यो र त्यो नभनी सबै उमेर समूहका व्यक्ति संक्रमणको जोखिममा छन् : डा. शेरबहादुर पुन - Nepal Watch Nepal Watch

अन्तर्वार्ता

बैशाख १९, २०७८ आईतबार


यो र त्यो नभनी सबै उमेर समूहका व्यक्ति संक्रमणको जोखिममा छन् : डा. शेरबहादुर पुन


पछिल्लो समय नेपालमा कोभिड १९ को संक्रमण तीब्र गतिमा फैलिरहेको छ । संक्रमितहरुको संख्या दैनिक ६ हजारको हाराहारीमा पुग्न थालेको छ । संक्रमित अत्यधिक बढ्दै जाँदा उपचारका लागि अस्पतालहरुमा शैय्या पाइन छाडेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै भाइरसको तीब्र संक्रमणको यो अवस्थालाई भयावह भनिसकेको छ । मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै आफैं सचेत हुन पनि सरकारले आह्वान गरिसकेको छ ।

यो परिपेक्ष्यमा नेपालमा अहिले कोरोना भाइरसको संक्रमण अवस्था, यसको जोखिम, भाइरसको बदलिँदो स्वरुप, जोगिने उपाय लगायतका विषयमा केन्द्रित रहेर नेपालवाचले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिफ मेडिकल अफिसर डा. शेरबहादुर पुनसँग कुराकानी गरेको छ । प्रस्तुत छ पुनसँगको अन्तर्वार्ता :

नेपालमा अहिले देखिएको दोस्रो लहरको संक्रमण कस्तो हो ?

यसलाई धेरैले पहिलो लहरसँग तुलना गरेर पनि हेरिरहेका छन् । तर, यो त्यति सहज र सामान्यजस्तो छैन । छोटो समयमा धेरै मानिसलाई अस्पताल भर्ना गर्नुपरेको जस्तो स्थिति छ ।

पहिला बालबालिकहरूलाई भर्ना गर्नुपर्ने थिएन । तर, अहिले बालबालिका पनि कोभिडकै कारण भर्ना हुनुपरेको अवस्था छ । छोटो समयमै धेरैलाई संक्रमित बनाउनु र यति छिटो अस्पताल भरिभराउ गराउनुले यो पटक अलि बढी आक्रामक हो भन्न सकिन्छ ।

संख्यात्मक हिसाबले भारतमा संक्रमित धेरै देखिए पनि नेपालको संक्रमण दर उच्च हो भनिएको छ, अन्य मुलुकसँगको तुलनामा नेपालको संक्रमण कस्तो देखिन्छ ?

भारत आफैंमा ठूलो देश भएका कारण संख्या ठूलो देखिएको हो । हाम्रोमा परीक्षण धेरै भएको छैन । यद्यपि, १० जनाको परीक्षण गर्दा पाँच जनामा पोजेटिभ देखियो भने त्यो ५० प्रतिशत हो । सयको परीक्षण गर्दा ५० मा देखिए पनि त्यो ५० प्रतिशत हो । त्यसकारण परीक्षण कम भएको अवस्थामा पोजेटिभ बढी देखिए पनि त्यसको प्रतिशत त धेरै हुने नै भयो ।

भारतमा लाखौंको संख्यामा परीक्षण भइरहेको छ । यसको तीब्रता पहिलाभन्दा बढेकै हो । तथ्यांक जति ग¥यो त्यतिमै आकलन गरिने भएकाले वास्तविकतामा अझै बढी या कम होला भन्ने लाग्छ ।

अहिलेको भाइरस विगतको भन्दा के हिसाबमा फरक छ ? जस्तो युके भेरियन्ट भनिएको छ, डबल म्युटेन्ट भनिएको छ ? नेपालको कस्तो प्रकृतिको हो ? दुवैको अस्तित्व छ कि कुनै एकमात्र ?

