महामारी नियन्त्रणमा विदेशीकै भर - Nepal Watch Nepal Watch

समसामयिक

बैशाख २१, २०७८ मंगलबार


महामारी नियन्त्रणमा विदेशीकै भर



काठमाडाैं । संयुक्त राज्य अमेरिकाले चार दिनअघि कोभिड–१९ संक्रमणविरुद्ध लड्न नेपाललाई ८५ लाख डलर अर्थात् एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गर्‍यो । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले १८ वैशाखमा उक्त सहयोगको घोषणा गरे । बेरीले कोभिड–१९ सँग संघर्षरत् नेपालको लडाईंमा ऐक्यबद्धता जनाउँदै अनुदान सहयोगको घोषणा गरेका थिए ।

यो अनुदान महामारीको आपत्कालीन प्रयोगका लागि उपलब्ध गराइने जानकारी पनि राजदूतले गराएका छन् । अमेरिकी घोषणाको केही दिन अघिमात्र कोभिड–१९ नियन्त्रणका लागि चीनले नौ करोड १८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।

१४ वैशाखमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का पाकिस्तान, बंगलादेश, अफगानिस्तान, श्रीलंका र नेपाललाई समेटेर गरेको ‘कोभिड १९ को प्रतिकार्यका लागि संयुक्त प्रयास’ नामक भिडियो कन्फरेन्समार्फत् चीनले नेपाललाई उक्त प्रतिबद्धता जनाएको हो । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई स्वास्थ्य सामग्री सहायता दिने प्रतिबद्धता जनाएका हुन् ।

नेपालमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ को महामारी नियन्त्रणका लागि दाताहरुले जनाएका सहयोग प्रतिबद्धताका पछिल्ला उदाहरण हुन् यी ।

कोभिड १९ को उत्पत्तिस्थान चीनको वुहानबाट आएका एक युवकमा ९ माघ २०७६ मा पुष्टि भएको संक्रमण नेपालमा देखिएको पहिलो केस थियो । त्यसयता करिब १५ महिनामा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण भयावह बनिरहेको छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका आन्तरिक प्रणाली र संयन्त्र न्यून प्रभावी भइरहेका छन् । बरु यसबीचमा विभिन्न राष्ट्र, दातृ निकाय र संघसंस्थाबाट प्राप्त अनुदान र सहयोगका फेहरिस्तहरुले महामारी नियन्त्रणमा राज्य विदेशीकै भर परेको पुष्टि गर्छन् ।

अक्सिजनदेखि खोपसम्म विदेशीकै भर

नेपालमा कोभिड १९ को संक्रमण फैलिएको करिव १५ महिना बढी भइसकेको छ । पहिलो लहर साम्य भएको केही अन्तरालमै दोस्रो लहर सुरु भयो । दोस्रो लहर अनुमान गरेभन्दा बढी भयानक र थप संक्रामक बनेर आयो ।

जब दोस्रो लहरबाट मानिसहरु दैनिक सयौंको संख्यामा संक्रमित हुने र हताहती हुने क्रम बढ्यो, अस्पतालमा भिडभाड बढ्न थाल्यो । कोभिडले सबैभन्दा बढी असर फोक्सो र श्वासप्रश्वासमा गर्ने भएकाले अस्पतालमा अक्सिजनको माग ह्वात्तै बढिरहेको छ ।

अक्सिजनको माग र आवश्यकता अस्वभाविक बढेपछि सामान्य अवस्थाको उत्पादन र मौज्दातले धान्ने अवस्था छैन् । यसअघि नै कोभिडको संकट झेलिसकेको सरकारले संवेदनशील अवस्थाका विरामीलाई दिनुपर्ने अक्सिजनको उत्पादनदर्फ ध्यान दिएन भने अक्सिजन उत्पादन गर्ने भनेर निर्माण गरिएका पूर्वाधार पनि लथालिंग थिए । अन्ततः एउटै विकल्प बाँकी रह्यो – विदेशबाट सहयोग माग्ने ।

कोभिड १९ को दोस्रो लहरको संक्रमणले भयावह रुप लिन थालेपछि सरकारले १२ वैशाखमा भारत सरकारसँग ‘लिक्विड अक्सिजन’को याचना गर्‍यो । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै अक्सिजनसहित अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पत्राचार गरेको थियो ।

