अबको ३ महिना अझै कष्टकर हुन सक्छ : डा. कृष्णप्रसाद पौडेल [अन्तर्वार्ता] - Nepal Watch Nepal Watch

अन्तर्वार्ता

बैशाख २१, २०७८ मंगलबार


अबको ३ महिना अझै कष्टकर हुन सक्छ : डा. कृष्णप्रसाद पौडेल [अन्तर्वार्ता]


पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । संक्रमितहरुको संख्या दिनमै ७ हजारभन्दा बढी थपिन थालेको छ ।जसका कारण उपचारका लागि अस्पतालहरुमा शय्या अभाव चुलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै भाइरसको तीब्र संक्रमणको यो अवस्थालाई भयावह भनिसकेको छ । मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै मन्त्रालयले आफैं सचेत हुन पनि आह्वान गरिरहेको छ । यस्तोमा मुलुकमा संक्रमणको अवस्था, यसको जोखिम, भाइरसको बदलिँदो स्वरुप, जोगिने उपाय तथा सरकारको तयारीलगायत विषयमा केन्द्रित रहेर नेपालवाचका लागि कञ्चन न्याैपानेले ले स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग गरेकाे कुराकानी :

काठमाडौंमा निषेधाज्ञा जारी भएको आज छैटौं दिन, यो बीचमा पूर्ण र आंशिक गरी निषेधाज्ञा जारी गरिएका जिल्ला ४० नाघेका छन् । कोरोना महामारी रोक्न निषेधाज्ञा प्रभावकारी भइरहेको छ त ?
अहिले महामारी बढ्दो क्रममै रहेको देखिन्छ । हामीले यसको चक्रलाई तोड्ने हिसाबले बढी संक्रमित भएका जिल्लाहरूमा निषेधाज्ञा गर्ने काम गरिरहेका छौं । केही हदसम्म आवागमनलाई रोकिएको छ । तर अझै पनि यो प्रभावकारी हुन सकेको छैन । आजबाट आन्तरिकसँगै जोखिमयुक्त देशहरूबाट आउने उडान बन्द हुने क्रम सुरु भएको छ । यसले संक्रमण फैलिनबाट अझै मद्दत पुर्‌याउला भन्ने आश छ ।
अर्को कुरा, बैंक तथा वित्तिय लगायतका संस्थाहरू खुल्दै गर्दा अझै पनि पूर्ण रुपमा महामारी नियन्त्रणमा आउला भन्ने स्थिति छैन । त्यसमा पनि हामीले संक्रमणको अवस्था हेरेर केही निश्चित निर्णय गर्नैपर्ने छ । सबैले अलि कष्ट नसहेसम्म यो चक्रलाई सजिलै तोड्न सकिएला जस्तो छैन ।

निषेधाज्ञा वा लकडाउनलाई संक्रमण विस्तार रोक्ने अचुक उपायको रुपमा लिइन्छ । सँगससँगै यो समय प्रतिकार्यका लागि पूर्वाधार, संरचना र जनशक्ति व्यवस्थापन गर्ने समय पनि हो । तर सरकारको तयारी त निकै सुस्त देखिन्छ नि ?
अहिले हामीले गर्नुपर्ने काम भनेको पालिका स्तरबाटै कन्ट्याक्ट ट्रेसिङ, होम क्वारेन्टाइन, आइसोलेसनको अनुगमन र बढी संक्रमित भएका ठाउँहरूमा परीक्षणको दायरा बढाउने काम गर्नुपर्नेछ । जोखिमयुक्त ठाउँमा साधन स्रोत र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेछ । उदाहरणका लागि काठमाडौंका धेरै अस्पतालका शय्या भरिन थालेका छन् । त्यसको वैकल्पिक व्यवस्थापनका लागि मेडिकल कलेज, सहकारीले चलाएका अस्पतालहरू, सामुदायिक तथा निजी अस्पतालसँगको समन्वयमा कोभिडका बिरामीको उपचार गर्ने काम भइरहेको छ । त्यसमा पनि २ सय शय्याभन्दामाथिका अस्पतालमा केन्द्रीय सरकार, २ सय शय्यासम्मकामा प्रदेश र १५ शय्यासम्मका अस्पतालमा स्थानीय तहले कोरोनाका बिरामीको उपचारको लागि सम्झौता गर्छ भन्ने छ । यसलाई अझै व्यवस्थित गर्न नसक्दा पनि कतिपयमा शय्याको अभाव भएको छ ।

