NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नाली निर्माणका क्रममा ढुंगाले लागेर कामदारको मृत्यु

रसुवा । नाली निर्माणका क्रममा ढुंगाले लागेर एक कामदारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी ४२ वर्षीय दमै थोक्रा रहेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु मार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग जोड्ने नयाँ सडकको नाली निर्माण गर्ने क्रममा थोक्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १५/२० जना कामदारले काम गरिरहेका अवस्थामा माथिबाट डोजरले पल्टाएको ढुंगा गुडेर तल पुग्दा थोक्राको टाउकोे थिचिई घटनास्थलमै मृत्यु भएको बताइएको छ । अन्य कामदार भागेर बच्न सफल भएको अर्का कामदार बुद्धिबहादुर तामाङले जानकारी दिए । ढुंगा पल्टाउने डोजर चालक सिन्धुपाल्चोक, जुगल –९ का २७ वर्षीय रवीन तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ । पुर्ख्यौली थलोबाट मजदुरीका लागि १५ दिन अगाडि परिवारसहित धुञ्चेमा बसोबास शुरू गरेका थोक्राको आश्रित परिवारलाई यथेष्ट राहत उपलब्ध गराउन आफन्तले माग गरेका छन् ।