आफैं हाहाकार झेलेको भारतले अझैसम्म नेपाललाई अक्सिजन दिएको छैन । यही अक्सिजनको अभावका कारण अहिले कैयौं कोरोना संक्रमितले ज्यान गुमाउने अवस्था सृजना भएको छ । अहिले संक्रमितका आफन्तबीच अस्पतालमा अक्सिजन सिलिन्डर खोसाखोस भएका फोटो तथा भिडियो सार्वजनिक भइरहेका छन् ।

हालैमात्र छिमेकी चीनले २० हजार अक्सिजन सिलिन्डर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सरकारले सिलिन्डर ल्याउने प्रक्रिया अघि बढाएको छ ।

अक्सिजनजस्तो आधारभूत स्वास्थ्य वस्तुमा परनिर्भर नेपालले कोभिडको खोप विकास गर्ने कुरा कल्पनाबाहिरकै विषय थियो । परिणामतः अहिले कोभिड रोकथामका लागि विभिन्न मुलुकबाट खोप आयात भइरहेका छन् ।

हालसम्म नेपालले भारत, चीन र विश्व स्वास्थ्य संगठनबाट कोभ्यास सुविधा अन्तर्गत प्राप्त अनुदान र भारत सरकारबाट खरिद गरेको खोप चलाइरहेको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप ८ माघमा नेपाल आइपुगेको थियो । सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिशिल्ड भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

यही खोप आएपछि १४ माघदेखि नेपालले कोभिड १९ विरुद्धको खोप अभियान सुरु गरेको थियो । सोही कम्पनीसँग प्रति डोज चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सम्झौता नेपालले गरेको थियो । त्यसमध्ये १० लाख डोज आइसकेको छ भने बाँकी १० लाख आउनै बाँकी छ ।

कोभिड १९ विरुद्धको संघर्षमा सहयोग गर्न भन्दै उत्तरी छिमेकी चीनले पनि नेपाललाई अनुदानमा खोप उपलब्ध गराउने घोषणा गत माघमा गरेको थियो । सोहीबमोजिम चीनको सरकारी कम्पनी सिनोफार्मले विकास गरेको आठ लाख डोज खोप १६ चैतमा नेपाल आइपुग्यो ।

अहिलेसम्म नेपालले प्रयोग गरेका खोपमध्ये खरिद गरेकै खोप भनेको सिरम इन्स्टिच्युटसँग सम्झौता भएको २० लाख डोज हो । भलै आधा आउनै बाँकी छ । बाँकी सबै खोप अनुदानमा प्राप्त भएका हुन् । भारत र चीनबाहेक विश्व स्वास्थ्य संगठनसहितले प्रदान गरेको कोभ्याक्स सुविधा अन्तर्गत तीन लाख डोज खोप पनि पाइसकेको छ । अझै पनि नेपालले अनुदानमा थप खोप खोजिरहेको छ ।

स्वास्थ्य सामग्रीमा पनि दाताकै आस

कोरोना संक्रमणको लहर सुरु भएदेखि नै नेपालले विदेशी मुलुक तथा दातृ निकायसँग अनुदानको अपेक्षा गरिनै रह्यो । मास्क, सेनिटाइजर, पञ्जाजस्ता सामान्य स्वास्थ्य सामग्रीमा पनि सरकारले पूर्णतः विदेशीकै मुख ताक्यो ।

सरकारले लकडाउन घोषणा गरेको केही दिनपछि १६ चैत २०७६ मा चीन सरकारले नेपाललाई एक मेट्रिक टनभन्दा केही बढी स्वास्थ्य सामग्री सहयोग स्वरुप पठायो । चीन सरकार र सिचुवान प्रान्तले नेपालस्थित चिनीयाँ दूतावासमार्फत् १.१ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई दिएका थिए । यसको मूल्य तीन लाख युयान भन्दा बढी थियो ।

नेपालस्थित चिनीयाँ राजदूत होउ यान्छीले ती सामग्री तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी थिइन । सोही लटमा चिनीयाँ कम्पनी अलिबाबाका संस्थापक तथा धनाढ्य ज्याक माको ज्याक मा फाउन्डेसनले एक लाख भन्दा बढी एन–९५ मास्क, २० हजार टेस्टिङ किट लगायतका १.४ टन स्वास्थ्य सामग्री दिएको थियो । ज्याक माले पठाएको यो सहयोग सामग्री करिब २० लाख युयान बराबरको थियो ।

