NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कोरोना बीमाको झमेला : कागजात पूरा भएका २९ हजारले अझै पाएनन् भुक्तानी, सरकारी निर्देशनकाे अटेरी

काठमाडौं । कोरोना संक्रमितले रोग निको भएर बीमा दावी गरेको लामो समय बितिसक्दा पनि भुक्तानी पाउन सकेका छैनन् । बीमा समितिका अनुसार अहिले कोरोना बीमा दावीका लागि २९ हजार फाइल ‘पेन्डिङ’ मा छन् । पछिल्लो समय तुलनात्मक रुपमा भुक्तानी दर बढेपनि भुक्तानी नपाउनेको संख्या ठूलो छ । आवश्यक सबै कागजात बुझाएर पनि भुक्तानी नपाउनेको संख्या २९ हजार दुई सय ७० रहेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । तीन/चार महिना अगाडिदेखि बीमा दावी गर्नेहरूले पनि अहिलेसम्म भुक्तानी नपाएको गुनासो आइरहेका छन् । बीमा समितिले पाँच सय तिरेर ५० हजार र एक हजार तिरेर एक लाख रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था गरेको थियो । सामुहिक बीमा गर्दा भने तीन सय तिरेर ५० हजार र ६ सय तिरेर एक लाख रुपैयाँको बीमा गर्न सकिने व्यवस्था गरिएको थियो । मापदण्ड नपुगेको बहाना कोरोना बीमा दावी सम्बन्धमा बीमा समितिले कोरोना बीमा मापदण्ड तयार गरेको छ । सोही मापदण्डमा टेकेर कोरोना बीमा, दावी र भुक्तानी हुँदै आएको छ । कतिपयले व्यक्तिले यो मापदण्ड पनि पूरा नगरेको बिमक संघको भनाइ छ । कसैले दोहोरो बीमा र कसैले मापदण्डसमेत पूरा नगरेका कारण भुक्तानीमा ढिलाइ भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । कोरोना संक्रमितले दुई कम्पनीमा बीमा गरेको खण्डमा कुनै एक कम्पनीबाट मात्रै भुक्तानी पाइन्छ । कतिपयले दुई कम्पनीमा बीमा गरेर दुवैतिर दाबी पेस गरेको भेटिएको बीमा कम्पनीहरूको छाता संगठन बिमक संघ बताउँछ । बिमक संघका महासचिवसमेत रहेका सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चंकी क्षेत्रीका अनुसार गत बिहीबारसम्ममा एक हजार आठ सय ९२ जनाले कागजात पूरा नगरी दाबी प्रस्तुत गरेका छन् । यस्ता फाइल सम्बन्धित कम्पनीमा फिर्ता पठाइएको उनले बताए । ‘प्रक्रिया पुरा गरेर आउनेलाई भुक्तानी दिइरहेका छौं ।’ क्षेत्री भन्छन् । सरकारी निर्देशनको अटेरी बीमा गरेका कोरोना संक्रमितको दावी भुक्तानीमा आलटाल गरेपछि सरकारले यथासिघ्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । गत १८ कात्तिकमा अर्थ मन्त्रालयले ७ दिनभित्रै बीमा गर्नेको दावी भुक्तानी दिन निर्देशन नै दिएको थियो । तर, बीमा कम्पनीहरूले उक्त निर्देशन पालना गरेनन् । एक महिनापछि अर्थ मन्त्रालयले पुनः अर्को निर्देशन दियो । १८ मंसिरमा मन्त्रालयले प्रक्रिया पूरा भएका बिमितलाई ३ दिनमै भुक्तानी दिन दोस्रो निर्देशन दियो । तर, बीमा कम्पनीहरूले मन्त्रालयले तोकेको समय निकै छोटो भएको भन्दै सो अवधिमा भुक्तानी दिन नसक्ने बताएका थिए । यद्यपि, उक्त निर्देशनअनुसारको समयावधिमा नौ सय जनाले भुक्तानी पाएका थिए । को कति जिम्मेवार ? कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आत्तिएर बीमा कम्पनीहरूले भुक्तानी गर्न नसकिने भन्दै बीमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका थिए । उनीहरूले अर्बौंको भुक्तानी रोकेर पनि राखे । तर, बीमा समितिले बीमा गरिसकेपछि भुक्तानी दिनैपर्ने अडान राख्यो । समितिको अडानपछि पनि बीमा कम्पनीहरूले बिमितहरूलाई विभिन्न बहानामा भुक्तानी दिन आलटाल गरिरहेका छन् । बीमा समितिको कमजोरीका कारण भुक्तानीमा ढिलाइ भएको अर्थ मन्त्रालयको आरोप छ । बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गर्दा पनि समितिले कारवाही नगरेको आरोप मन्त्रालयको छ ।अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगाल भन्छन्, ‘अर्थ मन्त्रीज्यूले निर्देशन दिनु भएको छ, अब भुक्तानी किन भएन भन्ने कुरामा मन्त्रालयलाई भन्दा पनि बीमा समिति र बीमा कम्पनीलाई जिम्मेवार बनाउनुपर्छ ।’ सुरुमा कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै बीमा गरेअनुसार भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको थियो ।तर, समितिले मापदण्ड संशोधन गरेर कोरोना पोजेटिभ आए २५ प्रतिशत तत्कालै र बाँकी ७५ प्रतिशत बीमा रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भर्पाइ पेश गरेपछि दिने व्यवस्था गरेको छ । त्यो पनि बिमितहरूले समयमा पाउन सकेका छैन्न । कतिले पाए भुक्तानी, कति प्रक्रियामा ? बीमा समितिका अनुसार शुक्रबारसम्म १५ हजार आठ सय ७९ जनाले १ अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँ भुक्तानी पाइसकेका छन् । त्यस्तै, २ हजार ५१३ जना भुक्तानी पाउने प्रक्रियामा छन् । यता तीन हजार पाँच सय ५५ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) बाट स्वीकृत हुने प्रक्रियामा छ । बिमा कम्पनीहरूले निजी ल्याबका परीक्षण रिपोर्ट रुजु गर्न इडीसीडी पठाउने गरेका छन् । कोरोना परीक्षण रिपोर्ट सकारात्मक भएको प्रमाणित भएर आएपछि कम्पनीहरूले भुक्तानी प्रक्रिया अघि बढाउने गरेको बिमा समितिका कार्यकारी निर्देशक पौडेल बताउछँन् । स्वास्थ्य मन्त्रालय मातहतका ल्याबमा गरिएको परीक्षण भने रुजु गराउनु पर्दैन ।