NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बालुवाटारमा कांग्रेस आक्रामक, प्रधानमन्त्री ओली रक्षात्मक !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि केही दबाब देखिए पनि धेरै नै आलोचना गर्ने गर्ने आधार नदेखिएको जिकिर गरेका छन् । बालुवाटारमा आफैंले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सरकारमाथि दबाब सिर्जना भए पनि यसरी दबाब दिनुमाथि कुनै आधार नरहेको बताएका हुन् । ‘प्रधानमन्त्रीले सरकारमाथि दबाब आएको कुरालाई ग्रहण गर्छु भन्नुभयो तर, आधार नभई आलोचना गर्दा सिस्टमलाई कमजोर हुने भन्दै सहयोगको लागि आग्रह गर्नुभयो’ छलफलमा सहभागी कांग्रेस नेता डा. प्रकाशशरण महतले भने । पार्टीभित्रै घेराबन्दीमा परेका ओलीले सडकमा राजावादीहरुको दिनहुँको प्रदर्शन र कांग्रेसले पनि विरोधमा प्रदर्शन गर्न लागेकोले दबाब महसुस गरेर यस्तो बताएकाे महत बताउँछन् । ‘नेकपामा उहाँहरुको राम्रो छैन । आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । यो पार्टीको आन्तरिक विषय हो तर, सत्तारुढ दलमा यस्तो हुनु भनेको सरकारको कार्यसम्पादनमा असर पार्नु हो भन्ने हाम्रो कुरा हो’ उनले भने, ‘कुनै आधारविना नै विरोध र प्रदर्शन भएको भन्दै प्रधानमन्त्रीले व्यवस्थामाथि नै प्रश्न उठ्न नदिन परिवर्तनकारी शक्ति एक ठाउँमा उभिनुपर्ने र सहयोग गर्नुपर्ने बताउनुभएको छ ।’ जवाफमा कांग्रेसका नेताहरुले सडकमा राजावादीहरुलाई आन्दोलन गर्न सरकारले ठाउँ दिएको बताएका छन् । सभापति शेरबहादुर देउवा आफ्ना कुरा राखेर बैठक सुरु भएकाे केहीबेरमैं बाहिरिएका थिए । ‘भ्रष्टाचार व्यापक बढ्दा जनतामा धेरै असन्तुष्टि छ । निराशा र असन्तुष्टि भएपछि विभिन्न दृष्टिकोण राख्नेले असन्तुष्टि व्यक्त गरेका छन् । राजावादीहरुको प्रदर्शन पनि असन्तुष्टिकाे एउटा संकेत हो । यो व्यवस्थाको कमजोरी होइन भन्ने हाम्रो कुरा रह्यो’ महतले भने, ‘सरकारको गलत काम र नीतिका कारणले व्यवस्थालाई नै प्रश्न उठाउनु भनेको दुर्भाग्यपूर्ण हुन्छ । यसको समाधान भनेको सरकार सुध्रिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’ कांग्रेसले आवश्यक परेको ठाउँमा संविधानले नै यसमा सुधार र संसोधनको ठाउँ दिएको भन्दै यस्ता विकल्पलाई पनि सरकारले खुल्ला राख्नुपर्ने बताएको थियो । सरकारले कोभिड–१९ को असरपछि प्रभावकारी व्यवस्थापन गर्न नसकेको, सर्वसाधारणको अवस्था कष्टकर बन्दै गएको, अस्पतालमा उपचार गर्न कठिनाई हुँदा पनि सरकार लाचार बनेको आरोप लगाएको थियो । ‘कोभिडबाट पीडित जनताले निजी अस्पतालमा उपचार गर्न सक्ने अवस्था छैन । सरकारी अस्पतालको व्यवस्थापन कमजोर छ । रोकथाममा सरकार हुँदा कोरोनाको महामारी फेरि पनि बढ्न सक्छ भनेर हामीले ध्यानाकर्षण गरायौं’ महतले भने, ‘सरकार गम्भीर भएन बरु भ्रष्टारचारमा डुब्यो भन्ने हाम्रो कुरा रह्यो ।’ दमन गरेकोमा कांग्रेसको आपत्ति फरक राजनीतिक आस्था राखेकै आधारमा सरकारले कांग्रेसका नेता कार्यकर्तालाई दमन गरेको भन्दै आपत्ति जनाएको छ । ‘सरकारले विरोधी आवाज र स्वर सुन्नै नसक्ने गरी दमनको नीति लिएकोमा हाम्रो आपत्ति छ’ महतले भने, ‘यसैले दमनको विरुद्धमा, भ्रष्टाचारको विरुद्धमा हामीले २९ मंसिरमा विरोध र प्रदर्शनको कार्यक्रम राखेका पनि बतायौं ।’ नेता रामचन्द्र पाैडेलले तनहुँमा पुल उद्घाटन गर्ने क्रममा आफूमाथि दमन भएकाे, पछिल्लाे समय राष्ट्रपतिकाे भूमिका अस्वभाविक बढेकाे भन्दै आलाेचना गरेका थिए । लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने, संवैधानिक निकायलाई सरकारको छाया बनाउने काम सरकारले गर्दा संविधानलाई कार्यान्वयन गराउन नसकिएको मत कांग्रेसका नेताहरुले राखेका थिए । कांग्रेसले संसद बैठक छिटो बोलाउने वातावरणा बनाउन पनि माग गरेकाे थियाे । ।