NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रदेश राज्यमन्त्री अम्बिर बाबु गुरुङको फिल्मी शैलीको ठगी धन्दा

प्रदेश राज्यमन्त्री गुरुङले नेपालवाचसँगको कुराकानीमा राजेशराज वर्मासँग आफ्नो सरोकार र सम्बन्ध नभएको बताएका थिए । तर, गुरुङसँग केही दिन अघि जुन मोवाइलमा संवाद भयो, त्यही मोवाइल नम्बर ६ भदौ ०७४ मा गुरुङका तर्फबाट स्वयंसहित राजकुमार कार्कीले वर्माविरुद्ध दिएको फिरादपत्रमा समेत भेटियो । यस तथ्यले गुरुङको झुटलाई पर्दाफास गरिदिएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा २२ चैत्र ०७६ मा ‘पार्टीका प्रदेश सभा सदस्य श्री अम्बिरबाबु गुरुङसँगको विवाद टुङ्ग्याइ दिने बारे’ भन्दै एउटा उजुरी दर्ता भयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर उजुरी दर्ता गरिएको थियो । उजुरी सप्तरी जिल्लाको हनुमाननगर जन्मथलो भएका पुराना कम्युनिष्ट नेता कृष्णराज वर्माले दिएका थिए ।९४ वर्षीय वयोवृद्ध वर्मा २००७ सालको क्रान्तिमा होमिएका योद्धा हुन् । २००८ सालमा तत्कालिन समयको जल्दोबल्दो पार्टी नेपाल प्रजा परिषद्को सप्तरी जिल्ला सभापति भएका थिए । (वर्मा कृष्णराज, नेपालको कम्युनिष्ट आन्दोलन र क. पुष्पलाल, २००६–२०१९, प्रकाशकः ब्रदर बुक्स प्रकाशन प्रा.लि. गाताको पछिल्लो भागमा दिइएको परिचय)१७ माघ २०१० देखि ९ दिनसम्म पाटन र काठमाडौंमा भएको नेकपाको प्रथम महाधिवेशनबाट वर्मा केन्द्रीय सदस्य चुनिएका थिए । (रावल, भीम, नेपालमा साम्यवादी आन्दोलन उद्भव र विकास, पृ.३७–३८) ४० को दशकपछि कुनै समय केशरजंग रायमाझीलाई कारवाही गरेर नेकपा वर्मा समूह नै सञ्चालन गरेका थिए । वर्मा इमानन्दार र सादगी नेता मानिन्छन् । तर, लामो समयदेखि उनै वर्माको परिवारलाई प्रदेश नं. १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिर बाबु गुरुङले आफ्नो चंगुलमा लड्काइ दिएका छन्। वर्माको उजुरीपछि नेकपाको धुम्बाराहीस्थित कार्यालय सचिवले यसबारे छलफल गर्न निकै पटक गुरुङलाई निम्त्याए । तर, उपस्थित हुन गुरुङले जहिल्यै आनाकानी गरिरहे । पछिल्ला दिनमा समेत यही उजुरी बोकेर वर्मा प्रधानमन्त्री केपी ओलीलाई भेट्न परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत आधा दर्जन बढी नेताहरूमार्फत प्रयास गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले ति वृद्ध कम्युनिष्ट नेतालाई भेटको समय दिएका छैनन्। ओलीले एक न एक दिन भेट दिएर आफ्नो पीडा सल्टाउन सहयोग गरिदेलान भन्नेमा वर्मा अझै आशावादी छन्। ‘मैले मेरो जीवनमा गुरुङ जतिको नामुद फटाहा र ठग देखे/भेटेकै छैन् । के–के गर्दा आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । ती सबै बुझेको/जानेको मान्छे रहेछन् ती,’ वर्माले नेपालवाचसँग भने, ‘हामीलाई ठगे । अनि हामीलाई नै ऋण दिएको भनेर दुःख दिए । चेक बाउन्सको मुद्दा हाले । हामीले पनि हाल्यौं । तर, उनले प्रमाण केही देखाउन सकेका छैनन् ।’ उनी भन्छन्, ‘बाहिर देखिँदा प्रतिष्ठित नै देखिने, भित्र–भित्र कुहिएको फर्सी जस्तो मान्छेको चर्तिकला मैले यत्रो लामो राजनीति गर्दा समेत कहिल्यै देखेको थिइन । फसिसकेपछि मात्र हामीले उनका सबै कुरा बुझ्यौं ।’ यस्तो छ बैना काण्ड गुरुङले घटाएको यो बैना काण्ड कुनै फिल्मी कथा भन्दा कम छैन् । घटनाको सुरुवात हुन्छ, ०७२ बाट । वर्माका कान्छा छोरा राजेशराजका अनुसार रामगोपाल गुरुङसँग उनको अलि पुरानो चिनजान थियो । जो अमिरबाबुका फुपुका छोरा हुन् । भलै, रामगोपालको यसअघि नै निधन भइसकेको छ । रामगोपालमार्फत राजेशराज वर्माको चिनजान अम्बिर गुरुङसँग भयो । गुरुङ त्यसबेला घर जग्गालगायतको कारोबार गर्दथे । गुरुङले उनलाई काठमाडौंको खड्का भद्रकालीमा आफ्नो जग्गा भएको कुरा गरे । वर्मा जग्गाको खोजीमै थिए । त्यसैले उनी गुरुङको जग्गा लिने निश्कर्षमा पुगे ।वर्माका भनाइमा २७ पुस ०७२ मा उनी र रामगोपाल चाबहिलस्थित गोपीकृष्ण हल नजिकको केएफसी रेष्टुराँ पुगे । जहाँ ओखलढुङ्गाकै फूलबारी जन्मथलो भएका अधिवक्ता नानीबाबु बुढाथोकी पनि रहेछन् । रामगोपालले उनीसँग चिनजान गराए । त्यहीं जग्गाको बैनाको कुरा भयो । साविक खड्का भद्रकाली गा.वि.स. वडा नंं १ (क) को कित्ता नम्वर ५० र १३५ को क्षेत्रफल क्रमशः १ रोपनी ८ आना, अर्को ९ आना सहित जग्गा ७५ लाख रुपैयाँमा गुरुङ र वर्माबीच लेनदनेको बैना सहमति त्यही दिन भयो । वर्माले १० लाख नगद त्यहीं दिए । अधिवक्ता बुथाथोकी समेतको सहभागितामा कागजात गरियो। त्यसको भोलिपल्ट २८ पुसमा गुरुङका प्रतिनिधि सुवास खड्का नक्साल गैरीधारास्थित वर्माको कार्यालयमा आएर ११ जेठ ०७३ को मितिमा भुक्तान हुने गरी लक्ष्मी बैंकको ०४४९९८३५३ नंं. को ६५ लाख रुपैयाँको चेक लिएर गए । ६५ लाखको चेक लैजाने खड्का ओखलढुङ्गाकै साविक सिंहदेवी गा.वि.स. वडा नं. ८ जन्मथलो भई काठमाडौंमा अधिवक्ता बुढाथोकी र प्रदेश राज्य मन्त्री गुरुङ निकटमा रहेर लेखापढी सहयोग गर्दै आएका पात्र भएका वर्मा बताउँछन् । ठगीको नियत रहेको यो घटनाक्रम बुझ्न नेपालवाचले तिनै खड्कालाई सम्पर्क गरेको थियो ।