जनस्वास्थ्यको मापदण्ड पालना नगरिए या सबै क्षेत्र खुला गरिएमा मे महिनाको पहिलो हप्तासम्म दैनिक ११ हजार संक्रमित पुग्छन् भन्ने प्रक्षेपण गरेका थियौं ।

यतिबेला धेरैजसोमा संक्रमित सबैलाई अक्सिजन या आईसीयूको आवश्यकता पर्छ भन्ने भ्रम छ । त्यसकारण आत्तिएको अवस्था पनि हो । कोही संक्रमित हुनुहुन्छ भने अस्पतालका आकस्मिक कक्ष पुग्ने र अवस्था हेरेर होम आइसोलेसन या संस्थागत आइसोलेसनमा पठाउने निर्णय चिकित्सकले लिन्छन् । एक मिनेटमा ६ लिटरसम्म अक्सिजन दिनुपरे अस्पतालको सामान्य वार्डमा पनि दिन सकिन्छ । त्यो भन्दा बढी अक्सिजन चाहिएमा हाई डिपेन्डेन्सी युनिट (एचडीओ) चाहिन सक्छ । त्योभन्दा पनि गाह्रो अवस्थामा इन्टेनसिभ केयर युनिट (आईसीयू) चाहिन्छ । वैकल्पिक बेड व्यवस्थापनका लागि पनि मन्त्रालयले काम गरिरहेको छ ।

संख्यात्मक हिसाबले भारतमा संक्रमित धेरै देखिए पनि नेपालको संक्रमणलाई उच्च भनिएको छ, के अवस्था त्यस्तै हो ?
भारतमा जनसंख्या धेरै भएका कारण संक्रमित पनि बढी छन् । त्यहाँ हाम्रोभन्दा फरक के छ भने भारतमा आरटी पीसीआरबाहेक एन्टिजेन परीक्षण पनि अलि बढी भएको छ । हाम्रोमा पीसीआर भइरहे पनि त्यत्ति राम्रोसँग रिपोर्टिङ भइरहेको छैन । हामीले पीसीआरसँगै एन्टिजेनको परिक्षणलाई पनि तीव्रता दिनुपर्छ । यस्तो भएमा परीक्षणको दायरा पनि बढ्छ । यसको मतलव संक्रमित पनि बेलैमा पत्ता लाग्छ । यसले स्वतः मानिसहरूलाई सतर्क बनाउँछ र समुदायमा अरुलाई सर्ने सम्भावना कम हुन्छ ।

कोरोनाको दोस्रो लहर आउने र तीव्र गतिमा फैलिने कुराको तपाईंहरूजस्ता सरोकारवाला र विज्ञले यसअघि नै अनुमान किन गर्न नसकेको ? की पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालले भनेजस्तै ‘बेइजिङ र नयाँदिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्नुपर्दैन’ भनेर ढुक्क भएर बस्नु भएको हो ?
युरोपमा दोस्रो लहर फेलिएपछि यहाँ पनि आउन सक्छ भन्नेबारे हामी सचेत थियौं । हामीले त्यहीअनुसार अनुमान पनि लगाएका थियौं । यदि जनस्वास्थ्यको मापदण्ड पालना नगरिए या सबै क्षेत्र खुला गरिएमा मे महिनाको पहिलो हप्तासम्म दैनिक ११ हजार संक्रमित पुग्छन् भन्ने प्रक्षेपण गरेका थियौं । सामान्य लक्षण भएका धेरैजसोले परीक्षण नै गराउँदैनन् । त्योमध्ये २० प्रतिशत अस्पताल आउँछन् र परीक्षण गर्छन्, त्यसमध्ये पनि १५ प्रतिशतलाई अस्पताल भर्ना र ३ देखि ५ प्रतिशतलाई आईसीयूसम्म चाहिन्छ भन्ने प्रक्षेपणचाहिँ गरेका थियौं ।