त्यसको करिव डेढ महिनापछि २९ वैशाखमा चीनले थप स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो । त्यसमा ४० हजार पिसिआर किट, २० हजार एन–९५ मास्क, १० हजार चस्मा, १० हजार पीपीई र ८ लाख सर्जिकल मास्क थिए । कोरोना नियन्त्रणका लागि चीन सरकारले उपलब्ध गराएका यी स्वास्थ्य सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेकी थिइन । त्यस्तै चिनियाँ इन्जिनियरिङ कम्पनी, सिचुवान ह्यान्सी ग्रुप, होङ्सी सिमेन्ट कम्पनी लिमिटेड लगायतका चिनियाँ निजी कम्पनीहरुले पनि त्यतिबेला ठूलै परिमाणमा स्वास्थ्य सामग्री नेपाललाई सहायता गरेका थिए ।

स्वास्थ्य सामग्रीको आन्तरिक उत्पादन नगन्य हुँदा आयात गर्नु वा सहयोग स्वीकार गर्नुको विकल्प नेपालसँग थिएन ।

यही क्रममा लकडाउनकै बीच १० वैशाख ०७७ मा भारतले २३ टन बराबरको औषधि र स्वास्थ्य सामग्री सहयोग स्वरुप नेपाललाई दियो ।

कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सहयोगार्थ भन्दै भारतले नेपाललाई ती सामग्री दिएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २ चैत ०७६ मा सार्क शीर्ष नेताहरूको भिडियो सम्मेलनमा आपत्कालीन कोषको घोषणा गरेका थिए । त्यही कोषमा मौज्दात रहेको १० करोड अमेरिकी डलरमध्येबाट भारतले नेपाललाई अनुदान दिएको थियो ।

त्यसको केही समयपछि ४ जेठ ०७७ मा पुनः भारतले नेपाललाई ३० हजार व्यक्तिको स्वास्थ्य जाँच गर्न पुग्ने पिसिआर टेस्ट किट सहयोग ग¥यो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ती किट हस्तान्तरण गरेका थिए ।

सोही दिन चीनको स्वशासित क्षेत्र तिब्बतले कोभिड १९ विरुद्ध लड्न सहयोगार्थ करिव सबा आठ करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री नेपाललाई अनुदानमा दियो ।

तिब्बतले दिएका स्वास्थ्य सामग्रीमा २० हजार थान टेस्टिङ किट, व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) र एन–९५ मास्क १०÷१० हजार थान, एक हजार थान इन्फ्रारेड थर्र्मोमिटर, ५० थान वेट वाइप र दुई थान पीसीआर मेसिन लगायत थिए ।

बढ्दो संक्रमणकाबीच फेरि पनि नेपाललाई स्वास्थ्य सामग्रीको अभाव थियो । यसैक्रममा स्वीट्जरल्याण्डले सहयोगको प्रतिबद्धता दिएको थियो । कोभिड १९ संक्रमणको पहिचानका लागि २५ वैशाख ०७७ मा स्वीट्जरल्याण्डले नेपाललाई ३० हजार थान पिसिआर टेस्ट किट सहयोग गर्‍यो । स्वीस सरकार विकास सहयोग (एसडिसी) मार्फत् स्वीट्जरल्याण्डले किटका साथै अन्य स्वास्थ्य सामग्री पनि सहयोग दिएको थियो ।

नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले ती किटसहितको स्वास्थ्य सामग्री तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी थिइन् । स्वीट्जरल्याण्डले यसअघि नै चार हजार सेट पीपीई सेट, एक हजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन–९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो । त्यस्तै, कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष पनि स्वीकृत गरेको थियो ।

यी कोभिड १९ को उपचारका लागि प्राप्त सहयोगका केही प्रतिनिधि उदाहरण हुन् । यसबाहेक अन्य राष्ट्र, दातृ निकाय र संघसंस्थाले पनि नेपाललाई सहायता प्रदान गरेका छन् ।

मास्कदेखि सेनिटाइजरसम्म केके आए सहायतामा ?