अम्बिर गुरुङको प्रतिनिधिका रुपमा राजेशराज वर्माले दिएको बैनाबापतको चेक र नगद तपाईंले बुझेको घटनाको यथार्थ के हो ? खड्कासँग नेपालवाचको प्रश्न थियो । उनले सबै कुरा सुनिसकेपछि यथार्थ त्यही हो भने । ‘म बाटैमा छु सर अहिले । अब यथार्थ त्यही हो । अदालतमा मुद्दा छ उहाँहरूको । उहाँ (वर्मा) ले मुद्दा हाल्नु भएको छ,’ उनी भन्छन्, ‘मुद्दा अदालतमा विचाराधीन छ । त्यही हो सर । अदालतले हेर्ला नि !’ पैसा लैजानु भएको हो कि होइन त ? नेपालवाचको प्रश्नमा ‘अब त्यो अदालतले भन्छ सर’ भन्दै खड्का पन्छिए । झेल नै झेलको खेल वर्मा आफूले बैना गरेको खड्का भद्रकालीको जग्गा हेर्न गए । जग्गा विवाद नै विवादमा परेको रहेछ। गुरुङले मिलाउन केही समय लाग्छ भनेकै थिए । उनीहरुबीच संवाद भइरहेकै थियो । त्यसैले विवाद भएपनि गुरुङले मिलाउलान् भन्नेमा उनी ढुक्क भए । ११ जेठ ०७३ मा ६५ लाख भुक्तान हुनुपर्ने समयमा गुरुङले चेक हराएको बताए । वर्माले पनि लक्ष्मी बैंकमा नगद मौज्दात गरेका थिएनन् । दुवैको स्वार्थ मिल्यो । विश्वासकै आधारमा वर्माले पैसा दिँदै जाने, गुरुङले जग्गा पास गरिदिने सहमति भयो । असोज ०७३ मा गुरुङले जग्गा विवाद सल्टाउन १० लाख रुकम दिनुस् भने । वर्माका भनाइमा ३० असोज ०७३ मा नक्सालस्थित कार्यालयमै आएर गुरुङ पत्नी रेनुकाले ९ लाख नगद लिएर गइन् । प्राप्त प्रमाण अनुसार ४ पुस ०७३ मा वर्माबाट गुरुङ आफैंले सिभिल बैंकको १० लाख रुपैयाँको ०००१८१७००२३००१ नं. को चेक लिएर गए । यसबेलासम्म वर्मासँग गुरुङले २९ लाख रकम लगेका थिए । ४ पुस ०७३ मा १० लाखको चेक दिँदा आफूले गुरुङलाई ‘दाई अब विवाद सल्टाएर मलाई छिटो जग्गा पास गरिदिनुस्’ भनेको वर्मा नेपालवाचलाई बताउँछन् । ‘पैसा अपुग भएर सल्टाउन सकिरहेको छैन । छिट्टै सल्टाएर तिमीलाई पास गरिदिन्छु भने । मैले विश्वास गरेर पत्याएर पैसा दिँदै गएँ,’ वर्मा भन्छन्, ‘जग्गा धनीलाई दिनुछ, व्यवहार मिलाउनु छ भनेर पैसा मागेपछि फेरि २४ पुस ०७३ मा गुरुङको श्रीमती रेनुकालाई कार्यालयमै बोलाएर सिभिल बैंकको ११ लाखको ०००१९६७८४२००१ नं. चेक दिए । अर्को त्यही बैकको ०००१९६७८४३३००१ नं. को १० लाख रुपैयाँको चेक पनि दिए ।’ ११ र १० लाख रुपैयाँको चेक बुझेर लगेको कागजातमा रेनुकाले औंठा छाप लगाएकी छन् । यसबेलासम्म वर्माबाट गुरुङले ५० लाख रुपैयाँ लगेको देखिन्छ । ७ माघ ०७३ मा गुरुङका प्रतिनिधि सुवास खड्काले ३ लाख र २० माघमा ४ लाख रुपैयाँ बुझेर लगेका कागजातले देखाउँछ । यसबाहेक पनि खड्काले भौचरबाट तीन लाख रुपैयाँ लगेका तर बैना कागजमा सही नभएकाले अदालतमा फिराद राख्न नसकिएको वर्माको भनाइ छ । यसबेलासम्म गुरुङले वर्माबाट ६० लाख रुपैयाँ जिप्ट्याइसकेका थिए । बैना कबोल अनुसार वर्माले १५ लाख रुपैयाँ मात्र दिन बाँकी थियो । तर, गुरुङले जग्गा पास गरि दिने छाँट नै देखाएनन् । मरिसकेको मान्छेको जग्गा बैना जग्गाको विवाद बुझ्न जब वर्मा दोस्रो पटक आफैं ‘फिल्ड’ मा पुगे, उनी छाँगाबाट खसेजस्ता भए ।