NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आजका ‘गुड न्युज’ : सवारी लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी

काठमाडाैं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू प्रवाह भए । त्यसमध्ये अधिकांश खबरहरू पाठकलाई निरास बनाउने खालका थिए । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । जसले पाठकहरूमा सकारात्मक उर्जा थप्ने काम गरे । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । – सवारी लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको सवारी लाइसेन्सको आवेदन र परीक्षा लिइने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले लाइसेन्सको आवेदन र परीक्षा व्यवस्थापन गर्ने जनाएको छ । सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीका लागि सम्पर्क अधिकारी तोक्दै मागअनुसार आवेदन खुलाइने जनाइएको छ । सम्पर्क अधिकृतहरूले आ आफ्नो प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आउने मागको मूल्यांकन गरेपछि मन्त्रालयको तजबिजमा यातायात कार्यालयहरूले फारम लिने र परीक्षाको तयारी थाल्नेछन् । – डेढ महिनादेखि जारी वीर अस्पतालका डाक्टरको आन्दोलन स्थगित वीर अस्पतालका आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधीकारी बीच सहमति भएको छ । यससँगै ४६ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । शुक्रबार डाक्टर–कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति भएसँगै तत्कालका लागि आन्दोलन स्थगित भएको हो । कोभिड भत्ता वितरणका सम्बन्धमा निम्तिएको समस्या समाधानका लागि अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधि सम्मिलित समिति बनाउने र त्यसैका आधारमा भत्ताको समानुपातिक वितरण गर्ने सहमति दुवै पक्षबीच जुटेको छ । कोभिड बीमाको क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने, कर्मचारीले पाउने आर्थिक वर्ष ०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी आगामी सात दिनभित्र उपलब्ध गराउने, अस्पतालको पूर्ववत् सेवासहित थप सेवाहरू प्रभावकारी रुपले सञ्चालन गर्ने सहमति दुवै पक्षबीच भएको छ । सेवा भत्ता विस्तारका सम्बन्धमा आउँदो छ सातासम्म दुई महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै लैजाने सहमति समेत भएको छ । – पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० श्ययाको आकस्मिक कक्षगण्डकी प्रदेशको सबैभन्दा ठूलोे सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० श्ययाको आकस्मिक कक्ष (इर्मजेन्सी ब्लक) निर्माण गरिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ श्ययाको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० श्ययाको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि नौ करोड बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया शुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाखले सेवा लिने गरेका छन् । अस्पतालमा दैनिक एक हजार बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् भने २०० जनाले आकस्मिक उपचार सेवा लिने गरिएको अस्पतालले जनाएको छ ।