भेरी अस्पतालबाट डक्टरको बयान : ‘विरामीको मृत्यु भएपछिमात्र वेड खाली हुन्छ भनेर कुर्नेसम्मको स्थिति आयो’ - Nepal Watch Nepal Watch

अन्तर्वार्ता

बैशाख २३, २०७८ बिहीबार


भेरी अस्पतालबाट डक्टरको बयान : ‘विरामीको मृत्यु भएपछिमात्र वेड खाली हुन्छ भनेर कुर्नेसम्मको स्थिति आयो’

भेरी अस्पतालमा भर्ना भएका ८० प्रतिशत कोभिड विरामी सिकिस्त


कोभिड १९ को संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढिरहेको छ । अस्पतालमा बेड नपाउनेदेखि घाटमा लास जलाउन चिता नपाउनेसम्मको समस्या देखिन थालेका छन् ।

यसमध्ये सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ नेपालगञ्ज । नेपालगञ्जमै रहेको भेरी अस्पतालमा आउने विरामीको चापबाट पनि यो कुरा छर्लङ्ग हुन्छ ।

भेरी अस्पताल अहिले कोभिडका विरामीले भरिएको छ । भर्ना हुन आउने विरामीको संख्या हरेक दिन बढिरहेको छ । अस्पतालमा भर्ना हुन विरामीहरुको तछाडमछाड छ । अस्पतालमा बेड, स्वास्थ्यकर्मी र स्रोतसाधनको चरम अभाव छ ।

यसै सन्दर्भमा हामीले भेरी अस्पतालका सुचना अधिकारी तथा कोभिड फोकल पर्सन डा. संकेत कुमार रिसालसँग नेपालगञ्जमा कोभिड संक्रमण, अस्पतालको अवस्था लगायतका विषयमा कुराकारी गरेका छौं । प्रस्तुत छ रिसालसँगको कुराकानी :

नेपालगञ्ज कोभिड संक्रमणबाट सबैभन्दा बढी प्रभावित शहर हो । यो महामारीमा कसरी काम गरिरहनु भएको छ ?

अहिले नेपालगञ्जको स्थिति भयावह छ । आजमात्र (२२ गते) पिसिआर जाँचमा भेरी अस्पतालमा दुई सय ७७ जना नयाँ कोभिडका विरामी फेला परेका छन् ।

अहिले माग अनुसार हामीसँग पर्याप्त वेड छैन । सिकिस्त भएर आएका विरामीले उपचारका लागि बाहिर कुर्नुपरेको छ । अस्ति २/३ दिन त भर्ना भएका विरामीको मृत्यु भएपछि मात्र वेड खाली हुन्छ भनेर कुरेर बस्ने स्थिति पनि आयो ।

विरामीको यही चापले गर्दा अस्पताल र स्वास्थ्यकर्मीले आफ्ना जिम्मेवारी पूरा गर्न सकिरहेका छैनौँ । यो महामारीको बेला खट्नुपर्ने स्वास्थ्यकर्मी नै हो । हामी ज्यानले साथ दिँदासम्म उपचारमा खटिरहेका छौं । तर, राज्यका अन्य निकायले पनि साथ दिनुपर्छ ।

१५/२० दिनअघि देखि नै नेपालगञ्जमा संक्रमण तीब्र गतिमा बढेको देखिरहँदा पनि भारतसँगको नाका किन खुल्ला राखियो ? कोभिड नियन्त्रणका लागि सामाजिक दुरी कायम गराउने, मास्क लगाउने र भिडभाड नियन्त्रण गर्ने काम किन भएन त ? यस्तो अवस्था आउँछ भन्ने थाहा हुँदाहुँदै लकडाउन गर्न ढिला गर्दाको परिणाम हामीले भोगिरहेका छौँ ।

त्यहाँका जनप्रतिनिधिहरु कोभिडका विरामीको संख्या ह्वात्तै बढ्दा र अस्पतालको क्षमताले नभ्याउँदा उपचार अभावमा बाँच्न सक्ने धेरै विरामीले ज्यान गुमाउनुपरेको बताएका छन् । अस्पतालको सीमित क्षमतामा असीमित संक्रमित थपिँदा कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