जुन जग्गाधनीका नामको जग्गा गुरुङले वर्मालाई बैना गरिदिएका थिए, तीमध्ये एक जना शुक्रवीर पुतुवारको मृत्यु २७ वैशाख ०६५ र अर्का आइतनारायण नगरकोटीको २४ चैत्र ०६८ मै भइसकेको रहेछ । जग्गा मृतकहरूका हकवालाको नाममा समेत आएको रहेनछ । वर्माले नेपालवाचसँग भने, ‘अमिर गुरुङले सबै कागजात नक्कली खडा गरेको रहेछ ।’ यसपछि वर्माले गुरुङसँग आफ्नो पैसा फिर्ता मागे । तर, पैसा फिर्ता गर्नुको साटो ६ भदौ ०७४ मा गुरुङले वर्मालाई नै चेक अनादरको मुद्दा हाले । वर्माले ११ जेठ ०७३ मा साटिने गरी दिएको चेक हरायो भनेका गुरुङले भित्र–भित्रै अनादर गरिरहेका रहेछन् । उनले वर्माविरुद्ध त्यही चेकको अनादरमा मुद्दा दायर गरिदिए । यसपछि वर्मा पनि गुरुङ विरुद्ध ठगी मुद्दाको जाहेरी लिएर ८ असोज ०७४ मा महानगरीय प्रहरी परिसर टेकु पुगे । प्रहरीले गुरुङलाई छलफलका लागि पटक–पटक फोन गर्‍यो । गुरुङ उपस्थित भएनन । यसबेला संघीय र प्रदेश सभा निर्वाचनले माहोल तातिरहेको थियो । गुरुङ प्रदेश नं. १ को प्रदेशसभा सदस्यको टिकट लिन दौडधुप गरिरहेका थिए । उनको फोन अधिवक्ता बुढाथोकीले उठाएर गुरुङ निर्वाचनमा व्यस्त हुनुहुन्छ भन्दै मध्यस्थता गरेको वर्मा सुनाउँछन् । यसलगत्तै कमलपोखरीको सिटी सेन्टरछेउको चिया पसलमा भेटेर बुढाथोकीले ‘म गुरुङबाट पैसा फिर्ता गर्ने वातावरण बनाइदिन्छु । उनी विरुद्धको ठगी सम्वन्धी जाहेरी फिर्ता लिने वातावरण तपाईले बनाइदिनु पर्‍यो’ भनेका वर्माको भनाइ छ । ‘मैले चाहेको मेरो पैसा हो । मुद्दा मामला होइन । पैसा फिर्ता हुन्छ भने फिर्ता लिन तयार छु भने,’ वर्माको कथन छ, ‘चुनावभरी गुरुङ स्वयंले फोन गरिरहे । राजेश यो कुरा बजारमा गए विरोधीले थाहा पाउँछन् । अप्ठ्यारो पर्छ । चुनाव जिते लगत्तै मिलाई दिन्छु भनेका थिए । मेरो पैसा फिर्ता हुन्छ भने ठिकै छ भनेर चुप बसे ।’ गुरुङले प्रदेश सांसद जितेर काठमाडौं आएपछि वर्मा धुम्बाराहीस्थित निवासमा बधाई दिन पुगेका थिए । तर, निर्वाचन जित्नु अघिसम्म मौन बसिदेउ भन्ने गुरुङ एकाएक तँ मेरो घरमा किन आइस् ? ल, ल, ल, नानीबाबु यसको पैसा फिर्ता गरिदे भनेर अपमान गरेका वर्मा बताउँछन् । सरोकार–सम्बन्ध छैन ! यता प्रदेश राज्य मन्त्री गुरुङ भने वर्मासँगको बैना लेनदेन आफ्नो सरोकार– सम्बन्धको कुरा नभएको बताउँछन् । ‘ए त्यो मेरो सरोकारको कुरा होइन । मसँगको सम्वन्धको कुरा होइन त्यो । त्यतातिर नजानुस् । तपाईंहरू आफ्ना ठाउँमा जानुस् । कसको लेनदेन कता होला । कसले अर्ब कमाउला । त्यतातिर जाने होइन नि ! तपाईंको विषयमा जानुस्,’ गुरुङ भन्छन्, ‘वर्माको आफ्नो कुरा होला । त्यस्तो छैन् हामीसँग । मसँग छैन । उसको आफ्नो होला । त्यस्तो भएको भए मसँग आएर छलफल गरेको भए हुन्थ्यो ।’ राज्य मन्त्री गुरुङ थप्छन्, ‘कसैको त्यस्तो काम गर्नु परेको छैन मैले । तपाईं राम्रोसँग बुझ्नुस् । मेरो बारेमा राम्रोसँग बुझ्नुस् । मैले त्यस्तो खाले कुनै अनियमितता गर्नु परेको पनि छैन । दिनु परेको पनि छैन । लिनु परेको पनि छैन । क–कसले के भन्छ । कसले के गर्छ । तपाईं आफैं सोधपुछ गर्नुस् न ! त्यस्तो अनावश्यक कुराहरु लेखेर । अनावश्यक कुराहरू गरेर के अर्थ छ र !’ वर्मा–गुरुङबीचको यो किचलो बुझ्न नेपालवाचले अधिवक्ता नानीबाबु बुढाथोकीलाई सम्पर्क गरेको थियो । बुढाथोकीले गुरुङ पक्षको वकिल नै आफू भएको बताए । ‘अमिर गुरुङको वकिल म नै हो । यथार्थ दुवैको लेनदेन हो । जग्गा धनीले जग्गा पास गरिदिन सकेन । समस्या यही भएको हो । अमिरबाबुले जग्गा धनीलाई पैसा दिएर बैना गरे । राजेशराजले अमिरबाबुसँग फेरि बैना गरे । राजेशले ५० लाख जतिको चेक दिएका छन् । अमिरले चेक अनादरमा मुद्दा हालेका छन् । राजेशले लेनदेनमा हालेका छन्,’ अधिवक्ता बुढाथोकी नेपालवाचसँग भन्छन्, ‘यिनीहरू दुवैको पैसा फसेकै छ । दुवैथरी मिल्न तयार छन् । तर, मिलन बिन्दु फेला परेको छैन । वर्षौ मुद्दा लडेपनि यिनीहरू मिल्नुको विकल्प छैन्। मैले दुवैलाई मिल्न सुझाव दिइरहेको छु । एउटाले नगद लिने, अर्कोले जग्गा लिएपछि यिनीहरूको कुरा मिल्छ ।’ गुरुङले वर्मासँग सरोकार, सम्वन्ध छैन् भनेर किन भनेका हुन् ? त्यो भने आफूलाई जानकारी नभएको बुढाथोकी बताउँछन् । भन्छन्, ‘तपाईंलाई अम्बिरबाबु गुरुङसँग म कुरा गराइदिन्छु ।’ तर, त्यसअघि नै गुरुङसँग संवाद भइसकेको थियो । रोचक के भने प्रदेश राज्य मन्त्री गुरुङले नेपालवाचसँगको कुराकानीमा राजेशराज वर्मासँग आफ्नो सरोकार, सम्वन्ध नभएको बताएका थिए । तर, गुरुङसँग जुन मोवाइलमा संवाद भएको थियोे, ६ भदौ ०७४ मा गुरुङका तर्फबाट उनीसहित राजकुमार कार्कीले वर्माविरुद्ध दिएको फिरादपत्रमा समेत त्यही मोवाइल नम्वर राखेको भेटियो । यस तथ्यले गुरुङको झुटलाई पर्दाफास गरिदिएको छ। औँठा छाप गरेको चेकमा समेत झेल रमाइलो यो छ कि गुरुङले