NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रको हक पनि ७० प्रतिशत नै छ : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा ७० प्रतिशत निजी क्षेत्रको योगदान रहेकाले निजी क्षेत्रको हक अधिकार पनि ७० प्रतिशत नै रहेको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले त्यही ७० प्रतिशत मिलेर नै अर्थतन्त्र बन्ने बताएका हुन् ।

निजी क्षेत्रका लागि कानुनी तथा नितिगत समस्या भए एक दुई तीन गरेर सुझाव दिन उनले माग गरेको छन् । प्रशासनिक समस्या पनि भए समाधानका लागि बजेटमा समेट्ने उनले बिश्वास दिलाए । राज्यले नीति नियमनलाई समय अनुकुल सुधार गर्नुपर्ने उनले बताए । वैदेशिक लगानी भित्र्याउन ३ वटा प्रोजेक्टलाई ल्याए पुग्ने मन्त्री शर्माले बताए । उनले भने, ’वैदेशिक लगानी भित्र्याउन ३ वटा बिदेशी प्रोजेक्ट ल्याए पुग्छ । ऋृण थपिने गरि लगानी भित्र्याउन भन्दा पनि ऋृण तिर्न गरि वैदेशिक लगानी ल्याउनुहोस् । सरकारले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्छ ।’

औद्योगिक बिस्तार गर्नका लागि सरकारले जग्गा उपलब्ध गराउने मन्त्री शर्माले बताए । ५० बर्षका लागि जग्गा आवश्यक पर्छ भने पनि सरकारले ब्यवस्थापन गर्ने मन्त्री शर्माले बताए । अहिलेको संकट समाधान गर्ने मुख्य आधार भनेको उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताए । जसको लागि कृषिमा आधारित कच्चा पदार्थ उत्पादन गर्नुपर्ने उनले बताए । हालसम्म कृषिमा भएको आयातलाई कृषिमा लगानी गर्न उनले आग्रह गरे । अहिले भैरहेको लोडसेडिङको समस्या आजभोलि नै समाधान गर्ने उनले दाबी गरे । जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएकोले लोडसेडिङ गर्नुपरेको उनको भनाइ छ ।

त्यस्तै शर्माले अहिले मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानी बढ्ने क्रममा रहेको समेत बताए । ३/४ वटा प्रोजेक्टमा वैदेशिक लगानी आउन लागेको समेत उनले जानकारी दिए । सरकारले यसमा सहजीकरण गर्ने उनले बताए । खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै अर्थमन्त्री शर्माले कृषिमा रुपान्तरण जरुरी रहेको बताए । बाँझो जमिन राख्नै नहुने भन्दै उनले उत्पादनमा सरकारले जोड दिने बताए ।

उत्पादनमूलक उद्योगका विद्युतको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी उनले गराए । आफ्नो गर्नुपर्ने काम गर्न सरकार तयार रहेको भन्दै उनले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।