NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुरक्षा मापदण्ड पालना गर्ने सर्तमा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका रात्रिकालिन व्यवसाय(डान्स बार, क्लब, दोहोरी, होटल,लाउन्ज, रेष्टुराँ) खोल्न सरकारले अनुमति दिने भएको छ । गत मंसिर १० को मन्त्रीपरिषद्को बैठकले यसबारे मापदण्ड बनाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको थियो । मन्त्रालयले तयार गरेको सुरक्षा मापदण्ड पालना गर्ने सर्तमा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि गृह मन्त्रालयले स्वीकृती दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार अब सुरक्षा मापदण्ड पालना गर्दै जिल्ला प्रसाशन कार्यालयसँगको समन्वयनमा रात्रिकलिन व्यवसाय सञ्चालन गर्न सकिनेछ । स्वास्थ्य मापदण्डका सर्तसहित रात्रिकालिन व्यवसाय खुलाउनका लागि सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । व्यवसाय सञ्चालनका लागि समयवधि तोक्ने, अनुगमन, नियमन र कारवाहीबारे अब जिल्ला प्रसाशन कार्यालयले निर्णय गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईका अनुसार सिसिएमसि (कोरोना संकट व्यवस्थापन समन्वयन समिति) ले निर्णय गरेपछि केही दिनमै रात्रिकालिन व्यवसाय सञ्चालनमा आउँछन् । आउँदो २५ डिसेम्बरमा मनाइने क्रिसमस र त्यसको केही दिनमा अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा सरकारले सुरक्षा मापदण्डको पालनासहित रात्रिकालिन व्यवसाय खोल्न अनुमति दिएको हो । लकडाउनपछि अधिकांश पर्यटन क्षेत्र खुलाएपनि रात्रिकालिन व्यवसाय भने बन्दै थियो । यी व्यवसाय पनि खुलाउन माग गर्दै गत मंसिर १७ मा ठमेलका व्यवसायीले प्रदर्शनसमेत गरेका थिए ।