घर खर्च, व्यापार व्यवसाय र व्यक्तिगत ऋण तिर्नका लागि वर्माले सिभिल बैंकको आफ्नो ००२१०००७७२४०१७ नं. खाताबाट २७ मंसिर ०७३ मा १० लाख ऋण लिएको फिराद पत्रमा उल्लेख गरेका छन् । त्यो १० लाख ऋणको भुक्तानी गर्न वर्र्माले २७ पुस ०७३ मा ००१९६७८४३ नं. को चेक दिएको र त्यो अनादर भएको भन्दै २८ भदौ ०७५ मा गुरुङले उनी विरुद्ध चेक अनादरको अर्को मुद्दा पनि दिएका छन् । जब कि गुरुङ पत्नी रेनुकाले २४ पुस ०७३ अर्थात् त्यसको ३ दिन अघि नै ००१९६७८४३ नं. को १० लाखको चेक बुझेको सही छाप गरेकी छन् । सामान्य आँखाले हेर्दा पनि गुरुङको फिरादपत्र झुट्टो प्रमाणित हुन्छ । यस बाहेक अर्को गम्भीर प्रश्न उठ्छ – २७ पुस ०७३ मै अनादर भइसकेको चेकको मुद्दा दायर गर्न २८ भदौ ०७५ सम्म किन पर्खिए ? वर्माले आफूलाई नक्सालस्थित प्रहरी प्रधान कार्यालय नजिकैको टुकुचे थकाली रेष्टुराँमा बोलाएर घटना वृतान्त सुनाएको ०७० को संविधानसभामा ओखलढुङ्गाबाट निर्वाचित सभासद रामहरी खतिवडा बताउँछन् । वर्माले घटनाक्रम बताएपछि आफूले त्यहीँबाट अमिर गुरुङ र उनका कानून व्यवसायी बुढाथोकीलाई फोन गरेको खतिवडाकाे भनाइ छ । ‘पाका कम्युनिष्ट नेता कृष्णराज वर्र्माले समेत भेटेर लौ न बाबु अम्बिर तपाईंका मित्र हुनुहुँदो रहेछ। यो केश मिलाई दिन सहयोग गरिदिनुहोस् भन्नु भएको थियो । मैले यो कुरा अमिरजीलाई भन्दा म मिलाउँछु पनि भनेका हुन्,’ पूर्व सांसद खतिवडाले नेपालवाचसँग भने, ‘अम्बिरका बुबाले मलाई पढाउनु भएको हो । त्यसैले गुरुको छोरा अम्बिरबारे मेरो यो भन्दा बढी टिप्पणी केही छैन्।’ काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको इजलासले २६ फागुन ०७६ मा अमिर गुरुङ, उनकी श्रीमती रेनुका र प्रतिनिधि सुवास खड्काले गरेका ‘..लिखत र सहीसँग उक्त नमुना मिल्छ/मिल्दैन जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा पठाइ पुरानो मुद्दा भएकाले १० दिन भित्रमा लेखी पठाउनू । लाग्ने खर्च निज प्रतिवादी सुवास खड्काबाट लिनू, प्रतिवादी रेनुका गुरुङले मिति ०७६।८।४ मा कागज गर्दा मैले मिति ०७३।९।२४ मा रु ११ लाख र रु १० लाखको दुई वटा चेक बुझि लिए पनि उक्त चेकबाट रकम भुक्तानी भएको छैन भनी लेखाएको देखिँदा उक्त चेकहरू प्रतिवादी रेनुका गुरुङलाई पेश गर्न लगाउनू’ भन्ने आदेश दिएको थियो । न्यायालयको आदेश कार्यान्वयनमै आनाकानी जिल्ला अदालतले १० दिनभित्र तथ्य पेश गर्न गुरुङ पक्षलाई आदेश दिए पनि त्यहाँ समेत बेइमानी नै भएको घटनाले देखाउँछ । आदेशको ठिक १० दिनभित्र ४ चैत्र ०७६ मा गुरुङका पक्षबाट राजकुमार कार्कीले ‘कागजात पेश गर्ने समय पाउँ’ भनेर निवेदन पत्र दिएका थिए । जसमा उल्लेख छ, ‘….