NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

विवादकाबीच संवैधानिक परिषदबाट निर्णय गरे संसदीय समितिले फाल्दिन्छ : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले विवादका बीच संवैधानिक परिषद्ले निर्णय गरेर संवैधानिक नियुक्ति गरे संसदीय समितिले फाल्दिने चेतावनी दिएका छन् । सर्वसत्तावादी शैलीमा अध्यादेश आएको भन्दै पौडेलले संवैधानिक परिषद्बाट नियुक्ति गर्न प्रधान्यायाधीशले नै संकोच मान्नुपर्ने पनि बताए । ‘मलाई यो बेलामा परिषद्ले निणय गर्ने धृष्टता गर्दैन भन्ने लाग्छ । अध्यादेशमा यतिधेरै विवाद भएपछि प्रधानन्यायाधीशलाई संकोच लाग्ला । यस्तोमा उनले कसरी निर्णय गर्न सक्छन्’ पौडेलले नेपालवाचसँग भने, ‘विवादास्पद विषयमा जबर्जस्त निर्णय गरे संसदीय सुनुवाइ समितिले नै त्यस्तो निर्णयलाई फाल्दिने छ ।’ अध्यादेशपछि विकसित घटनाक्रमको विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको पनि उनले बताए । ‘अध्यादेशको विरोध गरेपछि हामीले थप छलफल गर्न अाज पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छौं । यो बैठकपछि कांग्रेस संसदीय दल र केन्द्रीय समितिको बैठक पनि बोलाउन सक्छाैं’ पौडेलले भने, ‘पार्टीका बैठक राखेर हामी अध्यादेश र यसपछिको प्रक्रियाको विरोधमा सशक्त प्रतिवाद गर्छौ ।’ पौडेलले संवैधानिक निकायको नियुक्तिमा कांग्रेस कुनै भागबण्डामा नभएको दाबी गरे ।