NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

महामारी पीडित व्यवसायीको प्रश्न, ‘दलले आन्दोलन गर्दा कोरोना नलाग्ने, व्यवसाय सञ्चालन गर्न क्वारेन्टिन ?’

काठमाडौं । महामारी पिडीत सर्वपक्षीय पेशा तथा व्यवसायी संघर्ष समितिले आफ्नो माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउन माइकिङ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा दुई वटा गाडीमा माइकिङ गर्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो । आइतबारबाट माइकिङ सुरु गर्दै समितिले आन्दोलनको सुरुवात गरेको समितिका संयोजक कर्णबहादुर शाहीले बताए । माइकिङको क्रममा समितिले दलहरुले लाखौं मान्छे सडकमा उतारेर सभा गर्दा कोरोना नसर्ने तर पर्यटक पिसिआर रिपोर्ट नेगेटिभ लिएर आउँदा पनि किन अनिवार्य क्वारेन्टिन भन्दै प्रश्न गरेको थियो । माइकिङ मार्फत समितिले कोरोनाका कारण सबै पेशा व्यवसाय बन्द हुँदा पनि बैंक तथा वित्तिय संस्थाले थोरै भएपनि नाफा कम गर्नुपर्ने माग राखेको थियो । त्यस्तै, बैंक तथा वित्तिय संस्थाहरू मौैद्रिक नीति विपरित जाँदा पनि सरकार मूकदर्शक बनेको समितिको आरोप छ । हालसम्म सहुलियत दरमा कर्जा अरबपति र बैंकका मालिकले मात्रै पाएको माइकिङमार्फत समितिले बताएको थियो । ‘मौद्रिक नीति व्यवसायलाई राहत प्रदान गर्नै जस्तो देखिए पनि वास्तवमा अरबपति व्यवसाय र बैंकमा लगानी गर्नसक्ने बैंकका मालिकहरूलाई मात्र सहुलियत प्रदान गरियाे’, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मध्यम बर्गको व्यवसाय शोषण कम नभएको र व्यवसाय सुरू नभएसम्म सहुलियत ब्याज मात्रै तिर्न सक्ने व्यवस्था मिलाउन समितिले माग गरेको छ । समितिले आफ्नो माग सरकारले नबुझेकाले चरणबद्द आन्दोलनको रुपमा आउँदो माघ २० र २१ गते समितिले नक्सालदेखि बालुवाटारसम्मको सडकपेटीमा धर्ना तथा कोण सभा गर्ने जनाएको छ । त्यत्ति गर्दा पनि सुनुवाई नभए २४ गतेबाट कडा आन्दोलनमा जाने, करको अवज्ञा गर्ने तथा अनसन बस्ने समितिको ठहर छ । समितमिा ३३ व्यवसायिक संंस्था आबद्ध छन् । व्यवसायीहरूले गठन गरेको समितिमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, पर्यटन क्षेत्रमा आवद्ध संस्थाहरू (नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल्स–नाट्टा, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल–टान, होटल एसोसियसन अफ नेपाल – हान, नेपाल माउन्टेनियरिङ एसोसिएसन – एनएमए, नेपाल एसोसियसन अफ टुर अपरेटर – नाटो, नेपाल टुरिष्ट भेहिकल एसोसियसन – एनटीभीए, ठमेल पर्यटन विकास परिषद् – टीटीडीसी, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स – सोट्टो नेपाल, नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज – नारा, टुरिष्ट बस एसोसियसन अफ नेपाल – टीबान, रेष्टुराँ एण्ड बार एसोसियसन अफ नेपाल – रेबान), विद्यालय क्षेत्रका आवद्ध संगठनहरू–निजी तथा आवासिय विद्यालय संगठन – प्याब्सन, राष्ट्रिय निजी तथा आवाशीय विद्यालय संगठन – एनप्याव्सन, अभिभावक संघ नेपाल) र नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघ छन् । समितिमा नेपाल निर्माण सामग्री व्यापार संघ, नेपाल आयुर्वेद संघ, अतिरिक्त हुलाक संघ, सुनचाँदी व्यवसायी महासंघ र काष्ठकला संघ पनि आवद्ध छन् । फर्निसिङ तथा फर्निचरसँग सम्बन्धित व्यवसायीक तथा अन्य संस्थाहरू पनि यो अभियानमा जोडिएका छन् ।