हाम्रोमा पनि यूके भेरियन्ट र भारतमा देखिएको ‘डबल म्युटेन्ट’ देखिइसकेको हो । यीबाहेक नयाँ भेरियन्ट पनि देखिन सक्छन् । सुरुको भेरियन्ट एक व्यक्तिबाट दुईजना व्यक्तिसम्म सर्न सक्थ्यो भने अहिलेको चाहिँ ४ देखि ५ जनासम्म सर्न सक्छ ।

अहिले विश्वभर कोरोना भाइरसका कति भेरियन्ट पत्ता लागेका छन् ? नेपालमा चाहिँ कति वटा भेरियन्ट पुष्टि भएको छ ?
भाइरसले भेरियन्ट बनाउनु सामान्य प्रक्रिया हो । सबै प्रकारका भाइरसहरूले समयअनुसार आफ्नो स्परुप परिवर्तन गर्छन् । जसलाई ‘म्युटेसन’ भनिन्छ । कोरोना भाइरसको हकमा पनि यो लागू भइरहेको छ । जुन भेरियन्टले संक्रमण र जनस्वास्थ्यको दृष्टिकोणबाट धेरै असर गर्छ त्यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनिन्छ । अहिले सबैभन्दा बढी चर्चामा रहेका ‘भेरियन्ट अफ कन्सर्न’ चाहिँ बेलायतमा पत्ता लागेको यूके भेरियन्ट, ब्राजिलियन र साउथ अफ्रिकन हुन् । यूके भेरियन्ट यतिबेला संसारभरिका १ सय ४० वटा मुलुकमा देखिसकेको छ । जसमा नेपाल र भारत पनि पर्छन् । त्यस्तैगरी, दक्षिण अफ्रिकामा पत्ता लागेको भेरियन्ट ८६ भन्दा बढी मुलुकमा पुगेको छ । ब्राजिलियन भेरियन्ट पनि ४० भन्दा बढी मुलुकमा पुष्टि भइसकेकाे छ ।

त्यस्तै, यो बीचमा भारतमा नयाँ भेरियन्ट ‘डबल म्युटेन्ट’ देखियो । यो चाहिँ ‘भाइरस अफ कन्सर्न’ हो/होइन भनेर टुंगो लागेको छैन । हाम्रोमा पनि यूके भेरियन्ट र भारतमा देखिएको ‘डबल म्युटेन्ट’ देखिइसकेको हो । यीबाहेक नयाँ भेरियन्ट पनि देखिन सक्छन् । जसका लागि हामीसँग भएको निश्चित साधनस्रोतमार्फत ‘सिक्वेन्सिङ’ गरेर हेर्ने प्रयास गरिरहेका छौं । देशका विभिन्न भागका ‘र्‌यान्डम स्याम्पल’ ल्याएर यहीँ ‘सिक्वेन्सिङ’ गराउने र पुष्टि गर्न नसकेको खण्डमा विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त विदेशी प्रयोगशालामा पठाउनेगरी काम गरिरहेका छौं ।

कोरोना भाइरसको हालसम्मको प्रवृत्ति हेर्दा अब कति समयसम्म यसको प्रकोप मत्थर होला त ?
अन्तर्राष्ट्रिय स्तर र हाम्रै परिवेशलाई नियाल्दा पनि महामारी यतिबेला उकालो लाग्ने क्रममा छ । यो कमसेकम ४ देखि ६ साता लागेपछि ओरोलो झर्ने क्रम सुरु हुन्छ । तर ‍ओरोलो झर्न पनि केही समय भने लाग्न सक्छ । त्यसकारण हाम्रो लागि अबको तीन महिना अझै कठिन हुन सक्छ । अरु ६० देखि ७० दिन साह्रै कष्टकर हुन सक्छन् । यत्तिको समयमा ओरोलो लाग्ने क्रममा जाला भन्ने अनुमान छ ।