भेरी अस्पतालमा दुई सय वेड क्षमता छ । यो अस्पताललाई सरकारले कोभिड अस्पतालको रुपमा तोकेको छ ।

कोभिड संक्रमितको उपचारका लागि गत वर्ष ७२ वेड बनाएका थियौं । यसपालि कोभिडको दोस्रो लहर सुरु भएको १५ दिनमै कोभिड वार्डमा एक सय ४२ वेड थप्यौं । यी सबै वेडमा अक्सिजन लगायत सबै पूर्वाधार तयार गरेका छौं ।

यसले पनि नधानेपछि पुरानो अस्पतालमा रहेको जनरल वार्डमा पनि कोभिडका विरामी राखेर उपचार गरिरहेका छौ । अब हामीसँग भएका जनशक्ति, संरचना र अन्य स्रोत साधनले यी पूर्वाधारले धान्नेभन्दा धेरै विरामी थेग्न सक्दैन ।

तत्काल अस्पतालले वेड बढाउन सक्ने स्थिति पनि छैन ।

कोभिड नियन्त्रणका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा डिसिएमसी (जिल्ला कोभिड व्यवस्थापन केन्द्र)को संरचना छ । त्यसले नेपालगञ्ज क्षेत्रका १५/२० वटा साना अस्पताललाई व्यवस्थित बनाएर कोभिडका विरामीको उपचार गर्ने व्यवस्थाका लागि निर्णय गर्नु आवश्यक छ ।

त्यो निकायले भेरी अस्पतालमा मात्र बेड क्षमता बढाइरहनु भन्दा नेपालगञ्जमा साना–साना छ । ती साना अस्पतालहरुमा बेड राख्ने, आवश्यक उपकरणको व्यवस्था गरेर कोभिडका विरामीहरुको उपचार गर्ने व्यवस्था गर्नुपर्छ । यस्तै नेपालगञ्जमा नेपाल प्रहरी र सेनाको पनि अस्पताल छ । यस्तो अवस्थामा राज्यले ती अस्पताललाई सदुपयोग गर्न सक्नुपर्छ ।

तपाईं स्वास्थ्यकर्मीहरु आफैंचाहिँ कसरी काम गरिरहनुभएको छ ? कत्तिको जोखिम छ ?

दिन प्रतिदिन कोभिड संख्या बढ्दै जाँदा हामीलाई पक्कै पनि काम गर्न अप्ठ्यारो परेको छ । कोभिड संक्रमण सुरु भएको १० दिनमै अस्पतालका लगभग सय जना स्वास्थ्यकर्मीमा नै कोभिड पोजेटिभ देखियो ।

हाम्रा कर्मचारीहरु धेरैले भ्याक्सिनको दोस्रो डोज पाइसकेका थिए । त्यसकारण हामी भाग्यमानी पनि हौं । पिसिआर पोजेटिभ देखिए पनि जटिल अवस्था आएन । बाँकी विरामीहरुलाई होम आइस्योलेसनमा राख्यौं ।

कोभिड पोजेटिभ भएका विरामी चाँडो निको भएका कारण पनि हामीले उपचारमा जनशक्ति परिचालन गर्न सकेको छौं । यो गर्मीमा २४ घण्टा डाइपर लगाएर डाक्टरहरु उपचारमा हुनुहुन्छ । एक जना बढीको भए पनि ज्यान जोगाउन पाए हुन्थ्यो भनेर उपचारमा खटिएका छौं ।

सक्नेजति कुनै पनि काम गर्न हामी पछि हट्दैनौं । तर, पनि स्थिति भयावह छ । हाम्रो नियन्त्रण भन्दा बाहिर गइसक्यो ।

विरामीहरुले अस्पतालमा कस्तो समस्या भोगिरहेका छन् ?