केही समयअघि युके भेरियन्ट र डबल म्युटेन्ट नेपालमा छ भनेर भनियो । त्योबाहेक ब्राजिलियन, दक्षिण अफ्रिकी, ट्रिपल भेरियन्ट या अझै पछिल्लो भेरियन्टको पनि अस्तित्वको कुरा आइसकेको छ । अथवा कुनै नेपाली भेरियन्ट पनि जन्मिसकेको हुन सक्छ । किनभने नेपालमा पनि एक वर्षसम्म त भाइरसले चक्कर काटिसकेको छ ।

भाइरसमा स्वभाविक रुपमा आनुवांशिक परिवर्तन (म्युटेसन) हुन्छ । त्यसकारण नेपालमा पनि ‘सिक्वेन्सिङ’ गरेर हेरियो भने नभेटिएला भन्न सकिँदैन । भारतमा देखिएको छ भने नेपालमा पनि लगभग आइसक्यो भन्ने अनुमान गर्न सकिन्छ ।

कोरोना भाइरसको युके र डबल म्युटेन्टमात्रै हैन, अन्य भेरियन्ट पनि नेपालमा जन्मिसकेका हुन सक्छ । योवाहेक अरु पनि छ जस्तो लाग्छ । किनभने हामीले धेरै भोगिसकेका छैनौं । नभोगेकै कारण थाहा हुने कुरा पनि भएन । तर, नेपालमा अहिले कुनचाहिं स्वरुप छ भन्नेबारे ‘सिक्वेन्सिङ’ मार्फत अनुसन्धान भइसकेको छैन ।

तीब्र गतिमा संक्रमण फैलिएकोमात्र छैन, सक्रिय संक्रमित पनि बढी छन्, मृत्यु पनि बढेको छ । त्यो हिसाबमा यो भाइरस कति घातक छ ?

भाइरस कति घातक भनेर ठोकुवा गरेर भन्न प्रमाणित हुनुपर्छ । तर, यसले मृत्युदर भने बढाउँछ भनेर भन्न सकिन्छ ।

संक्रमितहरु अत्यधिक बढे वा तिनिहरु अस्पताल भर्ना हुनुपरेमा स्वास्थ्य क्षमताले धान्न नसक्ने स्थिति आउँछ । यसो हुँदा भएका जनशक्तिले पनि पुग्दैन । नेपालमै पनि एक वर्षको तुलनामा स्वास्थ्य क्षेत्रमा खासै जनशक्ति थपिएको छैन । त्यसकारण बचाउन सकिने संक्रमितले अस्पतालमा ठाउँ पनि नपाउने अवस्थाका कारण ज्यान गुमाउन सक्छन् ।

यसले स्वभाविक रुपमा भाइरसका कारण मृत्यु हुने सम्भावना बढेर जाने नै भयो । त्यसकारण मेरो चिन्ता संक्रमित हुनु भन्दा पनि अस्पताल भर्ना हुनेको संख्या बढ्नुमा छ । जुन पहिला थिएन । युवाहरू संक्रमित भएपनि अस्पताल भर्ना हुनुपर्ने स्थिति थिएन । तर, अहिले अवस्था उल्टो भएको छ ।

भाइरस आफैंमा कडा हुनु समस्या होइन, धेरै भन्दा धेरै संक्रमितको संख्या बढेर उपचार नपाउनुचाहिं समस्या हो ।

सुरुमा चीनको वुहानमा देखिएको कोभिड भाइरस र अनुवांशिक परिवर्तन हुँदै करिब डेढ वर्षपछिको अवस्थामा आउँदा यी भाइरसको सक्रियता, शक्ति र फैलावटमा कति अन्तर छ ?

