अस्पताल चहार्दा–चहार्दै कोरोना संक्रमितको मृत्यु - Nepal Watch Nepal Watch

कोरोना बिशेष

बैशाख २१, २०७८ मंगलबार


अस्पताल चहार्दा–चहार्दै कोरोना संक्रमितको मृत्यु


जनकपुरधाम । धनुषामा अस्पताल चहार्दा–चहार्दै एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

श्वास लिन कठिनाई भएपछि उपचारका लागि जनकपुरका अस्पताहरु चहारे पनि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा संक्रमित पुरुषको मृत्यु भएको हो ।

धनुषाको बटेश्वर गाउँपालिका ४ का ४० वर्षीय लोकबहादुर परियारलाई ४÷५ दिनदेखि स्वास्थ्यमा समस्या आएको थियो ।

स्थानीय मेडिकलबाट औषधि लिएर घरमै बसिरहेका परिवारलाई सामेबार गाह्रो भएपछि जनकपुर लगिएको थियो ।

जनकपुर प्रादेशिक अस्पताल, जानकी हेल्थ केयर र रामजानकी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, कुनै पनि अस्पताललाई उनको भर्ना लिन मानेनन् ।

सबै अस्पतालहरु चहार्दा पनि भर्ना नपाइएपछि आफन्तले घर फर्काएका थिए । मंगलबार बिहान पुनः श्वास प्रश्वासमा समस्या देखिएपछि परिवारलाई आफन्तले स्थानीय आरपी मेडिकल लगे ।

तर, त्यहाँ पुगेपछि परियारको मृत्यु भयो । मृत्युपछि आफन्तहरुले परियारको शव सोही अस्पताल अगाडि नै छाडेर हिँडेका थिए ।

उक्त क्लिनिक सञ्चालक सुवोध साहका अनुसार सोमबार उपचारमा ल्याउँदा आफूले बाहिरका अस्पतालमा लैजान सुझाव दिएको बताए ।

‘जनकपुरमा कुनै अस्पतालले भर्ना नलिएपछि आफन्तले राति घर फर्काएका रहेछन्,’ मेडिकल सञ्चालक साहले भने, ‘बिहान फेरि यहाँ नै उपचार गर्न ल्याए । तर, क्लिनिक अगाडि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।’

मृत्यु भएको जानकारी पाएलगत्तै आफन्तहरु शव त्यही छाडेर घरतर्फ लागेका थिए । अलपत्र अवस्थामा शव छाडिएपछि स्थानीयले नेपाली सेनालाई खबर गरेका थिए ।

सेनाले स्वाब संकलन गरी शवको व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय धुनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्