एउटै घर या कार्यालयमा धेरैजना संक्रमित भेटिएका छन् । त्यो भनेको अरुलाई सर्ने दर उच्च भएको भेरियन्टको कारण हुन सक्छ । तर अहिले हामीले लगाएको खोप ‘कोभिसिल्ड’ ले यूके भेरियन्टको संक्रमणले गर्दा अस्पताल भर्ना हुने र मृत्यु हुने दर भने घटाएको देखिएको छ ।

सुरुमा चीनको वुहानमा देखिएको कोरोना भाइरस र यसको आनुवांशिक परिवर्तन हुँदै करिब डेढ वर्षपछिको अवस्थामा आउँदा यसको सक्रियता, शक्ति र फैलावटमा कति अन्तर भएको छ ?
यो डेढ वर्षको अन्तरालमा आउँदा सुरुमा देखिएको भाइरसभन्दा अहिलेको यूके भेरियन्टमा एकबाट अर्को व्यक्तिमा संक्रमण सर्ने जोखिम ५० देखि ९० प्रतिशतसम्म उच्च देखिएको छ । त्यसको मतलब सुरुको भेरियन्ट एक व्यक्तिबाट दुईजना व्यक्तिसम्म सर्न सक्थ्यो भने अहिलेको चाहिँ ४ देखि ५ जनासम्म सर्न सक्छ । त्यसको प्रत्यक्ष असर हामी अहिले देख्न सक्छौं । एउटै घर या कार्यालयमा धेरैजना संक्रमित भेटिएका छन् । त्यो भनेको अरुलाई सर्ने दर उच्च भएको भेरियन्टको कारण हुन सक्छ । तर अहिले हामीले लगाएको खोप ‘कोभिसिल्ड’ ले यूके भेरियन्टको संक्रमणले गर्दा अस्पताल भर्ना हुने र मृत्यु हुने दर भने घटाएको देखिएको छ । तर ब्राजिलियन र दक्षिण अफ्रिकन भेरियन्टमा यो खोपको भूमिका के होला भन्नेबारे स्पष्ट भइसकेकाे छैन । ती भेरियन्टहरूको संक्रमण दर कस्तो छ भन्नेबारे अझै धेरै सूचना प्राप्त हुनै बाँकी छ ।

यो भाइरसले कुन हदसम्म आफूमा आनुवंशिक परिवर्तन गर्न सक्छ र अस्तित्वमा रहिरहन्छ ?
भाइरसहरूले आफूलाई अप्ठ्यारो वातावरणमा पनि बाँच्नका लागि आनुवंशिक परिवर्तन गर्नु नियमित प्रक्रिया नै हो । कहिलेकाहीं कहाँसम्म समस्या हुन सक्छ भने जसरी हामीले निश्चित ‘जिन’ हरु हेरेर आरटी पीसीआर तथा एन्टिजेन परीक्षण गर्छौं, त्यसलाई पनि ‘बाइपास’ गर्ने हिसाबले परिवर्तन हुन सक्छ । कहिलेकाहीं त्यो रोग पत्ता लगाउनै पनि अप्ठ्यारो बनाइदिन सक्छ । त्यत्तिसम्म चुनौती भने रहन्छ । अहिलेसम्म सबैभन्दा धेरै ‘सिक्वेन्सिङ’ बेलायत, फ्रान्स, जापानलगायतका देशरूमा भइरहेको छ । यस्तोमा पनि भेरियन्ट फरक–फरक किसिमका देखिएका छन् ।

नेपालमा यसअघि बढी संक्रमण भदौ-असोज महिनामा थियो । ठ्याक्कै ६ महिना पूरा गरेर आउँदा अर्को लहर देखिएको छ । त्यो हिसाबले पनि व्यक्तिहरूमा भएको प्राकृतिक प्रतिरोधात्मक क्षमताले ६ महिनामात्रै काम गर्ने हिसाबले अहिले संक्रमण बढेको हो कि भन्न सकिन्छ ।