कोभिड १९ को उपचार र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २८ माघ २०७६ देखि १० वैशाख २०७८ सम्म प्राप्त भएका सहयोगको विवरण सार्वजनिक गरेको छ । तर, सबै सहायता विभागको यो विवरणमा अद्यावधिक देखिँदैन । विभागसँग समन्वय गरेर वा विभागलाई जानकारी गराएकाको हकमामात्र तिनको विवरण समेटिएको छ ।

विभागको विवरण अनुसार विभिन्न मुलुक तथा दातृ संस्थाले करिब तीन दर्जन प्रकारका स्वास्थ्य सामग्री सहायता गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै सर्जिकल मास्क छ ।

सहायतामा आएका स्वास्थ्य सामग्रीमा पीपीई सेट–आठ हजार सात सय ५५, गाउन–एक लाख १७ हजार तीन सय ४४, सर्जिकल मास्क–४७ लाख ८२ हजार पाँच सय ३०, पञ्जा (जोर)–पाँच लाख २४ हजार नौ सय, एन ९५ मास्क–एक लाख ३३ हजार ६०, सर्जिकल क्याप–१० हजार आठ सय, सेफ्टी चस्मा–८७ हजार नौ सय २१, फेस मास्क–तीन हजार ६ सय, फ्याब्रिक मास्क–१ लाख, फेस सिल्ड–६२ हजार एक सय, शू कभर–२३ हजार चार सय, गम बुट–एक हजार चार सय, सेनिटाइजर ३०० एमएल–तीन हजार ६ सय, सेनिटाइजर लिटर–तीन हजार, सेनिटाइजर १०० एमएल–एक सय ४०, सेनिटाइजर २०० एमएल–पाँच हजार, सेनिटाइजर ५०० एमएल – आठ हजार नौ सय ४८ लगायत छन् ।

त्यस्तै, सर्जिकल हुड–तीन हजार, आईआर थर्मोमिटर–दुई हजार तीन सय ९३, इयर थर्मोमिटर (कानबाट जाँच्ने)–एक सय, बडी ब्याग–दुई हजार चार सय, वयट वाइप–तीन हजार चार सय ९५, स्प्रेयर पम्प–दुई, सोडियम हाइपोक्लोराइड सोलुसन–चार सय, साइनेक्स (भुइँ सफा गर्ने पाँच लिटर जार)–एक हजार, पोर्टेबल भेन्टिलेटर–एक, पोर्टेबल पिसिआर मेसिन–दुई, भिटिएम (प्याकिङ मेटेरियल सहित)–६० हजार ६ सय, र्‍यापिड डाइग्नोस्टिक किट–दुई हजार चार सय ९५, स्वाब स्टिक–१०, आरएनए कन्ट्र्याक्सन किट–६५ हजार ६ सय १०, आइफिला इज १ स्टेप आरटी पिसिआर पोलिमराइज मिक्स–दुई हजार ती सय, सार्स कोभिड आरडिआरपी टेस्ट–१६ हजार नौ सय २०, कोभिड इजेन इभिए टेस्ट–४९ हजार दुई सय, सार्स कोभिड एनजेन टेस्ट–१५ हजार, क्लोरोक्विन फोस्फेट – चार सय, हजार्ड ब्याग–१० हजार र क्लोरिन पाउडर (२५ किलो कन्टेनर)–पाँच सय अनुदानमा प्राप्त भएका थिए ।

प्रमुख सहयतादाता र तिनको सहयोग :

जर्मन सहयोग नियोग (जिआइजेट)

गाउन–३४००, सर्जिकल मास्क–१०००, पञ्जा (जोर)–३२०००, एन ९५ मास्क–१०००, सर्जिकल क्याप–१०००, सेफ्टी चस्मा–१०००, फेस सिल्ड–५००, शू कभर–१०००, गम बुट–१००, सेनिटाइजर ५०० एमएल–२५०, सर्जिकल हुड–१०००, आइआर थर्मोमिटर–२५, सोडिएम हाइपोक्लोराइड सोलुसन– १००, भिटिएम (प्याकिङ मेटेरियलसहित) ६००, र्‍यापिड डाइग्नोस्टिक किट–६, स्वाव स्टिक–१०, आरएनए कन्ट्र्याक्सन किट–५०३०, आइफिता इज १ स्टेप आरटी पिसिआर पोलिमराइज मिक्स–२३०००, सार्स कोभिड आरडिआरपि टेस्ट–१९२०, कोभिड इजेन इभिए टेस्ट–१९२०० र हजार्ड ब्याग–१०००० ।

चीन

गाउन–३५०३०, सर्जिकल मास्क–१६४९७३०, पञ्जा (जोर)–५२००, एन ९५ मास्क –५६८८०, सेफ्टी चस्मा–२३५००, फेस सिल्ड–१००, आईआर थर्मोमिटर–११३०, इयर थर्मोमिटर (कानबाट जाँच्ने)–१००, पोर्टेबल भेन्टिलेटर – १, पोर्टेबल पिसिआर मेसिन–२, भिटिएम (प्याकिङ मेटेरियलसहित)–६०००० र क्लोरोक्वीन फोस्फेट–४०० ।

