NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पोर्चगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली

काठमाडौं । काठमाडौँकी इन्दिरा ब्यञ्जन्कार पोर्चुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली बनेकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गरेको देख्थिन इन्दिराले । त्यहीबाट उनलाई स्वास्थ्य क्षेत्रमा लाग्ने प्रेरणा मिलेको थियो । बाल्यकालको इच्छालाइ पछ्याउँदै उनले पहिलो पटक पोर्चुगलमा नर्सको लाइसेन्स पाउने नेपालीको पहिचान बनाएकी छिन् । चाँदनी उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरि उनी भारतको राजीव गान्धी विश्व विद्यालयको स्वास्थ्य र विज्ञानअन्तर्गत रवण अस्पतालबाटा ब्याचलर्स डिग्री हासिल गरि नर्सिङ पेशामा आवद्ध भएकी थिइन् । सुरुवातमा पुल्चोकस्थित निदान अस्पताल तथा हरिसिद्धिस्थित नेपाल अर्बुद अस्पताल तथा अनुसन्धान केन्द्रमा स्वयंसेवकको रुपमा इन्दिराले काम गरिन् । त्यसपछि इन्दिरा त्यही अस्पतालमा कार्यरत थिइन तीन वर्षसम्म । श्रीमान वैदेशिक रोजगारीका लागि पोर्चुगलमा रहेकाले उनी सन् २०१४ मा पारिवारिक भिसाामा त्यतै गएकी थिइन् । नेपालमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत इन्दिरालाई उता पनि सोही पेशामा लाग्ने रहर थियो । त्यसकै लागि पोर्चगल गएपछि पनि उनले आफ्नो अध्ययनलाई अगाडी बढाइन् । पोर्चगलमा भाषाको समस्या थियो । कैयौं पटकसम्म असफल भएपनि इन्दिराले हार नखाई अध्ययन गरिरहिन् । नर्सको लाइसेन्सको लागि पोर्चगली भाषामा डिप्लोमा गर्न अनिवार्य थियो । निरन्तरको साधना र प्रयासले अन्ततः उनले आफ्नो रहर पुरा गरेको बताउँछिन् । उनले पोर्तुगिज नर्सिङ काउन्सिलको परीक्षामा सहभागी भई आफूलाई नर्सिङ पेशामा आवद्ध हुन लाइसेन्स प्राप्त गर्न सफल भएकी छिन् । सन् २०१८ डिसेम्बरदेखि पोर्तो साल्भोमा सञ्चालित नातुरिदाद नर्सिङ होममा आवद्ध भएर काम गरिरहेकी थिइन् इन्दिरा । त्यसपछि लिस्वन बेलाईस्थित सरकारी अस्पताल एगास मोनिसमा काम गरिन् । नयाँ स्थान विल्कुलै नयाँ परिवेशमा काम गर्दा सुरुवातका दिनमा निकै कठिनाइ भएको बताउँदै आफूले इमान्दारिताका साथ आफ्नो पेशामा लागिपरेकाले रिष्ठ चिकित्सक र नर्सको सहयोगमा काम गर्न सहज भएको अनुभव सुनाउँछिन इन्दिरा । अहिले पोर्चुगलको राजधानी लिस्वनको मुटु मार्तिमुनिज नजिकै रहेको सेन्ट क्रिस्टोफर नामक एक अर्धसरकारी अस्पतालमा स्वास्थ्य सेवामा सक्रिय रुपमा कार्यरत छिन् उनी ।