NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बंगलादेशबाट रासायनिक मल नेपाल पठाउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । बंगलादेशबाट रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरवात हुने बंगलादेशस्थित नेपाली राजदूत डा. वैशीधर मिश्रले बताए । उनका अनुसार कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया शुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिनेछ । सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी शुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ, जसमा मल भित्र्याउँदा प्रतिमेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर खर्च लाग्ने जनाइएको छ । यो हाल आयात भइरहेको मलको तुलनामा प्रतिमेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो । डा. मिश्रले भने, ‘विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै रु १० करोड नेपाली रुपैयाँ बचत हुन्छ ।’ सरकारले गत अप्रिलदेखि बंगलादेशबाट मल ल्याउने विषयमा छलफल चलाएको थियो । जुन १ मा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी हुँदा मल पठाउन सहमति जुटेको थियो । सोहीअनुसार झण्डै आठ महिनापछि प्रक्रियाले पूर्ण रुप लिएको छ । रासस