NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विश्वकै पुरानो लोकतन्त्र संकटमा : अमेरिकी संसद भवनमा ट्रम्पका समर्थकहरुको हिंसात्मक प्रदर्शन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकहरुले प्रदर्शन गरेका छन् । बुधबार दुनियाँकै ठूलो लोकतान्त्रिक देशमा संकट देखिएको थियो । अमेरिकाको वाशिङ्टनस्थित अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा अमेरिकी कांग्रेसले इलेक्ट्रोल कलेजको बारेमा बहस गरिरहेको थियो । उक्त बहसपछि अमेरिकाका आगामी राष्ट्रपतिका रुपमा निर्वाचित जो बाइडेनको जीतलाई आधिकारिक तथा कानुनी रुपमा पुष्टि हुँदै थियो । तर, त्यसअघि नै अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकहरुले प्रर्दशन सुरु गरे । ट्रम्पका समर्थकहरुले क्यापिटल बिल्डिङ भित्र परेर अमेरिकी राष्ट्रपतिको चुनाव रद्द गर्न माग गर्न थाले । यसैबीच उनीहरु हिंसात्मक भएपछि अमेरिकाका सुरक्षाकर्मीले कदम चाल्नु परेको थियो । बेलायती सञ्चारमाध्यम डेली मेलको एक रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा भएको प्रदर्शनमा एक महिलालाई गोली लागेको छ । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको उक्त रिपोर्टमा जनाइएको छ । क्यापिटल बिल्डिङमा गोली चलेको आवाज पनि सुनिएको थियो । रिपोर्टका अनुसार क्यापिटल बिल्डिङ नजिकै विष्फोटक सामग्री पनि पाइएको छ । ट्रम्पका समर्थकहरु क्यापिटल बिल्डिङमा प्रवेश गरेको बेला अमेरिकी सांसदहरुलाई ‘ग्यास मास्क’ लगाउन भनिएको थियो । किनकी प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीहरुले अश्रु ग्यास छाड्नु पर्यो । वाशिङ्टनमा कफ्र्युको घोषणा हिसांत्मक प्रदर्शन भएपछि क्यापिटल बिल्डिङलाई अहिले कडा सुरक्षा र निगरानीमा राखिएको छ । सँगै अमेरिकी राजधानी वाशिङ्टनमा कफ्र्यु लगाउने घोषणा पनि भएको छ । अमेरिकी अधिकारीका अनुसार कफ्र्यु बिहीबारसम्म लाग्नेछ । ट्रम्पले उस्काएका थिए प्रदर्शनकारीलाई अमेरिकी संसद भवनभित्र प्रदर्शनकारी प्रवेश गरेपछि सुरक्षाकर्मीहरुले प्रतिनिधिसभा भवन र सिनेटलाई खाली गराए । यसैबीच ट्रम्पका समर्थकहरुले आफूले चुनाव जितिसकेको भन्दै नारा लगाउन थालेका थिए । प्रदर्शन हुने दिन दिउँसो ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका थिए । उनले समर्थकहरुलाई क्यापिटल बिल्डिङतर्फ ‘मार्च’ गर्न अपिल गरेका थिए । तर, जब आफ्ना समर्थकहरुलाई हिसांत्मक भएको देखे, तब ट्रम्पले सुरक्षाकर्मीलाई सहयोग गर्न र शान्तीपूर्ण रुपमा बस्न आग्रह गरेका थिए । उनले भने, ‘म अमेरिकाको राजधानीमा रहेका हरेक व्यक्तिलाई शान्त रहन अपील गर्छु । हामी कानुनलाई पालना गर्ने पार्टी हौं ।’ बाइडेन भन्छन्– ट्रम्पले संविधानको रक्षा गरुन क्यापिटल बिल्डिङमा भएको घटनाकै बीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय टेलिभिजनमा आएर सम्बोधन गर्न अनुरोध गरेका थिए । सँगै उनले लिएको शपथ र संविधानको रक्षा गर्न अनुरोध गरेका थिए । बाइडेनले ट्रम्पलाई अहिले भइरहेको घटनालाई अन्त्य गर्न अपील गरे ।