तर ती भेरियन्टहरू जनस्वास्थ्यको हिसाबमा त्यत्ति ठूलो प्रभाव पार्ने किसिमका देखिएका छैनन् । हामीले बुझ्नै पर्ने मुख्य कुरा के हो भने, जुनसुकै भेरियन्ट भएपनि जनस्वास्थ्यको मापदण्ड उस्तै हो र लक्षणहरूमा पनि त्यत्ति ठूलो अन्तर छैन । त्यसकारण जनस्वास्थ्यको मापदण्डलाई पालना गर्नुपर्ने देखिन्छ । हामीलाई अहिले संक्रमणबाट तत्काल बचाउने मुख्य कुरा भनेकै खोप हो र खोपभन्दा बढी योगदान मास्कको प्रयोग, सामाजिक दूरी, सेनिटाइजर र साबुनपानीले हात धुनुमै छ । जुन भेरियन्ट भएपनि सबैभन्दा अचुक उपाय नै यीनै हुन् ।

कोरोनाले अब एकसरो सबैलाई संक्रमित गराउँछ र यसविरुद्ध शरीरमा प्रतिरोधात्मक क्षमता विकास गर्नुबाहेक यसलाई परास्त गर्ने अन्य उपाय छैन पनि भन्न थालिएको छ, के अब ‘हर्ड इम्युनिटी’ मा जानुको विकल्प छैन ?
यो आंशिक रुपमा सत्य पनि हो । कुनै पनि संक्रमण भएपछि शरीरले त्यसविरुद्ध प्रतिरोधात्मक क्षमताको विकास गर्छ । तर यो भाइरसको हकमा संक्रमणपछि शरीरमा बन्ने ‘एन्टिबडी’ को स्तर ६ महिनाको अन्तरालमा घट्दै गएको देखिएको छ । हामीलाई खोप लगाएपछि या संक्रमणपछि शरीरमा एन्टिबडी कति समय रहन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ ।

आक्रमक खालको भेरियन्ट आउनु, खोप नपाउनु, जनस्वास्थ्यको मापदण्ड पालना नहुनु लगायतका कारणले पछिल्लो पटक युवाहरुमा बढी संक्रमण देखिएको छ । नयाँ भेरियन्टबाट सबै उमेर समूहकालाई जोखिम भने छ ।

नेपालमा यसअघि बढी संक्रमण भदौ-असोज महिनामा थियो । ठ्याक्कै ६ महिना पूरा गरेर आउँदा अर्को लहर देखिएको छ । त्यो हिसाबले पनि व्यक्तिहरूमा भएको प्राकृतिक प्रतिरोधात्मक क्षमताले ६ महिनामात्रै काम गर्ने हिसाबले अहिले संक्रमण बढेको हो कि भन्न सकिन्छ । अर्को कुरा यो एन्टिबडी ले नयाँ भेरियन्टमा कत्तिको काम गर्छ भन्ने पनि स्पष्ट छैन । पक्कै पनि यसले केही सुरक्षित त बनाउँछ तर नयाँ भेरियन्ट हुँदा पूर्ण प्रतिरोधात्मक क्षमता नहुन सक्छ । यस्ता पनि चुनौती छन् ।

