NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

प्रधानमन्त्री र मन्त्री लक्षित गरेर यमनमा विस्फोट, २२ जनाको मृत्यु

काठमाडौं । यमनका नयाँ प्रधानमन्त्री र उनका मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरेर विमानस्थलमा विस्फोट गराइएको छ । विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । साउदी अरेबियाबाट दक्षिण यमनको एडन सहरस्थित विमानस्थलमा त्यहाँका प्रधानमन्त्री मइन अब्दुलमलिक र उनका मन्त्रिपरिषद्का सदस्य अवतरण गरेलगत्तै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा प्रधानमन्त्री भने सकुशल छन् । २ उपमन्त्री घाइते भए पनि बाँकी मन्त्रीहरू सकुशल रहेको बताइएको छ । घटनामा परी ज्यान गुमाउने र घाइतेको यकिन विवरण आउन बाँकी रहे पनि त्यहाँको श्रम मन्त्रालयका उपसचिव र अन्तर्राष्ट्रिय रेडक्रस संस्थाका एक कर्मचारीको मृत्यु भएको पुष्टि भएको छ । विमान धावनमार्गमा अवतरण गरेलगत्तै विस्फोट भएको थियो । त्यसपछि थप विस्फोट र गोली चलेको जनाइएको छ । साउदी अरेबियाको एक टेलिभिजनले प्रसारण गरेको भिडियोमा यात्रुहरू विमानबाट ओलँदै गरेका बेला विस्फोट भएको देखिन्छ । त्यसपछि यात्रु र स्वागतका लागि पुगेकाबीच भागाभाग मच्चियो । यमनका अन्तर्राष्ट्रिय मामिला हेर्ने एक मन्त्रीले विमानस्थलमा भएको घटनाको वर्णन गर्दै दुई पटक विस्फोट भएको र गोलीसमेत चलेको बताएका छन् । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । तर त्यहाँ हुथी व्रिदोहीले हिंसात्मक गतिविधि सञ्चालन गरिरहेकाले उसैमाथि आशंका गरिएको छ । सन् २०१५ पछि यमन हिंसाको चपेटामा फसेको छ । साउदी अरेबिया नेतृत्वको अरब राष्ट्रले यमनलाई आफ्नो स्वार्थमा हिँडाउँदा एककपछि अर्को संकट चुलिँदै गएको छ । द्वन्द्वका कारण हालसम्म यहाँका १ लाख १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने भोकमरीको समस्याले जनता आलसतालस छन् ।