विश्व स्वास्थ्य संगठन

गाउन–१७१००, सर्जिकल मास्क–७३९७५०, पञ्जा (जोर)–६४६००, एन ९५ मास्क–१५९२५, सेफ्टी चस्मा–१५६५०, फेस मास्क–३०००, फेस सिल्ड १५००० र आईआर थर्मोमिटर–५० ।

कम्बोडिया सरकार

गाउन–२००००, सर्जिकल मास्क–२००००००, एन ९५ मास्क–२००००, सेफ्टी चस्मा–२००००, फ्याब्रिक मास्क–१०००००, फेस सिल्ड–२००००, गम बुट–१०००, आइआर थर्मोमिटर–५०० र क्लोरिन पाउडर (२५ किलो कन्टेनर)–५०० ।

वान हर्ट वल्र्ड वाइड

गाउन–३९००, सर्जिकल मास्क–२९५०, पञ्जा जोर–१५१००, एन ९५ मास्क–१०००, सर्जिकल क्याप–२६००, सेफ्टी चस्मा–५०, फेस सिल्ड–२००, शू कभर–२०००, सेनिटाइजर ५०० एमएल–१००, आइआर थर्मोमिटर–२०, वयट वाइप–१५ र सोडिएम आइपोक्लोराइड सोलुसन–५० ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए)

पिपिइ सेट–१२००, पञ्जा (जोर)–५००००, एन ९५ मास्क–२०००, सर्जिकल क्याप–११००, सेफ्टी चस्मा–२४००, फेस सिल्ड–११००, शू कभर–२४००, गम बुट–३००, सेनिटाइजर ३०० एमएल–३६००, सर्जिकल हुड–२००० र बडी ब्याग–२४०० ।

सेभ द चिल्ड्रेन

गाउन–३३००, सर्जिकल मास्क–२०००, पञ्जा (जोर)–५७०००, एन ९५ मास्क–८०००, सर्जिकल क्याप–२०००, सेफ्टी चस्मा–१२००, फेस सिल्ड–१२००, शू कभर–१२००, सेनिटाइजर ५०० एमएल–२५०० र आइआर थर्मोमिटर–१०० ।

स्वीस राजदूतावास

आरएनए एक्सट्याक्सन किट–३००००, सार्स कोभिड आरडिआरपि टेस्ट–१५०००, कोभिड इजेन इभिए टेस्ट–३०००० र सार्स कोभिड एनजेन टेस्ट–१५००० ।

संयुक्त राष्ट्रसंघ बालबालिका कोष (युनिसेफ)

गाउन–१७८५९, सर्जिकल मास्क–२००००, एन ९५ मास्क–२०००, सेफ्टी चस्मा–२०४२, फेस सिल्ड–५००० र आईआर थर्मोमिटर–५०० ।

अमेरिकी सहयोग नियोग (युएसएड)

गाउन–१०००, सर्जिकल क्याप–२१००, फेस मास्क–६००, फेस सिल्ड–२०००, शु कभर–१००० र ¥यापिड डाइग्नोस्टिक किट–१५०० ।

वाटर एड नेपाल

गाउन–१००, सर्जिकल मास्क–१७०००, सेफ्टी चस्मा–१००, सेनिटाइजर ५०० एमएल–१०० र सोडिएम आइपोक्लोराइड सोलुसन–२५० ।

हिक्याप

पिपिई सेट–२८५, गाउन–२९३४, सर्जिकल मास्क–३४४००, पञ्जा (जोर) १४०००, सर्जिकल क्याप–२०००, सेफ्टी चस्मा–५७६ र शू कभर–१००० ।

बंगलादेश दूतावास

पिपिई सेट–१०००, गाउन–१०००, सेनिटाइजर २०० एमएल–५००० र साइनेक्स (भुइँ सफा गर्ने पाँच लिटर जार)–१००० ।

