NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

७९ वर्षीया वृद्धालाई ज्येष्ठ नागरिक आश्रमबाटै निकालियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मौखिक गुनासो गरेकी छिन् । आफू बस्दै आएको कोठाबाट आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीको निर्देशनमा समितिका केही व्यक्तिले निकालेको वृद्धाले प्रजिअसमक्ष गुनासो पोखिन् । ‘म बिरामी भएर थलिएकी छु, उहाँहरूले आश्रमबाट पटकपटक निक्लिएर जा भनेर दवाब दिनुभयो, म कहाँ जाने, कुनै ठाउँ थिएन, केही दिन चिनेजानेकाको शरणमा परेँ, अति भएपछि न्याय पाउँछु की भनेर हजुरसमक्ष आएकी हूँ,’ प्रजिअ समक्ष पौडेलले रुँदै भनिन् । आफन्त र संरक्षकसमेत नभएकी पौडेलले गलेश्वर ज्येष्ठ नागरिक आश्रममा आश्रय लिँदै आएकी थिइन । केही समयदेखि बिरामी भएपछि शरीर काँप्ने समस्याले आश्रममै आराम गरेर बस्दै आए पनि त्यहाँ कार्यरत केही कर्मचारीले अध्यक्षले आश्रममा नराख्न भनेको र निस्कन बारम्बार दवाब दिएपछि आफूलाई आश्रमबाट निकालिएको पौडेलको गुनासो छ । वृद्धा पौडेलको गुनासो सुनेलगत्तै प्रजिअ अधिकारीले आश्रमका अध्यक्ष केसीलाई फोन सम्पर्क गरेका थिए । प्रजिअ अधिकारीले अध्यक्ष केसीलाई कुनै पनि बहानामा वृद्धालाई आश्रमबाट निकाल्ने जस्तो गैरजिम्मेवार काम नगर्न सचेत गराउँदै निष्कासन गरिएकी वृद्धालाई तत्काल उचित बसोबासको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । प्रजिअ पौडेलले प्रशासनको तर्फबाट जाडोमा ओढ्ने कम्बलसमेत प्रदान गरेका छन् । गलेश्वरदेखि गुहार खोज्दै बेनी आएकी पौडेललाई प्रशासनको पहलमा पुनः आश्रममै बसोबासको प्रबन्ध मिलाउने गरी गलेश्वर नै पठाइएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा २०६७ सालदेखि अनाथ, असहाय, अपाङ्गता, वृद्धवृद्धा, साधुसन्त र एकल महिला, पुरुषलाई गाँस, बास र कपासको व्यवस्था गर्ने उद्देश्यले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा छ । तस्बिर : प्रतिनिधिमूलक