यहाँ भर्ना भएका ८० प्रतिशत विरामी सिकिस्त छन्, उनीहरु अक्सिजनको सहयोगमा छन् । सात जना भेन्टिलेटरको सहयोगमा हुनुहुन्छ । संक्रमितलाई श्वासप्रश्वासको समस्या भयो र अक्सिजन विना अप्ठ्यारो महसुस गरे भने त्यसलाई जटिल प्रकारको विरामी भनिन्छ ।

कैयौं विरामीहरु अस्पतालको ढोकासम्म आएर फर्कनुपर्ने बाध्यता छ । हामीले चाहेर पनि सबैको उपचार गर्न सकिरहेका छैनौँ ।

भर्ना हुनुपर्ने अवस्थामा अस्पताल आउने विरामीको संख्या हरेक दिन बढिरहेको छ । मेरो सुचनामा नेपालगञ्जमा करिब ५ हजार कोभिडका विरामी होम आइसोलसनमा छन् ।

कुनै विरामीले सिकिस्त अवस्थामा सजिलै अक्सिजन पाउन सक्छ कि सक्दैन ?

भेरी अस्पतालले कहिल्यै पनि अक्सिजनको अभाव भोग्नु परेन । हामीसँग अक्सिजन प्लान्ट छैन । तै पनि अक्सिजन उत्पादन गर्ने उद्योगसँग राज्यले समन्वय गरिदिएको छ । त्यसकारण पनि अक्सिजनको समस्या छैन ।

दुई दिनअघि मात्र विभिन्न वडामा ४० देखि ५० वेड क्षमताका अक्सिजन सहितका आइसोलेसन सेन्टरहरु खोलिएको छ । त्यहाँ पनि अभाव स्वास्थ्यकर्मीको नै हो । त्यहाँ पनि अक्सिजनको व्यवस्था गरिएको छ । अक्सिजनमात्र चाहिने विरामीलाई आइसोलेसन सेन्टरले थेग्न सक्छ ।

यहाँ गत वर्षको जस्तो क्वारेन्टिन र वडा वडामा कोभिड विरामीलाई छुट्टै राख्ने व्यवस्थापनको काम भएन । विरामीहरु गाह्रो भएपछि मात्र जटिल अवस्थामा अस्पताल भर्ना भए । उनीहरुको जाँच गर्ने क्रममा निकै ठूलो संख्यामा धेरैलाई एकै पटक कोभिड पोजेटिभ देखियो । त्यही कारण नेपालगञ्जमा कोभिडको महामारी फैलिएको छ ।

राज्यका निकायहरु स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार छ । उनीहरुले समयमा कोभिड नियन्त्रणका लागि कदम नचाल्दा यो अवस्था आयो भन्ने तपाईंको बुझाइ हो ?

भौतिक दूरी कायम राख्ने, मास्क अनिवार्य र साबुन पानीले हात धुने, यो कोभिड नियन्त्रणका लागि मुख्य मन्त्र हो । नेपालगञ्जमा यो महामारी हुनुमा मुख्यत: दुई कुराले भूमिका खेल्यो ।

पहिलो, यहाँका नागरिकहरुमा चेतनाको कमी छ । चेतना फैलाउन काममा सम्वन्धित निकाय चुक्यो । सामाजिक दुरी कायम राख्न र मास्क अनिवार्य गर्न प्रचार गरेको हो । तर, स्थानीय नागरिकले त्यो कुरा मानेन् । उनीहरुले मान्ने गरी काम गर्न नसक्नु कमजोरी हो ।

दोस्रो कारण, बोर्डर व्यवस्थापन नहुनु हो । नेपालगञ्ज भारतसँग सीमाना जोडिएको सुविधासम्पन्न शहर हो । आजको दिनसम्म पनि बोर्डर खुल्ला छ । डेढ हप्ताअघि निषेधाज्ञा गर्दा पनि एउटा नगरपालिकालाई मात्र गरियो । तर हवाई सेवा सुचारु थियो, रात्रीकालिन बससेवा सुचारु थियो, एक जिल्लाबाट अर्कोमा जाने क्रम चलिरहेको थियो । जबसम्म सामाजिक दूरी कायम राखिन्न । त्यतिबेलासम्म कोभिड संक्रमणको वृद्धिदर रोक्न सकिन्न ।

अहिले जुन स्तरमा कोभिड बढिरहेको छ, भेरी अस्पतालको संरचनाले उनीहरुको लागि कुन अवस्थासम्म थेग्न सक्छ ?

