NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

खुलामञ्चका संरचना हटाएर अस्थायी बसपार्क स्थानान्तरण गर्ने तयारी

काठमाडौं महानगरपालिकाले खुला मञ्चमा बनेका अस्थायी संरचना हटाउने कामलाई तिव्रता पारेको छ । पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालकोसमेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेकोले बाँकी सामाग्री र संरचना हटाउन थालिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । अस्थायी वसपार्कलाई अन्यत्र व्यवस्थापन गरेर भए पनि खुल्ला मञ्चलाई खुल्ला बनाउने योजना रहेको उनले बताए । नगर प्रहरी उपरीक्षक धनपति सापकोटाका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । हिजो (आइतबार) खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न बनाइएका टहरा वरिपरिका बार भत्काइएको छ । त्यहाँका अस्थायी संरचना क्रमश भत्काइने महानगरले जनाएको छ ।