आज मिति ०७६/११/०४ को तारेख तोकी पाएकोमा प्रतिवादी अम्बिरबाबु गुरुङ प्रदेश नं. १ को मन्त्री हुनुभएको र उहाँको काम कार्य व्यस्तताले काठमाडौं आई चेक दिन समय लाग्ने भएकाले म आफैं पेश गर्न नसक्ने हुँदा पक्षलाई बुझि पाउँ भनी यो निवेदन पेश गरेको छु ।’ जब कि, नेपालवाचसँगको संवादमा उनै गुरुङले वर्मासँग कुनै सरोकार, सम्वन्ध नभएको दावी गरेका माथि नै उल्लेख भइसकेको छ । यसले गुरुङ कतिसम्म सफेद झुट बोल्न सक्छन् भन्ने पुष्टि गर्छ । गुरुङ पक्षको ‘मुद्दा लम्ब्याउन, प्रभाव पार्न’ खोजेको बुझेपछि उनका कानुन व्यवसायी बुढाथोकी, कार्कीलाई न्यायाधीशले ४ चैत्र ०७६ मा ‘मन्त्रीको धाक लगाएको हो ? के हो यो बुढाथोकी जी ? भनेका थिए । र, छिटो प्रमाण पेश गर्न आदेश दिएका थिए । तर, लगत्तै कोरोना संक्रमणको त्रासले लकडाउन सुरु भयो । लकडाउनले भदौसम्म अदालतबाट न्याय निरुपणको कुनै काम हुन सकेन । त्यस यता पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुलमटारमा नमूना परीक्षणका लागि बुझाउनु पर्ने रकम गुरुङ पक्षले जम्मा गर्न आनाकानी गरेको थियो । अदालतको ताकेतापछि भर्खरै उनका कानुन व्यवसायी बुढाथोकीले उक्त रकम दाखिला गरेका छन् । वर्मा भन्छन्, ‘न्याय निरुपणमा समेत गुरुङ र उनी पक्षधरले झन्झट खडा गरिरहेका छन् ।’ गुरुङ विरुद्ध सर्वोच्च अदालतमा समेत ‘बैना रकम फिर्ता दिलाई भराई पाउँ भन्दै कमलबहादुर खड्काले २३ असोज ०७५ मा मुद्दा दिएका छन् । त्यो मुद्दालाई पनि गुरुङ पक्षले यो वा त्यो बहानामा लम्ब्याउने काम गरिरहेको छ । परिणाम, पेसी सरेको सर्‍यै छ । जोरपाटी अत्तरखेलको ‘विवादित’ २४ रोपनी जग्गामा पनि गुरुङले उसै गरी किचलो गरेका थिए। यही जग्गालाई लिएर गुरुङले प्रभु बैंकसँग झन्डै ३५ करोडको मुद्दा गरेका थिए। उच्च अदालत पाटनका तत्कालीन न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासबाट गुरुङको विरुद्धमा आदेश आएको थियो । ढुंगाना हाल सर्वोच्च अदालतमा न्यायाधीश छन्। गुरुङले अर्काको सम्पति आफ्ना नाममा पार्न गरेका अन्य बलजफ्तीका घटनामा समेत अदालतले उनका विपक्षमा आदेश दिएको छ।अदालतले पटक–पटक सबक सिकाउँदा पनि गुरुङ सिक्न तत्पर देखिएका छैनन्। उनका कानुन व्यवसायी बुढाथोकी भन्छन्, ‘ठूला मुद्दा गुरुङले सल्टाई सकेका छन् । वर्मा, खड्काका सानातिना मुद्दा मात्र बाँकी छन् । अम्बिर बाबुले ती पनि छिट्टै सल्टाउँछन् ।’

ताजा अपडेट

नेपालवाच विशेष