भेरी अस्पतालले अहिले नै नेपालगञ्जको फैलिएको कोभिड थेग्न सकेको छैन । आजका दिनसम्म हामीले सकेको गरिरहेका छौं । हरेक दिन हुने पिसिआर परीक्षणमा ७० प्रतिशतभन्दा बढीमा कोभिड पोजेटिभ देखिरहेको छ ।

यो आज एक दिन हावाहुरी शैलीमा कोभिड बढेको होइन । विगत १० दिनदेखि यसैगरी कोभिड बढिरहेको छ । १० दिनदेखि कोभिड बढिरहँदा सम्वन्धित निकायले यसबारे सोच्नुपर्ने हो ।

हामी त चिकित्सक हौं । विरामी आउँछ, वेड छ, स्रोत साधन छ भने हामी २४ सै घण्टा उपचारमा लागिरहेका हुन्छौं । रोग नियन्त्रणका लागि आवश्यकता अनुसार सम्वन्धित निकायले काम गरिदिनुपर्छ ।

संघ, प्रदेश सरकार र स्थानीय तहले के–के सहजीकरण गर्दा नेपालगञ्जमा कोभिड नियन्त्रणका लागि सहज हुन्छ ?

गत वर्ष भर्खर कोभिड सुरु हुँदा स्वास्थ्य मन्त्रालयले १०/१२ जना एमविविएस तहका चिकित्सक नेपालगञ्ज पठाइदियो । महामारीका बेलामा त्यो जनशक्ति भनेको अस्पतालका लागि निकै ठूलो जनशक्ति हो ।

तर, यति भयावह अवस्था आउँदासम्म यो वर्ष आजको मितिसम्म त्यस्तो कुनै पनि सहयोग सरकारको तर्फबाट भएको छैन । गत वर्ष प्रदेश सरकारको सहयोगमा पिसिआर मेशिन जडान भयो । जसबाट नेपालगञ्जका हजारौं मानिसले पिसिआर जाँचको सुविधा पाइरहेका छन् ।

गत वर्ष कोभिड सुरुवात हुँदा र हामीसँग पिसिआर मेशिन नहुँदा यहाँ स्वाब संकलन गरेर जाँचका लागि काठमाडौं पठाउनु परेको थियो । यसपाली पिसिआर मेशिनको व्यवस्था गर्‍यौं । पोहोरको घटनाबाट पाठ सिकेर धेरै सुधार र पूर्व तयारी गरेका थियौं । तर, यसपाली स्वास्थ्यकर्मीकै अभाव भइदियो ।

गत वर्ष तीन/चार महिनामा आएको विरामी यसपाली १० दिनभित्रै आइसक्यो । गत वर्ष पनि नेपालगञ्जमा कोभिडका विरामी धेरै थिए । तीन महिनामा ७२ वटै वेड भरिएका थिए । तर यसपाली एकै दिनमा ७२ जना कोभिडका विरामी आउन थाले । त्यो कारणले गर्दा हामीलाई अप्ठ्यारो भएको हो ।

मेरो बुझइमा यो महामारी हो । स्वास्थ्य संकटकाल हो । यो बेला सबैले हातेमालो गरेर जसले जे जानेको छ, त्यो गर्नुपर्ने स्थिति आइसकेको छ ।

नेपालगञ्जमा कोभिड विरामीका संख्या बढ्दै जाँदा तपाईंहरुले जिल्ला प्रशासन कार्यालय वा प्रदेश सरकारलाई तत्काल निषेधाज्ञा वा लकडाउन जान सचेत गराउनु भएन ?

दुई दिन अघिमात्र बाँके जिल्ला लकडाउन भयो । तर, नाका अझै खुला नै छ । भारतबाट आउनेहरुको संख्या उस्तै छ । सुरुमा नगरपालिकामात्र निषेधाज्ञा थियो । अहिले पूरै जिल्लामा निषेधाज्ञा गरिएको छ ।

सडकमा मानिसहरुको संख्या पातलो देखिएको छ । तर, सबैकुरा जान्दाजान्दै हामीले दुई हप्ता ढिलो गरी निर्णय गर्दा परिस्थिति धेरै बिगिएको मेरो अनुभव छ ।

गत वर्ष बाघ आयो भनेका थिए, बाघ आएजस्तो मात्र भएको थियो । तर, यसपाली सांच्चै बाघ आउँदा बाघ आएको जस्तो गरिएन । त्यसले गर्दा नेपालगञ्जले क्षति व्यहोरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्