NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

बारम्बार किन गइरहन्छ बत्ती ? के फेरि लोडसेडिङ हुँदैछ ?

काठमाडौँ । अकस्मात १९ घण्टे लोडसेडिङ हटाएर ‘उज्यालो नेपाल’ को नायकको पहिचान बनाएका कुलमान घिसिङ अहिले विद्युत प्राधिकरणमा छैनन् । उनको बहिर्गमनसँगै पुराना दिन झल्काउने गरी लोडसेडिङ हुन थालेका छन् । पछिल्लो समय लामो समयसम्म बत्ती काटिने समस्या देखिएको भन्दै प्राधिकरणको आलोचना सुरु भएको छ । पछिल्लो समय दुई/तीन घण्टासम्म बत्ती जान थालेपछि फेरि लोडसेडिङ हुन लागेको हो कि भन्ने चिन्ता नागरिकहरूमा सुरु भएको छ । किनकी अहिले अधिकाशंका घरमा लोडसेडिङको पूर्वतयारी छैन । करिब तीन वर्षदेखि उपभोक्ताहरूले इमरजेन्सी चार्ज लाइट र मैनबत्ती खरिदको खर्च कटौती गर्दै आएका छन् ।बारम्बार बत्ती निभ्न थालेपछि विद्युत प्राधिकरणमाथि प्रश्न उठेको छ, फेरि लोडसेडिङ हुन थालेको हो ? प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले विद्युत प्राधिकरणमाथि शंका नगर्न आग्रह गरे । लोडसेडिङ अन्त्य भइसकेको र अब नदोहोरिने उनको दावी छ । नेपालवाचले प्राधिकरणका प्रवक्ता तिमल्सिनालाई सम्पर्क गरी फेरि लोडसेडिङ हुन लागेको हो की बारम्बार बत्ती जानुमा अन्य कारण छन् भनेर सोधेको थियो । तिमल्सिनाले यसलाई लोडसेडिङको रुपमा नबुझिदिन आग्रह गरे । प्राधिकरणले जाडो यामको रातको समयमा विद्युतको माग बढी हुने र यस पटक पनि अघिल्लो वर्षको तुलनामा माग बढिरहेको बताए । अघिल्लो वर्षको तुलनामा यसपटक थप एक सय ५० मेगावाट विद्युत माग रहेको प्राधिकरणको भनाइ छ । माग अनुसार विद्युत वितरणमा भने समस्या नभएको प्रवक्ता तिमल्सिनाले बताए । ‘हरेक वर्ष जस्तै यसवर्ष पनि माग बढी छ, त्यही अनुसारको आपूर्ति पनि छ,’ उनी भन्छन्, ‘ वितरण लाइनका विभिन्न संरचनामा समस्या आउने र मर्मत गर्ने क्रममा बत्ती जान्छ ।’ यसलाई लोडसेडिङको रुपमा बुझ्न नहुने उनले बताए । तार जल्ने, पोल मर्मत तथा परिवर्तन गर्नुपर्ने, ट्रान्सफर्मर थप्ने तथा मर्मत गर्ने जस्ता मर्मतको कामका लागि बत्ती गएको हुनसक्ने उनको भनाइ छ । ‘पहिला पनि यस्तो समस्याहरु आइरहेका हुन्थे, तर प्रश्न थिएन, अहिले प्राधिरणको नेतृत्व परिवर्तन भएसँगै अलिबढी शंका गरियो कि भन्ने लागेको छ,’ प्रवक्ता तिमल्सिनाले भने, ‘शंका गर्नुपर्ने अवस्था होइन, थप सुधारको काम गरिरहेका छौँ ।’ प्रवक्ता तिमल्सिनाले विद्युत प्राधिकरणले दिने सेवा पहिलाको तुलनामा थप सुदृढ भएको दावी गरे । ‘मैले त पहिला भन्दा राम्रो देख्छु, थप सुधारको काम गरिरहेका छौँ ।’ तिमल्सिनाको भनाइ छ ।