NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पिसीआर रिपोर्टमा गडबडी भएपछि वायुसेवा निगमलाई हङकङमा चौथो पटक उडान प्रतिबन्ध

काठमाडौं । नक्कली पिसीआर रिपोर्टका आधारमा यात्रु ल्याएको भन्दै हङकङ विमानस्थलले नेपाल वायुसेवा निगमलाई चौथो पटक उडान प्रतिबन्ध लगाएको छ । तेस्रो पटकको उडान प्रतिबन्ध फुकुवा भएलगत्तै निगम पुनः प्रतिबन्धित भएको हो । यसअघि तीन पटकसम्म उडान प्रतिबन्ध लागेपछि नेपाल वायुसेवा निगमले हङकङ जाने यात्रुको कोरोना परीक्षण सरकारको केन्द्रीय प्रयोगशालाबाट गराएको थियो । यसअघि निजी प्रयोगशालाबाट गरिएको परीक्षणलाई पनि निगमले मान्यता दिएको थियो । तर, निजी प्रयोगशालाको रिर्पोटमा आश्वस्त हुन नसकेपछि निगमले केन्द्रीय प्रयोगशालाबाटै परीक्षण गराउनुपर्ने व्यवस्था गरेको थियो । तर, सरकारी प्रयोगशालाबाट परीक्षण गराउँदा पनि साविककै समस्या दोहोरिएको छ । गत अक्टोबर ४ तारिकमा नक्कली पिसीआर रिर्पोटका आधारमा यात्रु ल्याएको भन्दै हङकङले पहिलोपटक निगमको उडान प्रतिबन्धित गरेको थियो । यो १७ अक्टोबरसम्म कायम रह्यो । त्यसपछिको उडानमा कोरोना नेगेटिभको रिर्पोट बोकेका नौ जनालाई कोरोना पोजेटिभ देखिएपछि हङकङले अक्टोबर २२ देखि नोभेम्बर ४ सम्म दोस्रो पटक प्रतिबन्ध लगायो । उक्त प्रतिबन्ध फुकुवा भएको एक सातापछिको पहिलो उडानमै १४ जनालाई संक्रमण देखिएपछि नोभेम्बर १२ देखि २५ सम्मका लागि तेस्रो पटकका लागि उडान प्रतिबन्ध लागेको थियो । लकडाउन पछि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएदेखि निगमले हङकङमा साताको एउटा उडान गर्दै आएको थियो ।