NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पुसे पन्ध्रः डोटेली लोकसंस्कृतिमा कथा सुनाएर जाग्राम बस्ने पर्व

डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चिय प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ । आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा सुदूरपश्चिमका कतिपय बस्तीमा छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बस्दा तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ । पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झण्डै २० फिट लामो) दाउराको मुढोको आगो ताप्नुपर्ने र एकआपसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ । पर्वको तयारीस्वरुप आज बिहानैदेखि हरेक घरका गृहणीहरुले आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्य रुपमा स्वागतसत्कार गर्ने गरिन्छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको स्थानीयवासी लोकराज भट्ट बताउँछन् । सुदूरपश्चिममा मुख्य हिँउदेबालीका रुपमा लगाइने गहुँ छरेर फुर्सदिला बनेका बासिन्दा रातभर एक ठाउँमा जम्मा भएर रात अनिदो मै काट्ने गर्दछन् । रात काट्नका लागि दन्ते कथा र गाउँ खाने कथा सुनाउने चलन छ । दन्ते कथा जान्ने व्यक्तिलाई गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन् । दन्ते कथा भन्नेले परम्परागत शैलीमै कथा सुनाउँदै बिचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । स्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् । कथा भन्ने यति सिपालु हुन्छन् की कथामा ‘यसपछि के हुन्छ’ भन्ने कौतुहलता पैदा गर्छन् । कथा भट्याउने व्यक्ति सिपालु छ भने एउटै कथाले रात काटिएको पत्तो नै हुदैन । राक्षस, भूत, प्रेत, देवता, प्रेम, राजासँग सम्बन्धित दन्ते कथा बढी प्रचलित छन् । जुन कथा बढी प्रचलित छ, त्यही कथा सुनाउनका लागि बढी माग हुने गर्दछ । दन्ते कथासँगै गाउँ खाने कथासमेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । गाउँ खाने कथा भन्नेले निकै चलाखीपूर्वक प्रश्न सोध्ने गर्दछन् । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिता भने हराउँन थालेको छ । दन्ते कथा र गाउँ खाने कथा भन्ने चलन हराउँदै जाँदा पुसे पन्ध्रको चलन पनि हराउन थालेको हो । कथा जान्ने व्यक्तिको अभाव र युवा पुस्ताले मनोरञ्जनका अन्य साधनप्रतिको आशक्तिले पुरानो चलन विर्षदै जान थालेका हुन् । ‘पहिलाको जस्तो गाउँका सबै जना दन्ते कथा भन्ने व्यक्तिको घर आँगनमा जम्मा भई आगो बालेर कथा सुन्ने गर्दथे । “हाल रात काट्ने र कथा सुन्ने चलन हराउँदै जान थालेको छ’, सुदूरपश्चिमको संस्कृतिबारे जानकार तेज शाह भन्छन्, ‘टेलिभिजन र इन्टरनेटको बढ्दो प्रभावका कारण पुराना मौलिक परम्परा हराउँदै जान थालेका छन् ।’ ‘पुसे पन्ध्रको रात काट्नका लागि एक ठाउँमा जम्मा हुने बीच गाउँको विकास, सामाजिक, धार्मिक कार्य, सांस्कृतिकका बारेमा सरसल्लाह हुन्थ्यो,’ उनले भने, ‘एक आपसमा वैमनश्यता,, रिस, राग भए पनि सबै भुलाएर सबै एक ठाउँमा जम्मा हुन्थे जसमा सामाजिक सद्भाव देखिन्थ्यो ।’ स्थानीय लालबहादुर ऐर भन्छन्, ‘गाउँका सबै जना जम्मा हुने भएकाले सुख दुःखका कुरा सुन्ने र सुनाउने कार्य हुन्थ्यो । पिँडा बिसाउने चौतारीका रुपमा पुसे पन्ध्रलाई विगतमा लिने गरिन्थ्यो । त्यो पुरानो चलन ठिक थियो । त्यसलाई जोगाउनका लागि चेतनाको दियो बाल्नुपर्ने बेला आएको छ । यसका लागि नयाँ पिँढीलाई तयार गर्नमा लाग्नु आवश्यक छ ।’ एकको घरमा पाकेको मिठामसिनो अर्कोलाई खुवाउने चलनसमेत यस पर्वमा रहेको छ । रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन रहेको उनले बताए । तर, आधुनिकतासँगै यो पर्व हाल औपचारिकतामा मात्रै सीमित भएको ऐरले बताए । सुदूरपश्चिममा पुसे पन्ध्रको अवसरमा हतियार नचाउने परम्परा पनि छ । घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन आजै रहेको छ । पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै कञ्चनपुरसहित बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतको कुमाउ गढवाल क्षेत्रमासमेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाउने र गीत गाएर पुसे पन्ध्र मनाउने चलन रहेको छ । रासस