निरोगी र बलियाबांगा युवाहरूलाई पनि भाइरसको पछिल्लो लहरले परास्त गरिरहेको छ । सुरुको तुलनामा भाइरस शक्तिशाली बन्दै गएको हो ?
पक्कै पनि यो नयाँ भेरियन्टले युवा जनशक्तिमा पनि बढी संक्रमण भएको देखिएको छ । विशेषगरी बाहिरी काममा जाने, कलेज जाने युवा जनशक्ति समूहमा रहने जोखिम पनि बढी रहन्छ । यतिबेला अस्पताल भर्ना र संक्रमणको दर हेर्ने हो भने २० देखि २९ र ३० देखि ३९ वर्षका धेरै संक्रमित छन् । जनस्वास्थको मापदण्डमा पनि हामीलाई केही नहोला भन्ने मनोविज्ञान यो उमेर समूहमा हाबी भएको हुन सक्छ । आक्रमक खालको भेरियन्ट आउनु, खोप नपाउनु, जनस्वास्थ्यको मापदण्ड पालना नहुनु लगायतका कारणले यो उमेर समूहमा बढी संक्रमण देखिएको छ । गत वर्षको तुलनामा यही उमेर समूहमा भाइरसकै कारण मृत्यु दर पनि बढेको छ । त्यसकारण यो नयाँ भेरियन्टबाट सबै उमेर समूहकालाई जोखिम छ ।

संक्रमण भयावह हँदासम्म पनि प्रधानमन्त्री, मन्त्रीसम्ममा पनि महामारीप्रतिको संवेदनशीलता देखिएन । तपाईंहरूले कन्भिन्स गर्न नसकेको की तपाईंहरूका कुरा नसुनिएको ?
जब भारतमा महामारी फैलियो, हामीले तत्काल सबै नेतृत्वलाई ‘हाई अलर्ट’ गराएका हौं । बुझाउने प्रयास पनि गरेका हौं । जसरी भारतको महाराष्ट्रमा संक्रमण उच्च दरमा फैलियो र नेपालीहरू धेरै रहने प्रान्तहरूमा पनि संक्रमण फैलिएपछि हामीले केही निकायहरू जस्तै विद्यालय, कलेज, सार्वजनिक यातायत, सरकारी कार्यालय समयमै बन्द गर्ने प्रयास गर्यौं । त्यसको लागि केही समय लाग्यो । योबीचमा ठूला–ठूला राजनीतिक सभा सम्मेलन र भेला पनि भए । त्यसले पनि संक्रमण फैलिन योगदान पुर्‌यायो । अब हामीले मिलेर संकटको सामना गर्नु बाहेकको विकल्प छैन । यो महामारी सजिलै हट्लाजस्तो छैन ।

अहिलेको परिवेशमा हेर्दा स्वास्थ्य क्षेत्रमा जनशक्ति, पूर्वाधार र लगानी कम भएर पनि संकट परेको हो । त्यसैले समुदायमा हुने गतिविधि होस् या उपचारात्मक सेवा, यसमा ठूलो लगानीको आवश्यकता छ । यो सरकारभित्रकै साझेदार निकायले सिक्नुपर्ने ठूलो पाठ हो ।

दोस्रो लहर आउन नदिन हामी कत्तिको सक्षम थियौं ? कहाँनेर चुक्यौं ?
समयमै धेरैभन्दा धरै परीक्षणको दायरा नबढाउनुले पनि संक्रमण फैलिनमा मद्दत पुर्‌यायो । अर्को, हामीले विभिन्न क्षेत्र खुला राख्यौं । यसले पनि संक्रमणको जोखिम बढायो । योसँगै सरकारले अस्पताल तथा मेडिकल कलेजहरूसँग गरेका कतिपय सम्झौता कार्यन्वयन भएनन् । कतिपयले जोखिम भत्ता, समयमै शूल्क नपाएका कारण सबैको सहभागिता पनि भएन । यस्ता विभिन्न कुराहरूले गर्दा महामारी फैलियो । तर जे भएपनि अब सबैको सहभागिताले नै महामारीलाई नियन्त्रणमा ल्याउन जरुरी छ ।

केही समयअघि मात्रै हामीले विद्यालय/कलेजलाई वैकल्पिक हिसाबले पठनपाठन गर्नूभन्दा पनि विरोध भयो । अब सबैले चेतिसक्नुभयो होला की हामी कत्ति अप्ठेरो अवस्थामा पुग्यौं । काठमाडौं उपत्यका र अन्य केही जिल्लामा पनि संक्रमितले शय्या नै नपाउने डर छ । त्यसकारण हामी सबै सचेत नभई यो महामारी मत्थर हुँदैन ।