वुहानमा पनि गएको वर्ष कोरोना भाइरस देखिएको थियो । त्यतिबेला हजारौंले ज्यान गुमाए भने लाखौं संक्रमित भए । त्यस्तै, इटालीमा पनि धेरैको मृत्यु भएकै हो । स्पेन, फ्रान्सको पनि अवस्था त्यस्तै थियो ।

पहिलो लहरमा भारत त्यति धेरै प्रभावित भएको थिएन । तर, अहिलेको दोस्रो लहरमा छोटो समयमै धेरैजना संक्रमित हुने र अस्पतालमा भर्ना हुनका लागि ठाउँ नपाउने स्थिति बढ्यो । त्यही ठाउँ नपाएर मृत्युको मुखमा पुग्नुप¥यो ।

चीनको वुहानबाट भारतसम्म आउँदा पक्कै पनि भाइरसको स्वरुप परिवर्तन भइसकेको छ । भाइरसले आफूलाई परिवर्तन गर्दै यहाँसम्म आउँदा झनै बढी संक्रामक भएको पाइएको छ । नेपालमा अझै हेर्न बाँकी छ । वुहानबाट सुरु हुँदै भारत र यहाँ आउँदा खासै ठूलो समस्या ल्याएन जस्तो लाग्छ । भर्खरको नयाँ म्युटेन्टले अलि बढी उदण्ड मच्चाएको जस्तो देखिन्छ ।

भारतकै जस्तो अवस्था हाम्रोमा पनि नदेखिएला भन्न सकिन्न । यो बडा चिन्ताको विषय हो । थप पहल गरेनौं या यसको रोकथामका लागि केही गरेनौं भने पक्कै पनि यसले विकराल रुप लिन्छ ।

खोप लगाएकामा पनि फाट्टफुट्ट संक्रमण देखिएको छ, खोपको प्रभावकारिता कम हो ?

यसबारे हामीले सुरुदेखि भन्दै आएका छौं । खोप शतप्रतिशत होइन । यसको मतलव नै खोप लगाएका केही प्रतिशत मानिसलाई संक्रमण हुन सक्छ भन्नु हो । कोभिडविरुद्धको मात्रै नभएर कुनै पनि खोपले शतप्रतिशत रक्षा गर्दैन ।

यो भाइरसले कुन हदसम्म आफूमा आनुवांशिक परिवर्तन गर्न सक्छ र अस्तित्वमा रहिरहन्छ ?

यो भन्दा अघि पनि सन् २००२ मा सार्स भन्ने भाइरस चीनमा देखिएको हो । त्यो भाइरस केही वर्षपछि आफैं हरायो । कोरोना भाइरस कति लामो समय जान्छ भन्ने त्यसै अनुमान गर्न सकिदैंन ।

उदाहरणका लागि स्वाइन फ्लू हरेक सिजनमा देखिन्छ । जब कि त्यसले पनि २००९ मा महामारीकै रुप लिएको थियो । फेरि त्यसको दश वर्ष पछि २०१९ मा नयाँ महामारी आयो । त्यो अहिलेसम्म पनि मौसमी फ्लूकै रुपमा छ ।

कोरोना भाइरस सार्सजस्तै हराएर जान्छ कि, या स्वाइन फ्लूजस्तै हुन्छ भन्ने अनुमानमात्रै गर्न सकिन्छ । भाइरसको आनीबानी पछि के होला भनेर ठोकुवा गरेरै भन्न सकिन्न । धेरैले यो अझै लामो समय जान्छ भनेर अनुमान गरेका छन् ।

कोभिडले अब एकसरो सबैलाई संक्रमित गराउँछ, र यसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्नुबाहेक यसलाई परास्त गर्ने अन्य उपाय छैन पनि भनिन्छ, के यस्तै नै हो ?

