NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

दोषीलाई कारबाहीको प्रतिबद्धतापछि पोखरा–बाग्लुङ राजमार्ग खुल्यो

कास्की । सवारी दुर्घटनामा एकाघरका दुई जनाको मृत्यु भएपछि आक्रोशित पीडितका परिवारले आज बन्द गराएको पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आइतबार बिहान कारको ठक्करबाट मोटरसाइकल चालक कुश्मा नगरपालिका–४ का ४५ वर्षीय जितबहादुर पुनको आज उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा र उनकी छोरी १८ वर्षीया सविनाको अस्पताल ल्याउँदै गर्दा आइतबार मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारवाही हुनुपर्ने मागसहित राजमार्ग बन्द गराएका थिए ।

पीडितले राजमार्गको याम्दीपुलमा सडकमा बसेर सवारी आवागमन अवरुद्ध गरेर बाटो बन्द गरेकामा अहिले सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार प्रहरीले घटनामा सङ्लग्नलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउने र घटनाको अनुसन्धानको प्रतिबद्धतापछि राजमार्गको अवरोध हटाउन पीडित पक्ष सहमत बनेका हुन् ।

मृतकका परिवार तथा आफन्तहरुले दुर्घटनामा सङ्लग्न कार चालकलाई अविलम्ब पक्राउ गरी कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । दुर्घटना गराउने कारका चालक हालसम्म फरार रहेको बताइन्छ । यसअघि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीअगाडि पनि विरोध प्रदर्शन गरेका थिए । पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरातर्फ आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।