाहिने रहेछ । पढाई लेखाई गर्न र मानिसले बनाई दिएका घरमा बस्न उनीहरु अझै तयार छैनन् ।

शाही कर्णाली प्रदेश लोकसेवा आयोग सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्