त्यसलाई ‘हर्ड इम्युनिटी’ पनि भनिन्छ । यो यसअघि खुब चर्चामा पनि आयो । तर, त्यो भन्दै गर्दा केही देशहरूलाई बिर्सन हुँदैन । स्वेडेनमा पनि यस्तै सोचियो । एक पटक सबैलाई लाग्छ त्यसपछि हराउँछ भन्दै गर्दा त्यहाँ मान्छे मर्ने क्रम रोकिएन । जसले गर्दा देशमा लकडाउन गर्नुपर्ने भयो ।

त्यसले गर्दा ‘हर्ड इम्युनिटी’ मा पनि भर गर्न सकिने अवस्था छैन ।

ब्राजिलको एक शहरमा पनि सात महिना अघि धेरै भन्दा धेरै मानिस संक्रमित भए । त्यहाँ पनि अब फर्किदैंन भन्ने अनुमान गरियो । तर, त्यसको चार महिना पछि भयावह अवस्था आयो ।

त्यसकारण खोप नलगाएसम्म समस्या भइरहन सक्छ भनेर खोप नै निर्विकल्प उपाय हो भन्ने निष्कर्षमा वैज्ञानिकहरू पुगिसकेका छन् ।

सुरुमा युवा तथा बालबालिकामा खासै नदेखिएको संक्रमण अहिले ती उमेर समूहमा किन देखिँदैछ ?

यसको उत्तर त्यति सहज छैन । ठिक यसैलाई मात्रै किन भयो भनेर भन्नका लागि अनुसन्धान नै हुनपर्छ । तर, एउटा कुरा चाहिं पक्का हो, पहिला भन्दा यो स्वरुप फरक छ ।

अहिले देखिएका भाइरसले युवा र बालबालिकामा पनि आफ्नो प्रभाव जमाउन सक्ने जस्तो देखिन्छ ।

म्युटेसन हुँदा भाइरसको स्वभावमा पनि परिवर्तन आउँछ । सुरुको चरणमा हामीले पनि ६० वर्ष कटेका र दीर्घरोगीहरू भनेर तर्क गरेका थियौं । त्यो तर्कलाई अहिलेको स्वरुपले परिवर्तन गरेको देखिन्छ । यो र त्यो उमेर नभनी सबै उमेर समूहका व्यक्ति संक्रमणको जोखिममा छन् ।

भाइरसको स्वभावमा परिवर्तन भएर यस्तो भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । किनभने नेपालमै पनि डबल म्युटेन्ट, यूके भेरियन्टहरु निषेधाज्ञा हुनु भन्दा अघि नै प्रवेश गरिसकेको हुनपर्छ । त्यसको राम्रो अध्ययन अनुसन्धान हुनुपर्छ ।

अहिले देखिएकोलाई दोस्रो लहर भनिएको छ, पुनः अर्को लहर अथवा तेस्रो वा त्यसमाथि जान्छ कि जाँदैन ?

भाइरसले यो वातावरणमा आफूलाई कतिको परिवर्तन गर्न सक्छ भन्नेमा पनि भर पर्छ । भाइरसले जति फैलिने वातावरण पाउँछ त्यत्ति म्युटेसन हुन्छ । त्यसले गर्दा म्युटेसन भइरह्यो भने तेस्रो या चौथो लहर पनि आउला । तर, त्यसलाई फैलिन नदिने र म्युटेसन हुन नदिने अवस्था आयो भने नियन्त्रणमा आउन सक्छ ।

कोभिड १९ को संक्रमण गतिलाइ कसरी टुटाउन सकिएला ?

तत्कालको लागि संक्रमण नियन्त्रण गर्नका लागि भाइरसलाई फैलिन नदिनु नै हो । जति फैलियो त्यत्ति नै म्युटेसनको सम्भावना हुन्छ । सकारण धेरै भन्दा धेरैलाई कोरोना विरुद्धको खोप लगाइदिन पाए संक्रमण फैलिनबाट रोकिन्थ्यो । यसबाट नयाँ म्युटेसन हुने या भाइरसको स्वरुप फेरिने सम्भावना धेरै हदसम्म कम हुन्थ्यो भन्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्