NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जाकार्ताबाट उड्नेवित्तिकै हराएको जहाजको दुर्घटनास्थल भेटियो

एजेन्सी । शनिवार इयन्डोनेसियाको राजधानी जाकार्ताबाट उड्नेवित्तिकै हराएको श्रीविजय एयरको बोइङ ७३७ विमानको दुर्घटनास्थल फेला परेको छ । इन्डोनेसियाका अधिकारीका अनुसार जहाज उड्नेवित्तिकै इन्डोनेसियाको टुरिस्ट टापु नजिकै समुन्द्रमा दुर्घटनाग्रस्त भएको पत्ता लागेको हो । शनिवार कालिमान्तान प्रान्तस्थित पोन्टिआनकका लागि उडेको ६२ जना यात्रुसवार उक्त जहाज उडेको चार मिनेटमै रडारको सम्पर्कबाट गायब भएको थियो । आइतबार जहाजकोे सिग्नल भेटिएको त्यहाँका अधिकारीले जनाएका छन् । ‘हामीले दुई बिन्दुमा जहाजको संकेतहरु भेट्यौं, यो ब्ल्याक बक्स हुन सक्छ,’ इन्डोनेसियाका खोज तथा उद्वार एजेन्सीका प्रमुख बागुस परुहितोले भने । हाल दशवटा भन्दा पानीजहाजलाई दुर्घटनास्थलमा परिचालन गरिएको छ । दुर्घटनास्थलमा खटिएका अनुसन्धानकर्ताहरुले त्यहाँ भेटिएका वस्तुहरु विमानको हुन सक्ने विश्लेषण गरिरहेका छन् । उनीहरुका अनुसार विमानको फ्यूलेजको केही हिस्सा पनि फेला परेको छ । जकार्ता प्रहरीका प्रवक्ता युस्री युनुसका अनुसार खोजी र उद्धार एजेन्सीबाट दुई थैलीहरू प्राप्त भएको थियो । ‘पहिलो झोलामा यात्रुको सम्पत्ति थियो, अर्को झोलामा शरीरका अंगहरू थिए,’ उनले पत्रकारलाई भने, ‘हामी अझै यी खोजी गर्दै छौं ।’ उक्त जहाज शनिवार स्थानिय समय २ बजेर ३६ मिनेटमा जाकार्ताबाट उडेको थियो । उडेको ४ मिनेटसम्म मात्रै उक्त विमान अन्तिम पटक रडारको सम्पर्कमा थियो । परुहितोका अनुसार विमानले समस्याको संकेत पनि पठाएको थिएन । प्रत्यक्षदर्शीले आफूले कम्तीमा पनि एक पटक विस्फोटको आवाज सुनेका बताएका छन् । एक प्रत्यक्षदर्शीले जहाज दुर्घटना भएको देखेको बताउँदै क्ययाप्टेनले अवतरण गर्न खोजेको बताए । समुन्द्रमा डुंगा चलाउनेले जहाज विजुली चम्किएजसरी चम्किएर समुन्द्र भित्र विस्फोट भएको बिबिसीलाई बताएका छन् । जहाजको प्लाइवुडले झन्डै आफ्नो डुंगामा लागेको उनले बताएका छन् ।