NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

रानीपोखरीबाट लेउ निकालिँदै

काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनर्निर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ सुरु गरेको हो । पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि कामपाले नगर प्रहरीको सहयोगमा सफा गर्न थालेको हो । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले दैनिक २० नगर प्रहरीको सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए । उनले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुनर्निर्माणपछि हस्तान्तरण भइसकेको छैन । यद्यपि पोखरी हाम्रै क्षेत्राधिकारभित्र पर्ने भएकाले लेउ हटाएका हौँ ।’ पोखरीमा पानीको मात्रा घट्दै गएकाले पनि थप समस्या भएकाले पानी भर्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । पुनर्निर्माणपछि पोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको थियो । अहिले करिब दुई करोड लिटरको हाराहारीमा मात्र पानी छ । कामपाले पोखरीको पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको भन्दै माछा हालेर पनि सफा र सुन्दर राख्न सकिने विकल्प देखाएको छ । गोरखा भूकम्पका कारण क्षति भएको रानीपोखरीको गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको थियो । यस सम्पदा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले पुरानै शैलीमा पुनर्निर्माण सम्पन्न गरेको हो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनर्निर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा सो पोखरी बनाएका हुन् । पोखरीको निर्माण विसं १७२५ मा सम्पन्न भएको थियो । विसं १७२७ मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।