कोभिडको पहिलो लहरको त्यति ठूलो क्षतिबाट सरकारले पाठ सिकेको देखिएन, मूलतः पूर्वाधार निर्माण र पूर्वतयारीका दृष्टिले । यति ठूला संकटबाट पनि पाठ नसिक्ने यो प्रवृत्तिले त स्वास्थ्य क्षेत्रमा सुधार आउने कुरामा कसरी विश्वास गर्ने ?
स्वास्थ्य क्षेत्रलाई कत्तिको प्राथामिकता दिने भन्ने पनि यसमा भर पर्दोरहेछ । अहिलेको परिवेशमा हेर्दा स्वास्थ्य क्षेत्रमा जनशक्ति, पूर्वाधार र लगानी कम भएर पनि संकट परेको हो । त्यसैले समुदायमा हुने गतिविधि होस् या उपचारात्मक सेवा, यसमा ठूलो लगानीको आवश्यकता छ । यो सरकारभित्रकै साझेदार निकायले सिक्नुपर्ने ठूलो पाठ हो । गत वर्षको महामारीले यो पाठ सिकाएकोजस्तो लागेको थियो । तर महामारी आंशिक नियन्त्रणमा गएपछि केही निकायले यसलाई वास्ता नगरेको र हलुका रुपले लिएको देखियो । सरकारले आफूले गर्नुपर्ने काम गरिरहेको छ । अहिले निर्माण भइरहेको समुदायस्तरका अस्पतालमा जनशक्तिसहित व्यवस्थापन गर्न सकियो र रोग नियन्त्रणको लागि चाहिने समन्वयमा तीन तहका सरकारहरूको राम्रो नेटवर्क बन्यो भने सजिलो हुने थियो ।

संघीयताको अभ्यासमा जाँदा विज्ञता, कार्यक्षमता र अनुभवलाई भन्दा पदको हिसाबले कर्मचारी समायोजन गरिएको हुँदा हाम्रो प्रणालीलाई नै असर गरिरहेको छ । यसलाई पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

नफैलिनु संक्रमण फैलिसक्यो, क्षति भयो, हुँदै छ पनि । अब यसको फैलावट रोक्न र संक्रमणबाट जोगिन के गर्ने ?
स्वास्थ्यलाई सबैभन्दा ठूलो धन त्यसै भनिएको होइन । सबै व्यक्ति स्वस्थ भए मात्रै देशको उत्पादनदेखि अन्य क्षेत्रको पनि विकास हुने हो । त्यसकारण सबै क्षेत्रले यसलाई प्राथामिकतामा राख्नुपर्छ । जनस्वास्वास्थ्यका मापदण्ड पालना गर्नु नै अहिलेको लागि अचुक उपाय हो । सरकारले बनाएका मापदण्डलाई पनि हलुका रुपमा लिएको देखियो । यसमा सबैले ध्यान दिऔं ।

अर्को चाहिँ, अहिले उपलब्ध पूर्वाधारलाई समुदायस्तरमा रहेका संरचनासँग ‘लिंक’ गर्ने । विशेषगरी मुलुक संघीयतामा गइसकेपछि कर्मचारी समायोजनले अलिकति अप्ठेरो परेको छ । विज्ञता, कार्यक्षमता र अनुभवलाई भन्दा पनि पदको हिसाबले समायोजन गरिएको हुँदा हाम्रो प्रणालीलाई नै असर गरिरहेको छ । यसलाई पूनर्विचार गर्नुपर्ने देखिन्छ । जसबाट समुदायस्तरमा हुने गतिविधिलाई अस्पतालमा हुने उपचारात्मक गतिविधिसँग जोड्न सकियोस् । सबैले ‘स्वस्थ नेपाली’ भन्ने उद्देश्यका साथ काम गर्न सकियोस् । विभाजित रुपमा हाम्रा गतिविधि नहुन् । यसमा जोड दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्