NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जलविद्युत आयोजनाका काम नहुँदा रुकुमका नौ सय घर अन्धकारमा

रुकुम । रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत आयोजनाका काम नहुँदा आसपासका नौ सय घरधुरीको जीवन अन्धकारमा बितिरहेको छ । विसं २०६५/६६ मा निर्माण थालिएको उक्त विद्युत् आयोजनाको काम अहिलेसम्म पुरा हुन सकेका छैन् । आयोजनाको काम पुरा नहुँदा उक्त क्षेत्रमा रहेका नौ सय घरधुरीको जीवन अन्धकारमा बितिरहेको छ । निर्माण कार्य सम्पन्न भएर सफल परिक्षण भएपनि बर्खे खोलाले मुहान बगाउनुका साथै नहर, ड्याम र हेमपाइप बगाउँदा आयोजना पुरा हुन सकेको छैन् । विद्युत आयोजना निर्माण भएपछि बिजुली बाल्ने आशामा बसेकाहरु अहिले दियोको भरमा बसिरहेका छन् । बिजुली बल्न नसक्दा गाउँपालिकाको वडा नम्बर ५ सँगै वडा नं १ र ६ का नौ घरधुरी प्रभावित बन्न पुगेको वडा नं ५ का वडाध्यक्ष कालीप्रशाद रोका बताउँछन् । उक्त विद्युत आयोजना निर्माणको लागि एचए हाइड्रो पावरले दुई करोड २९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । कम्पनीले टर्वाइन, जेनेरेटर, यलसी बोर्ड, ट्रन्सफर्मरका साथै केही मात्रामा तार मात्र उपलब्ध गराएको थियो । पछिल्लो समय कम्पनीले काम अलपत्र छोडेर सम्पर्कविहीन बनेको छ । सामग्रीमा पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । गाउँमा स्थानीय सरकार गठन भएपछि भने स्थानीय सरकारले नै आयोजनाको पुनःनिर्माणको काम सुरुवात गरेको थियो । गाउँपालिका र वडाको बजेटबाट आयोजनाको मर्मत कार्यका साथै खिया लागेका सबै सामग्री फेरबदल गरिएको वडाध्यक्ष रोका बताउँछन् । गाउँपालिकाको दुई आर्थिक वर्षको ६६ लाख र वडाको रु १० लाख रुपैयाँ गरी कूल ७६ लाख रुपैयाँमा अलपत्र विद्युत आयोजनानिर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ । लामो समयदेखि अलपत्र रहेको विद्युत् आयोजना पुनःनिर्माणको काम सकिएर गत साउन महिनामा परीक्षण पनि सम्पन्न भइसकेको थियो । तर, बिजुली गाउँमा विस्तारको तयारी गर्दै गर्दा बर्खे भेलले विद्युत् आयोजनाको मुहानै बगाएपछि फेरी आयोजना प्रभावित बनेको थियो । भेलले मुहान बगाउनुका साथै नहर, ड्याम र हेमपाइप पनि बगाएको थियो । आयोजनालाई पुनः सञ्चालनमा ल्याउनका लागि आवश्यक स्रोतसाधन जुटाइरहेको वडाले बताएको छ । विद्युत आयोजनाको मर्मत कार्यपछि छिट्टै त्यहाँका नागरिकले बिजुली बाल्न पाउने वडाध्यक्ष रोकाले जानकारी दिए ।