केडिडिआइ एण्ड सुमिटोमा कर्पोरेसन अफ जापान

गाउन–१०००, सर्जिकल मास्क–५०००, सेफ्टी चस्मा–१००० र फेस सिल्ड–१००० ।

कतार राजदूतावास

गाउन–१०२८०, सर्जिकल मास्क–२६७०००, सेफ्टी चस्मा–१९६०० र फेस सिल्ड–१५००० ।

युनाइटेड अरब इमिरेट्स राजदूतावास

पञ्जा (जोर)–२५००००, शू कभर–१५०००, सेनिटाइजर ५०० एमएल–५९९८ र वयट वाइप–३४८० ।

अलिबाबा फाउन्डेसन

एन ९५ मास्क–१००५ र र्‍यापिड डाइग्नोस्टिक किट–२०९ ।

लाइन्स क्लव इन्टरनेसनल

पिपिई सेट–२०००, पञ्जा (जोर) १५००० र एन ९५ माक्स–५००० ।

सरकारका खरिदमा विवादैविवाद

कोभिड स्वास्थ्य सामग्रीको ठूलो मात्रामा सहयोग स्वीकार गरेको सरकारले आफैं खरिदको प्रक्रिया नगरेको पनि होइन । तर, ती सबै प्रायः विवादमा परे भने भ्रष्टाचार भएको भन्दै विवादित भए ।

नेपालमा पहिलोपटक ११ चैत २०७६ मा देशव्यापी लकडाउन भएसँगै सरकारले संक्रमितको पहिचान, उपचार र रोकथामका लागि भन्दै करिब सबा एक अर्बको स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाएको थियो । तर, ठेक्कामा मिलेमतो भएको, ठेकेदारले बजार मूल्यभन्दा बढीमा सामग्री खरिद गरेको, न्यून गुणस्तरको भएको लगायतका आरोप लाग्यो ।

अन्ततः आपूर्तिकर्ता ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई) कालोसूचीमा समेत पर्‍यो । ओम्नीले तीन चरणमा स्वास्थ्य सामग्री ल्याउनेगरी सरकासँग सम्झौता गरेको थियो । तर, पहिलो लटमै विवाद भएपछि अन्य लटका सामान ल्याउनै नपाई ठेक्का रद्द भयो ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी प¥यो । तत्कालीन उपप्रधान तथा रक्षा मन्त्रीसमेत रहेका कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) का अध्यक्ष ईश्वर पोखरेल, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायतविरुद्ध परेको भ्रष्टाचारको उजुरी आयोगले अझै किनारा लगाउन सकेको छैन ।

सरकारको खरिदमा विवाद भएको भन्दै नेपाली सेनामार्फत् खरिद अघि बढाइयो । तर, यो पनि विवादमुक्त हुन सकेन । सेनाले दुई अर्ब २६ करोडमा जीटूजी प्रक्रियामा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको थियो । तर, यसमा पनि बजार मूल्य भन्दा अत्यधिक मूल्य तिरेर ल्याइएको भन्दै अनियमितताको आरोप लाग्यो ।

त्यसयता ठूलो परिमाणमा सरकारले स्वास्थ्य सामग्री खरिद गरेको छैन ।

सहयोगहरु प्राप्त भएका छन्, आउने क्रम पनि जारी छ

डा. भिमसिंह टिंकरी, निर्देशक, स्वास्थ्य सेवा विभाग

कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न मुलुक र संघसंस्थाले सहायता गरेका छन् ।

त्यसले कोभिड विरुद्ध लड्न उल्लेखनिय सहयोग पनि पुर्‍याएका छन् ।

अनुदान र सहयोगार्थ आएका स्वास्थ्य सामग्रीको रेकर्ड विभागसँग हुन्छ । विभागले राखेको पनि छ ।

सरकार आफैंले पनि सामग्रीहरु किनेको छ ।

अब यसमा अनुदान तथा सहायतामा कति आए र सरकारले कति ल्यायो अनि यिनको तुलनात्मक हिसाबकिताब गर्न भ्याइएको छैन ।

देशमा उत्पादन बढ्दै छ, तर धान्दैन

सुरेश घिमिरे, रसायन तथा औषधि आपूर्तिकर्ता संघ

पछिल्लो समय देशमा औषधि र स्वास्थ्य सामग्रीहरुको उत्पादन बढेको त छ तर यसले धान्ने अवस्था छैन ।

पछिल्लो समय सेनिटाइजर, मास्क जस्ता केही आइटमको उत्पादन बढ्दै छ तर समग्र सर्जिकल आइटमको कुरा गर्दा ९५ प्रतिशत त विदेशबाटै आयात गर्नुपर्छ ।

औषधिको हकमा आन्तरिक उत्पादन बढ्दै गए पनि ठूलो परिमाणमा विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्