कञ्चनपुरको महाकाली अस्पतालमा थप ३ संक्रमितको मृत्यु - Nepal Watch Nepal Watch

कभर न्यूज

बैशाख १६, २०७८ बिहीबार


कञ्चनपुरको महाकाली अस्पतालमा थप ३ संक्रमितको मृत्यु


कञ्चनपुर । सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुधबार राति २ जना र बिहीबार बिहान १ जनाको मृत्यु भएको हो ।

बुधबार राति मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका-१ का ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय पुरुष छन् । भीमदत्त-१८ का ३६ वर्षीय महिलाको भने बिहीबार बिहान मृत्यु भएको हो ।

दोधारा चाँदनीका पुरुषलाई केही दिनअघि भारतबाट फर्किंदा गड्डाचौकी नाकामा गरिएको एन्टेजिन परीक्षणमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । बुधबार बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पतालको आईसीयूमा भर्ना गरिएकोमा बेलुका उनको मृत्यु भएको हो ।

अर्का पुरुष रक्त क्यान्सरका बिरामी हुन् । बुधबार बिहान रगत चढाउन आएका उनलाई संक्रमण देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो । भीमदत्त-१८ की महिलालाई भने वैशाख ११ मा अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि बुधबारदेखि उनको पनि स्वास्थ्य अवस्था नाजुक बनेको थियो ।

हाल महाकाली अस्पतालमा ६० संक्रमितको उपचार भइरहेकोमा ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्